सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाबा तपाईंलाई संरक्षणकर्ता भनुँ या भगवान्

बुधबार, ०३ भदौ २०७७, १२ : ४९
बुधबार, ०३ भदौ २०७७

आज कुशेऔँशी अर्थात बाबाको मुख हेर्ने दिन । सर्वप्रथम सम्पूर्ण पूजनीय बाबाहरुमा उच्च सम्मानसहित कुशेऔँशीको शुभकामना । शरीरको जन्मदिने र संस्कारको पहिलो बीज रोपिदिने आदरणीय आमाबाबा हजुरको कहिल्यै नथाक्ने । हामी सन्तानप्रतिको मीठो माया, मुस्कान, आशीर्वाद, सकरात्मक ऊर्जा र साथले यो अवस्थामा छौँ, संसार देख्न पाएका छौँ । हाम्रा लागि बुबाआमाभन्दा महान् अरू कोही हुनसक्दैन । धर्तीमा प्रवेश गरेसँगै उघारीएका मेरा आँखाले जब संसार देख्न र भोग्ने अवसर पाए यसका लागि बाबाआमाप्रति सम्मान गर्ने मसँग शब्द नै छैन ।

भनिन्छ, मन्दिरका देवतालाई भेटी चढाउनुभन्दा आफ्नो घरका साक्षात भगवान रूपी बाबाआमालाई खुसी राख्न सके यसमा नै ठूलो धर्म र पुण्य हुन्छ । आज विशेषगरी बाबाको मुख हेर्ने दिन, बाबाप्रति केही शब्द कोर्न चाहेकी छु । दुई अक्षरले बनेको बाबा शब्द सुन्दा र भन्दा जति सरल र सहज छ एउटा असल बाबाको परिचय दिन पक्कै सजिलो छैन । हामी सन्तान र परिवारप्रतिको जिम्मेवारी दायित्वबोधलाई व्याख्या र वर्णन गर्दैमा जन्मदिने बाबाको परिचय एउटा सिर्जनामा अटाउन कहाँ सम्भव छ र ? सगरमाथाको उचाइ र महासागरको गहिराइभन्दा हजारौँ गुणा सरल र शक्तिशाली जीवनको पहिलो र पूर्ण लेख बाबा आफैमा एउटा पुस्तक हुनुहुन्छ । जुन पुस्तकलाई पढ्न र बुझ्न सक्यौँ भने हामी एउटा असल र आदर्श सन्तान बन्न सफल हुन्छौँ । संस्कार र स्वाभिमानको मार्ग निर्देशनमा समर्पित जीवनको पहिलो र बलियो मियो हुनुहुन्छ बाबा ।

जिन्दगीको सुरुवात रुँदै हाँस्दै लड्दै र उठ्दै गर्दाको सिकाइबाट भोलि जिन्दगीका हरेक चुनौतीहरूसँग यसैगरी मुकाबिला गर्नुपर्छ । आफै उठ्न जान्नुपर्छ, हिँड्नलाई सामथ्र्यका जगहरु खन्दै दृढताका खम्बाहरु गाड्दै र सुरक्षाका बारहरू बनाउँदै सिङ्गो जिन्दगी पार गर्नुपर्छ भनेर सिकाएको पाठले आज हामी यहाँसम्म आइपुगेका छौँ । बामे गराउँदा हजुरले सिकाएको कखराले आज हिँड्न र बोल्न सक्ने भएँ । वास्तविक जीवन भोगाइको मूल्य र महत्त्व छुट्ट्याउन सक्ने भएँ, सामथ्र्य र साहससँगै जिन्दगी जिउने कला सिकेँ ।

नैतिक शिक्षा र संस्कार के हो बुझ्न सक्ने भएँ । जीवनको आरोह अवरोह भोग्न जाने, प्रेरणाका महत्त्वपूर्ण पाठहरु र जीवनका उत्कृष्ट चिजहरु चिन्न सक्ने भएँ । तर अपसोच एउटा असल बाबाको ठोस परिभाषा र महानतालाई बुझ्न र बुझाउन सकिरहेको छैन । एउटी आमा अर्थात नारीको जीवन कहानीको वकालत गर्दै कति नाटक र सिनेमाहरु बने, कति गीतहरु गाइए, जीवनगाथाका लेखहरु धेरै पढिए सुनिए तर आमासँगै हजुरले भोगेका आत्मवृत्तान्तहरु, परिवारको सहयात्री भएर भोगेका उतारचढाव, सन्तानको मुहारमा खुसी ल्याउन फाँसी चढाएका तपाईंका करोडौँ चाहना आज कता लुप्त छन् ? तपाईंका हरकहानीहरु किन सामान्य बनाइन्छन् ? के तपाईं परिवारको सहायक पात्र मात्र हो र ? तपाईंले भोगेका जीवन कहानीहरु किन नगन्य बनाइन्छ ? अभावलाई पूरा गर्न गरिएका सङ्घर्ष र पसिनालाई किन लुकाइन्छ ? कहिल्यै पढिएनन्, बाबाका अनुहारमा सलबलाएका दुःखका वक्र रेखाहरु, कहिल्यै सुनिएनन् सुस्केराहरु, आमालाई धर्ती भन्नेहरु बाबालाई आकाश भन्न किन सक्दैनौँ ? जिम्मेवारीको चर्काे घामले पोलिरहँदा कल्पना नगरेका परिस्थितिहरुले बार बार टक्कर लिइरहँदा पनि तपाईंका आफ्नो कैयौँ सपनाहरु मनभित्रै तुहाएर हरेक चुनौतीलाई सामान्य सम्झिँदै साहस र बहादुरीका साथ असल अभिभावकको पहिचान दिन कैले डगमगाउनु भएन ।

घरमा पेटभरि खाने अन्न नहोस्, पानी थेग्ने छानो नहोस् तर आफ्नो सन्तानलाई डाक्टर पाइलट र आफूभन्दा ठूलो असल र उदाहरणीय मान्छे बनोस् भन्ने सपना देख्नु र देखाउनुभयो तपाईंको यो बहादुरी र महानतालाई कुन ठाउँमा राखेर हेरूँ ? हाम्रो जिन्दगीको प्रेरणाको स्रोत तपाईं जीवन देखाउने पथरक्षक, आफू जलेर अरूलाई प्रकाश दिने आफू घामपानी सहेर हामीलाई शीतल छहारी र न्यानो ओत दिने कयौँ अभावका हुरीहरुलाई पर्खाल बनेर छेकिदिने सन्तानको इच्छा पूरा गर्न उधारोमा मागेका कैयौँ खुशीहरु हामीलाई सित्तँैमा दिनुहुन्छ । आफूभित्रको झन झननाहट दुखाइ र पसिनालाई परिवारको खुसी र प्रेमसँग साटेर रमाउन जान्ने मुस्कुराएको अभिनय गर्नसक्ने कस्तो कला वा बाबा ! तपाईंको यो खुबीलाई कुन शब्दले सम्मान गरू ? तपाईंको यो वास्तविक अभिनयले मलाई हरबखत स्तब्ध बनाउँछ ।

बाबा पूर्वाद्र्धको त्यो सिँढी चढ्दै यहाँसम्म आइपुग्दा कति ठाउँमा लड्नुभयो ? सानाठूला अभावहरुले थिची कति रात ऐंठनले बर्बराउनु भयो ? कति सुन्नै नसकिने जिन्दगीका सकसहरु पार गर्दै यहाँसम्म आइपुग्नुभयो ? तपाईंको वास्तविक भोगाइ र जीवन कहानी न कसैले बुझ्न सके न कुनै प्रश्नकारले प्रश्न गर्न नै सके न कुनै मूल्याङ्कनकर्ताले लेखाजोखा नै गर्नसके । परिवारका लागि त्याग र समर्पण नै एउटा जित हो । यसैलाई प्रकृतिको उपहार र ईश्वरको वरदान ठान्ने सन्तानका लागि झुक्न र चुक्न सामान्य मानिदिने वा बाबा ! म शब्दविहीन छु तपाईंलाई सल्लाहकार भनँु या साथी भनुँ या अभिभावक या भगवान ? कहाँबाट कसरी जन्म भयो तपाईंको सहनशीलताको त्यो पत्थर जस्तो छाती ? त्यो ऊर्जावान र सकारात्मक सोच ?

माया, प्रेम, गाली, हौसला र स्याबासीसँगै आज हामी ठूला भयौँ । घर, सम्पत्ति जोड्न नाम कमाउन व्यस्त बन्नुभयो हाम्रा सपनाहरु कत्रा कत्रा देखेका छौँ होला तर सम्झेका छौँ कि छैन यो सब बाबाआमाको कारण सम्भव भएको छ । हामीलाई उहाँको सन्तान भएर जन्मने अवसर फेरि पनि मिल्छ या मिल्दैन हामीले हाम्रो जीवन बुझ्न उहाँहरूको वास्तविक भोगाइ र मुस्कानभित्र लुकेको मर्म पढ्न जान्यौँ कि जानेनौ ? हामीले हाम्रो सपना पूरा गर्न जुन ठूलो दौड ठानेका छौँ यो एक दिन अवश्य पूरा होला तर बाबाआमासँग रमाउने तीता मीठा अनुभव बाँड्ने समय सधैँ नआउन सक्छ उहाँहरूको उत्तरार्धको समयमा धनको लौरीभन्दा मायाको लौरी टेकेर चयन र आनन्द लिन पक्कै मन लाग्छ होला ।

बाबा आमाले बुझिदिने भाषा र व्यवहारमा माया सम्मान गर्न सिकौ । कुनै पनि बाबाआमा सन्तान जन्माएको पश्चातापमा यिनै सन्तानको बोझ भएर वृद्धाश्रम जान नपरोस् । उहाँहरुले मीठो खान राम्रो लगाउन कुनै विशेष दिन कुर्न नपरोस् । चाडपर्वहरुलाई जगेर्ना र हस्तान्तरण गर्नको नाममा एक दिन मात्र सामाजिक सञ्जालमा मीठा परिकार र रङ्गीन तस्बिरहरु सजाएर उत्सव मनाउँदैमा बाआमाप्रतिको माया र कर्तव्य पूरा भएको नठानौ । जति शिक्षा र प्रविधिले फड्को मार्दै छ त्यति नै हामीले सिक्ने संस्कार र नैतिक शिक्षा पछि पर्दैछ । आफ्नोपन हराउँदै गएको छ । जिन्दगीका सिकाइहरू किताबी ज्ञानबाट मात्र पूरा हुँदैनन् । हामीले हाम्रा सन्ततिहरुलाई यिनै कुरा बुझाउन सकियो भने हामी पनि एउटा सफल अभिभावक बन्न सक्छौं । फेरि पनि सम्पूर्ण बाबाहरुमा कुशेऔंशीको शुभकामना ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप