मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मलेसिया र खाडी मुलुकको अर्थतन्त्र सम्हालिनै नसक्ने अवस्थामा, नेपाललाई समेत लाग्नसक्छ झड्का

विप्रेषण गुम्ने अवस्था आए गरिबी बढ्न सक्ने
मङ्गलबार, ०२ भदौ २०७७, १५ : ५३
मङ्गलबार, ०२ भदौ २०७७

कोरोनाले मलेसिया र खाडी मुलुकको अर्थतन्त्र सम्हालिनै नसक्ने अवस्थामा पुग्न थालेको छ । एसियाली विकास बैङ्क (एडीबी) लाई आधार मान्ने हो भने कोरोनाले एसियाभरबाट सेप्टेम्बरसम्म ६८ मिलियन कामदारको रोजगारीमा धक्का दिनेछ । मलेसियाको अर्थतन्त्र अहिले जर्जर अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

मलेसियामा अहिले औद्योगिक उत्पादन घटेको छ । सन् २०१० देखि मलेसियाको जीडीपीमा उसकै उत्पादनको योगदान औसतमा १३० प्रतिशत रहेको छ । यहाँ रोजगारी र आय वृद्धिका लागि घरेलु उत्पादनको व्यापार नै प्रमुख मानिन्छ । यस देशको ४० प्रतिशत रोजगारी निर्यातसँग सम्बन्धित रहेको एसियन पोस्टले लेखेको छ । मलेसियन तथ्याङ्क विभागले गरेको सर्वेक्षणअनुसार मार्चको आधा आधीसम्म कृषि र सेवा क्षेत्रबाट रोजगार गुमाउनेहरु उच्च छन् । 

त्यहाँको अर्थतन्त्र सम्हालिनै नसक्ने गरी खस्किएकोे त्यहाको केन्द्रीय बैङ्कले समेत भनिसकेको छ । दक्षिणपूर्वी एसियाको तेस्रो ठूलो मुलुक हो मलेसिया । यहाँ करिब ५ लाख नेपाली कामदार रहेका छन् ।
विश्वकै ठूलो कच्चा तेल निर्यात गर्ने देश साउदी अरेबियामा पनि तेलको बिक्री कम हुँदा अर्थतन्त्रमा धक्का पुगेको छ । साउदीले प्रत्येक दिन ९.८ मिलियन ब्यारेल तेल उत्पादन गर्छ । अहिले तेल निर्यातमा आएको कमीले साउदीको अर्थतन्त्र पनि धराशायी बनेको मिडिल इस्ट मोनिटरले लेखेको छ । 

अन्तर्राष्टिय मुद्रा कोषले खाडीको समग्र अर्थतन्त्रमा ६.६ प्रतिशतको सङ्कुचन आउने पूर्वानुमान गरेको छ । खाडी मुलुकमा महामारीले औद्योगिक उत्पादन घट्नुका साथै पर्यटन व्यवसाय सुस्ताएको छ । फलस्वरूप रोगजारी गुमाउँनेहरु बढिरहेका छन् । कतार संयुक्त अरब इमिरेट्स पनि आर्थिक सङ्कटमा फसिसकेको छन् । 

मलेसिया लगायत खाडी मुलुकको अर्थतन्त्रको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । बेरोजगार बढ्दै जाँदा त्यसको निशानामा नेपाली पनि पर्छन् । विदेशिएका नेपाली बेरोजगार भएर फर्कनुपर्दा देशको बाह्य क्षेत्रको सन्तुलनको आधार भत्कने छ फलस्वरूप विदेशी मुद्राको अभाव हुन थाल्नेछ । 

नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान २५ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कमा छ । नेपालको गरिबी न्यूनीकरण लगायत सामाजिक एवम् मानव सूचकाङ्कमा विप्रेषणले नै सुधार ल्याएको केन्द्रीय बैङ्कले भनेको छ । वैदेशिक रोजगारमा गएका कामदारमा ७५ प्रतिशत कामदार खाडी मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार खाडी मलेसिया लगायत मुलुकमा श्रम स्वीकृति लिएर रोजगारमा जानेहरु २३ लाख रहेका छन् । खाडी मुलुकबाट मात्रै नेपालमा ५० प्रतिशत रेमिट्यान्स भित्रिन्छ । 

विप्रेषण गुम्ने अवस्था आए गरिबी बढ्न सक्ने
अर्थविद् प्राडा चन्द्रमणि अधिकारीका अनुसार वैदेशिक रोजगारी गुमाएर फर्कंदा विप्रेषणमा कमी आउँने र वैदेशिक मुद्रा सञ्चितीमा असर गर्नेछ । अहिले भुक्तानी सन्तुलन सकारात्मक रहनु र चालू खाता घाटा धेरै नहुनुमा विपे्रषणकै उपलब्धि रहेको अधिकारीले बताए । विप्रेषण गुम्ने अवस्था आए गरिबी बढ्न सक्ने उनको भनाइ छ । यद्यपि सो जनशक्तिलाई परिचालन गर्न सके राज्यले लाभ लिन सक्ने ठाउँ पनि रहेको उनले भने । 

उनी भन्छन्, यस पटक समयमै ९५ प्रतिशत धान रोपाइँ सकिनुमा कोरोनाले बेरोजगार बनाएको जनशक्ति त्यतातर्फ लाग्नु नै हो । जनशक्ति भए सबै समयमै सकिँदो रहेछ भन्ने पुष्टि भएको छ ।
 सरकारले बेरोजगार जनशक्तिलाई रोजगार बनाउन योजनासहित अघि बढ्नुपर्ने उनको तर्क छ । 

यता सरकारसँग भने बेरोजगार जनशक्तिलाई रोजगारमा लगाउने स्पष्ट योजना छैन । बजेटमा बेरोजगार जनशक्ति परिचालनका विषयमा उल्लेख गरे पनि सो अनुरूप कार्यान्वयन हुन सकेको छैन । 
हाल संस्थागत रूपमा नेपालले ११० देशसँग वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ । गन्तव्य मुलुकको समग्र अर्थतन्त्र, वित्तीय नीति, कच्चा पेटोलियमको मूल्यले विप्रेषणमा प्रभाव पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप