आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी हेड्क्वार्टरले भन्यो- ‘भदौ १२ अघि संक्रमित प्रहरीको बीमाबारे उचित निर्णय हुन्छ’

बुधबार, ०३ भदौ २०७७, १९ : ४२
बुधबार, ०३ भदौ २०७७

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२ भदौअघि कोरोना भाईरस संक्रमण पुष्टि भएका प्रहरीको ‘बीमा सुविधा’बारेमा उचित निर्णय हुने जनाएको छ । प्रहरी हेड्क्वार्टरले भदौ १२ पछि संक्रमण हुने प्रहरीका लागि मात्रै १ लाखको ‘कोरोना बीमा’ गरेको र त्यसबाट ६ सय ३८ भन्दा बढी संक्रमित सुरक्षाकर्मी अन्यायमा परेको समचार रातोपाटीले प्रकाशन गरेको थियो । समाचार प्रकाशन गर्दा ६ सय ३८ संक्रमित थिए, अहिले सो संख्या बढेको छ ।

बीमा पोलिसी लागू हुनुअघि संक्रमण पुष्टि भएका प्रहरीको सेवा सुविधा सम्बन्धमा सरकारको निर्णय बमोजिम हुने भन्दै प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘पोलीसी लागू हुनुअघि संक्रमण भएका प्रहरी कर्मचारीको हकमा प्रहरी प्रधान कार्यालयबाट समेत उच्च प्राथमिकतामा राखी यस सम्बन्धमा उचित निर्णय लिइनेछ ।’

साउन ३० मा प्रहरी प्रधान कार्यालयले जारी गरेको सर्कुलरअनुसार भदौ १२ भन्दा अगाडी कोरोना भाईरस पोजेटिभ देखिएका प्रहरीको बीमा गरिएको छैन् । भदौ १२ पछि संक्रमण पुष्टि भएका प्रहरीले मात्रै आफु कार्यरत युनिटको सिफारिसको आधारमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा बीमा रकम दावी गर्न पाउनेछन् ।

भदौ १२ अघि संक्रमण पुष्टि भएका कर्मचारीको बीमा गर्न नसक्नुको कारण खुलाउँदै प्रहरी प्रधान कार्यालयले बजेट बक्तब्य र अर्थ मन्त्रालयको निर्णयअनुसार बीमा गरिएको दावी गरेको छ । बीमा समितिको सूचनाअनुसार अग्रसरता लिएर साउन २९ मा रुजु हाजिर रहेका सबै प्रहरीको १ लाखको बीमा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बीमा कम्पनीको नीति अनुरुप बीमा गराएको १५ दिनपछि मात्र बीमा लेख ग्राह्य हुने हुनाले भदौ १२ पछि संक्रमण पुष्टि भएका प्रहरीले बीमा रकम दावी गर्न पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप