सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीले लागुऔषध कारोबारी बनेर फोन गरेपछि पक्राउ परे ‘मोस्ट वान्टेड’ बग्गा

आइतबार, ०७ भदौ २०७७, १६ : ३९
आइतबार, ०७ भदौ २०७७

काठमाडौँ । भारतमा बसेर नेपालमा आपराधिक गतिविधि सञ्चालन गरेको अभियोगमा ‘बग्गा’ भनिने भारतीय नागरिक प्रदीप यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँका एक व्यापारीसँग रु १ करोड भन्दा बढीको लागुऔषधको सम्झौता गर्ने प्रलोभनमा बोलाएर प्रहरीले पक्राउ गरेको हो । 

भारतको बिहार अररिया जिल्ला इन्द्रनगर १० टिकुलिया टोलका बग्गा भारतमा बसेर नेपालका विभिन्न जिल्लाहरुमा सञ्जाल बिस्तार गरी अपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके रहेको प्रहरीले जनाएको छ । 

भारतमा बसेर नेपालको प्रदेश १ र २ का जिल्लामा अवैध हातहतियार तथा लागुऔषधको कारोबार गर्ने मुख्य नाइके रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए । 

‘यादव नेपालमा प्रहरीको सर्वाधिक खोजीमा थिए,’ एसपी खड्काले भने, ‘यादवलाई हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईकेका रुपमा प्रहरीले यसअघि नै मुद्दा चलाएको थियो ।’

प्रहरीले लागुऔषध कारोबारी बनेर फोन गरी बोलाएपछि शनिबार अपरान्ह विराटनगर १६ दरहिया नाकाबाट यादव नेपाल प्रवेश गर्न लागेको बेला पक्राउ परेको एसपी खड्काले रातोपाटीलाई जानकारी दिए । 

यादवको साथबाट १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाट्रोसन र ५१ चक्कली नाइट्राभेट समेत बरामद भएको छ । 

यादवले २०७५ मंसिर ३ गते उदयपुर उदयपुरगढी गाँउपालिका–१९ का मन्दीप तामाङलाई ‘मेड इन युएसए’ लेखेको अटोमेटिक पेस्तोल पठाएका थिए । या

दवले सुनसरी इटहरी उपमहानगरपालिका–१२ खनारका ३५ वर्षीय सुशीलकुमार साहुमार्फत पठाएको अनुसन्धानमा खुलेको प्रहरीले दाबी गरेको छ । 

तामाङ र साहुलाई विराटनगर–१६ स्थित भारतीय सीमावर्ती क्षेत्रमा प्रहरीले पक्राउ गरेपछि यादवले पेस्तोल पठाएको रहस्य खुलेको प्रहरीको भनाइ छ । 

यस्तै ८ मंसिर २०७५ मा विराटनगर १६ का विद्यायानन्द मण्डल र अनुप गिरीलाई ३८० एम्पुल लागुऔषध, १०५.११० ग्राम ब्राउन सुगर, कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको थियो । 

मण्डल र गिरी सुनसरी धरान घर भई ललितपुर ४ एकान्तकुनामा बस्ने रुपम राईलाई लागूऔषध र पेस्तोल दिन भरिया बनेर आएका थिए ।

भारतबाट यादवले पठाएको लागूऔषध र पेस्तोल लिन ललितपुरबाट आएका राई विराटनगर बसपार्कमा कुरेर बसेका थिए । त्यसै दिन राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । 

‘लागुऔषध र हतियार बोक्ने भरिया मात्रै पक्राउ परिरहेका थिए,’ एसपी खड्काले भने, ‘हातहतियार र लागुऔषध नेपाल पठाउने गिरोहका मुख्य नाइके पक्राउ गर्न सफल भएका छौं ।’ अर्को एक व्यक्ति भारतमा नै रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप