सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना सन्त्रास र बदलिँदो समाज

आइतबार, ०७ भदौ २०७७, १८ : १२
आइतबार, ०७ भदौ २०७७

कोरोना (कोभिड–१९) को महामारीसँगै मानिसमा डर हुनु स्वाभाविक हो तर त्यही डरलाई ढाल बनाएर मानवताको नै अपमान गर्नु चाहिँ स्वाभाविक होइन । यस्तो महामारीको समयमा हाम्रो सेवा र रक्षामा दिनरात खटिनु भइरहेका हरेक व्यवक्तित्वहरूलाई एक दिनका लागि सम्मान र धन्यवाद त गरियो तर के यति नै काफी छ त ?
खास गरेर कोरोना सङ्क्रमणको नियन्त्रणमा अहोरात खटिरहने स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमणबाट ग्रसित बिरामीलाई उपचारपछि ठीक भइसकेर घर फर्किसकेपछि पनि पछिसम्म  समाज, छिमेक तथा घरधनीहरूबाट भेदभावको सामना गर्नुपरेको कुरा सुन्नमा आइरहेको छ ।

अस्पतालमा काम गर्ने मेडिकल, प्यारामेडिकल, नन् मेडिकल, सुरक्षा गार्ड, सुरक्षाकर्मीहरू जसले लगन र साहसका साथ हामीलाई सेवा प्रदान गर्न रातदिन खटेर सेवा गरिरहेका छन्, आज उनीहरूलाई नै कोरोना निम्त्याउने मुहानको रूपमा आरोपित गरिँदैछ । यस्तो भयावह समयमा आफूमा कोरोना सङ्क्रमित हुने डर त हुन्छ नै तर त्यो सँगसँगै परिवारलाई कोरोना र समाज दुवैबाट कसरी सुरक्षित राख्ने भन्ने अर्को नयाँ चुनौती खडा हुँदैछ ।  समाज छिमेकलाई कसरी सम्झाउने भन्ने चिन्ता भए पनि काममा खटिएका स्वास्थ्यकर्मीलाई हाम्रो समाज छिमेकले कोरोना सङ्क्रमणको एउटा कारकको रूपमा आरोपित गरिँदा उनीहरूमा थप मानसिक तनाव उत्पत्ति हुन्छ । आज उनीहरूसँग राम्रोसँग बोलचाल र व्यवहार राम्रो गर्नुको साटो उनीहरूसँग भिन्दै किसिमको अछुत भेदभाव गरिएको सुनिँदैछ  । हालै नयाँ बानेश्वरमा भएका घटना र केही दिनअघि भक्तपुरमा घटेको घटना ताजै छ ।

भक्तपुरमा छिमेकीहरूले एउटा परिवारलाई कोरोना पोजेटिभ देखिएका कारण आफ्नै घरमा आइसोलेसनमा सुरक्षित बस्छु भन्दा पनि छिमेकीहरूले ताला लगाइदिए पछि वडा कार्यलय र सुरक्षाकर्मीको सहयोगमा सम्झाई बुझाई गरियो र ताला तोडियो तर रस्सीको घेराभन्दा बाहिर ननिस्कने चेतावनीसहित उक्त परिवारलाई छाडियो । एकातिर अस्पतालका बेड, आइसोलेसन तथा क्वारेन्टाइन स्थलहरू भरिभराउ हुँदै जाने, अर्कोतर्फ आफ्नै घरमा आइसोलेसनमा रहँदा पनि सुरक्षित न रहने,  छिमेकीहरूको सहयोग त परै जाओस अझ दुव्र्यवहार भोग्नुपर्ने जस्ता कुराले समाजको सहनशीलता र कोरोना व्यवस्थापन, यसमा सरकारले गरेको निर्णय तथा सुरक्षित आइसोलेसन तथा क्वारेन्टाइनसम्बन्धी बुझाइ कता जाँदै छ ? प्रश्न खडा भएको छ । यसरी कसैलाई घर छाड्ने, भाडामा बस्ने स्वास्थकर्मीलाई डेरा छाड्ने, बस्न नदिने, टोल, समाज छाडेर हिँड्न बाध्य बनाउने आदि निकृष्ट व्यवहारले स्वास्थ तथा सुरक्षाकर्मीको मनोबल खस्किँदै जान्छ । यसबाट स्वास्थ्य सेवाबाट उनीहरू पलायन हुने त्रास रहन्छ । के यही हो मानवीय सभ्यता, मानवता ? यस्तै ज्यामितिय रूपमा दिनानुदिन संक्रमितको सङ्ख्या बढिरहने हो र स्वास्थ्य तथा सुरक्षाकर्मी, कोरोना पीडित, र उनीहरूको परिवारलाई उचित सम्मान र सुरक्षा, व्यवहार गर्न सकिएन भने एक दिन अस्पतालमा सेवा दिने कर्मचारीहरूको सङ्ख्या कम भई, गुहार पनि नपाइने अवस्था रहन सक्छ । एक पटक मनोबल खस्किएपछि विश्वास आर्जन गर्न समय लाग्छ । 

आजकल मानिसहरू आफूलाई नियाल्नुको सट्टा अरूलाई दोषी र अपमानित, तिरष्कृत गर्न अगाडि छन् । यस्तो किसिमको तिरष्कृत, भेदभाव र दुव्र्यवहारमा परी प्रताडित हुनेहरूमा खासगरी निम्न वर्गहरू पर्दछन् । 

(क) अस्पतालमा काम गर्ने सबै तहका स्वास्थ्य सेवा प्रवाह गर्ने सेवाकर्मीहरू 

(ख) कोरोना भाइरसबाट सङ्क्रमित र उनीहरूका परिवार एवं उनीहरूका सहयोगी, 

(ग) क्वारेन्टाइन तथा आइसोलेसन बसेर फर्किएका मानिसहरू, 

यिनीहरू समाजमा फर्केर आए पनि सामाजिक कार्यमा पूर्ण रूपमा संलग्न हुन सकेका छैनन् । 
विशेषगरी पीडित, पीडितका परिवार एवम् साथीभाइहरू र आइसोलेसन र क्वारेन्टाइनबाट फर्किएका मानिसहरू अझै पनि राम्रो काम, पढाइ, घरवार, स्वास्थ्य सुविधाबाट वञ्चित छन् । उनीहरू आफ्नै समाज छिमेकमा मौखिक, भावनात्मक, मानसिक र शारिक र्दुव्यवहारको सिकार बन्न पुगेका छन् । उनीहरूको आवतजावतको भिडियो बनाई सामाजिक सञ्जालमा हालेर उनीहरूलाई एउटा कुराकानीको मसला बनाइएको पाइन्छ । उनीहरू समाजमै बसे पनि एक्लो महसुस गर्न पुगेका छन् । 

यस्तो न्यूनतम मानवीय संवेदना पनि नभएको व्यवहारले गर्दा मानिसलाई भेदभावबाट जोगिन बिमारी लुकाउन बाध्यता पर्न सक्छ । त्यसैले मानिसलाई स्वास्थ्य हेरचाहको खोजी गर्न रोक्न सक्छ  । उनीहरूलाई स्वस्थ्य व्यवहार अपनाउन निरुत्साहित गर्दछ । परिणाम स्वरूप अझ गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । अन्ततः उनीहरू आफैमा र अरूलाई सङ्क्रमण फैलाउने जोखिमको माध्यम बन्न सक्छन् । त्यसैले हामी बुद्धिमान, सहनशील र दयालु भई कोरोना भाइरसको बारेमा हुन सक्ने सामाजिक भेदभाव र संवेदनहीन दुव्र्यवहारबाट आफू, आफ्नो परिवार र अरूलाई पनि जोगाउन सकिन्छ । 

कोरोना सन्त्रसबाट उत्पन्न संवेदनाहीन दुव्र्यवहार न्यून गर्ने केही उपाय 
(क) सार्वजनिक स्वास्थ्य लक्षित उचित स्वास्थ्य शिक्षा दुवै स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमणबाट बाँचेकाहरूको सामाजिक क्षति रोक्न सबैभन्दा प्रभावकारी विधि देखिन्छ । 

(ख) दुव्र्यवहारको सिकार बनेका मानिसको भावना र कुरा सुनेर आफूले उनीहरूको अवस्था बुझेर सक्दो सहयोग र आश्वासन दिनुपर्छ । मानसिक सान्त्वना पुग्ने खालका व्यवहार गर्नुपर्छ ।

(ग) कोरोना बिरामीलाई स्वास्थ्य एवम् अन्य सेवा प्रदान गरिरहेका व्यक्तिहरूलाई सहयोग गर्ने । उनीहरूलाई यस्तो विषम परिस्थितिमा पनि साहस गरी सेवा प्रवाह निरन्तर गरिरहेकामा सरकारी निकाय तथा समाजका सबै तप्काबाट प्रोत्साहन गर्नुपर्छ । सामाजिक सम्मान, धन्यवाद तथा आभार प्रकट गर्नुपर्छ । सामाजिक सञ्जालमा सकारात्मक सन्देश व्यक्त गर्नुपर्छ । 

(घ) हामी सबैलाई जीवनरक्षामा सहयोग पुर्याउन, स्वास्थ्य लगायत अति आवश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेका  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ट्राफिक प्रहरी, अति आवश्यक खाद्यान्न आपूर्तिकर्ता, एम्बुलेन्स चालक, सफाइ कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, यातायात सेवा दिइरहेका बसचालक, सहचालक, औषधि पसलबाट सेवा दिनेहरू, अत्यावश्यक खाद्यान्न पसल, खानेपानी सप्लाई गर्ने कर्मचारी तथा व्यवसायी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै धन्यवादका पात्र छन् । उनीहरू तथा उनीहरूका परिवारलाई समेत धन्यवाद दिएर मनोबल बढाउने । 

(ङ) यो महामारीबाट जुटेर मात्र पार गर्न सकिन्छ । यो डर र दुव्र्यवहारलाई विभिन्न उत्प्रेरणा, समर्थन र एकअर्काको लागि आवश्यकताद्वारा प्रतिस्थापित गर्न सकियो भने भाइरसको महामारी चाँडै नै जित्न सकिन्छ । 
अन्त्यमा कोरोनाले पहिले नै हामीलाई धेरै मानसिक त्रास दिइराखेको छ । सामाजिक सम्बन्धलाई विखण्डन गरिरहेको अवस्थामा हामी र हाम्रो सामाजिक व्यवहार यस्तै संवेदनहीन भइरहने हो भने मानिसको सङ्ख्याका साथसाथै सामाजिक सम्बन्ध र मानवताको पनि अन्त्य हुने छ । तसर्थ नेपाल सरकारले तोकेका कोरोना रोकथामसम्बन्धी जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने, आफू पनि सुरक्षित रहने, अरूलाई पनि सुरक्षित रहन सहयोग पु-याउने अनि आफ्ना छिमेक, घरमा कुनै पनि किसमका माथि उल्लेखित सेवा प्रवाहीलाई समय समयमा सामाजिक सम्मान, धन्यवाद आभार दिने हो भने अवश्य पनि कोरोनालाई जित्न सकिने छ । 

(लेखक फिजियोथेरापिस्ट हुन् ।)
 [email protected] 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप