सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पितृ देवो भवः

बुधबार, ०३ भदौ २०७७, १४ : ४८
बुधबार, ०३ भदौ २०७७

समय कालखण्डसँगै बा शब्दको पनि आआफ्नै तरिकाबाट परिभाषित गरिएको पाइन्छ । मेरो पनि आफ्नै अथ्र्याइ छ । जहाँ म छु । जहाँ मेरो अस्तित्व छ । जहाँ म हुनुको अनुभूति छ, ती  हरेक ठाउँमा मेरो बा हुनुहुन्छ । मेरा लागि मेरो अस्तित्व नै मेरो बा । मेरो इज्जत अनि मेरो जिन्दगी नै मेरो बा । बिहानीको घामको किरणझैँ चम्किएका, ती मेरा बाको अनुहार नै मेरा लागि दिनको सुरुवात हो । 

हिन्दु धर्मशास्त्रअनुसार आज कुशेऔंसी अर्थात  बाको मुख हेर्ने दिनको रूपमा लिइने गरिन्छ । आज सामाजिक सञ्जलका भित्ताहरुमा बाको तस्बिर टाँस्दै ह्यापी फादर्स डे भन्नेहरुले सधैँभरी  बालाई खुसी राख्न सकून् । आज ह्यापी  फादर्स डे भन्दै बत्तिस मुजा परेको बाको गालामा चुम्मा खानेहरुले भोलिका दिन तिनै बालाई विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, पाटीपौवा, सडक पेटी र वृद्धाश्रममा लगेर छाडेको  कतै देख्न सुन्न नपरोस् । आज चुम्मा खाने बाको भोलि सास नगनाओस् । 

आमालाई धर्तीको संज्ञा दिइन्छ भने बालाई आकाशको संज्ञा दिने गरिन्छ । हरेक सन्तानले बालाई भगवानको उपमा दिइएको पाइन्छ । मेरो लागि पनि बा भगवान, अनि म उनको भक्त, बस् उहाँकै अनुसरण गर्दै रहुँ अनन्त कालसम्म । 

ती बूढा बाको अनुहार, अनि सयौँ ठाउँमा चाहुरीएको अनुहारमा टल्किएको दाँतको हाँसो ल्याउने मेरो सङ्कल्प पूरा गर्ने अठोट निरन्तर अगाडि बढिरहेका छन् । मेरा यी पाइलाहरु, बाको प्रेरणादायी ती हात नै त हुन् । 

आफ्नो सन्तानको सुख अनि खुसीका लागि रातदिन मिहिनेत गर्ने ती हातहरु अनि सन्तानको मायाले भौँतारिएको मन मस्तिष्क सम्झेर गर्व लाग्छ बाप्रति । हरेक पल आशाको किरणलाई अँगाल्ने ती ओठहरु, अनि कहिल्यै नथाक्ने ती पाइलाहरुप्रति मेरो शिर सधैँ झुकि नै रहने छ । 

बा जे समस्या आउँछ त्यसमै भिडेका हुन्छन् । त्यसलाई भत्काउन खोजेका हुन्छन् । समस्यासँग कहिल्यै पनि सम्झौता गर्दैनन् । बामा त्यस्तो प्रकारको साहस हुन्छ, जो निष्ठापूर्ण हुन्छ । आफ्ना अनन्त मृगतृष्णा पनि भुलिदिन्छन् केवल सन्तानको खुसीका लागि । बा आफ्ना सन्तानको सपना साकार पार्न हरपल, हरक्षण लागिपर्छन् ।

बा आफ्ना सन्तानको निमित्त दिनरात नभनी, सूर्योदय वा सूर्यास्त नभनी, सन्ध्याकाल तथा उषाकाल नभनी असल सन्तान बनाउन खटिरहन्छिन् । अमूल्य हीरा त्यतिकै कहाँ बनेको हुन्छ र ? हीरा बन्नका लागि राप, ताप र चाप सहनुपर्छ । पृथ्वीको गर्भमा दबाब सहेर नै हीरा बन्ने हो । गान्धी, आइन्सटाइन, पृथ्वीनाराण, स्टिफन हकिङ, विल गेट, विनोद चौधरी, लक्ष्मीप्रसाद देवकोटा सबै सङ्घर्ष गरेरै यस धर्तीमा उदाएका हुन् ।

बा आफ्ना सन्तानको मुहारमा खुसी भर्नका लागि पहाडी थुम्का, खोरिया, जङ्गल, डाँडाकाँडा, उकाली, ओराली, भन्ज्याङ, चौतारी, लेक, बेँसी गर्छन्, निधारमा पसिनाका वर्षा हुन्जेल ।

बा कहिले खेत, कहिले बारी, कहिले जङ्गल, कहिले वनपात, कहिले भष्मे, कहिले ढाक्रे, कहिले घाँसे त कहिले स्याउले हुन पनि पछि पर्दैनन् केवल सन्तानको खुसीका लागि । 

आफ्ना सन्तानको खुसी अनि सुखका लागि बादलले आकाश ढाकेझैँ ढपक्कै ढाकेर छोराछोरीहरुलाई हुर्काउने, बढाउने, पढाउने, लेखाउने र लुवाउने–खुवाउने सबै प्रकारका इच्छा–आकाक्षाहरु पूरा गरिदिन्छन् । बरु हजारौँ कष्ट सहन तयार हुन्छन् । आफ्नो सन्तानको लागि कहिलेकाहीँ जायज नाजायज काम पनि गरिरहेका हुन्छन् तर दुःख नपाऊन् भन्ने हरेक बाहरुले विचार राखेका हुन्छन् । संसारमा कोही पनि मान्छेले कसैसित हारुँ भन्दैन तर आफ्ना सन्तानका लागि बा सधैँ हारिरहेका हुन्छन्, हारिरहन्छन् हारिरहन्छन् । 

बा यस्ता महापुरुष हुन् जो कसैको ढोका कुर्ने गर्दैनन्, कसैको दास हुँदैनन् । कसैको चुक्ली गर्दैनन्, कसैको चाप्लुसी गर्दैनन् । बा स्वार्थरहित हुन्छन् । बा स्वतन्त्र विवेकशील बुद्धिमत्तापूर्ण यात्रा गर्ने महापुरुष हुन् । 

बाको आफ्नै प्रकारको छुट्टै अस्तित्व छ, छुट्टै पहिचान छ । बा एउटा अलग धारको व्यक्ति हुन् ।  

बा आफ्नो सन्तानको हक अधिकारका लागि हारिरहन्छन्, कहिल्यै जित्दैनन् । बा सन्तानको लागि हारिरहन्छन् । सन्तानको उज्ज्वल भविष्यका लागि हार्छन् । 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको एउटा कविता बडो मार्मिक छ । यद्यपि उहाँ हिजोबाट हामीसामु हुनुहुन्न । उहाँ मेरो पनि बा, बाको पनि बा, उहाँ राष्ट्रको बा हुनुहुन्थ्यो । 

एक्लो कोमल प्याउली कुसुम यो एकलासमा फुल्न द्यौ
सन्ध्यामा छलिने कुनै किरण यो कैलाशमा डुल्न द्यौ
मान्छेबाट नकाट दुःखसुखको यौटै पनि यो क्षण
सारा सृष्टि सिँगार्छ इन्धनुको यौटै पनि यो कण ।

हो पनि, जीवन एउटा परीकथा हो । जीवनले मानिसलाई कहिलेकाहीँ बिजुलीझैँ झट्का दिइरहेको हुन्छ । मान्छे मर्छ तर बाको प्रेम मर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप