बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

अत्यावश्यक औषधिको अभाव छैनः विभाग

बुधबार, १० भदौ २०७७, १६ : ०७
बुधबार, १० भदौ २०७७

औषधि व्यवस्था विभागले अहिले देशभरी नै अत्यावश्यक औषधिहरुको अभाव नरहेको जनाएको छ । तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिएपनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाइ छ ।

 अहिले देशका कुनैपनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए ।  नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउनेक्रममा केही ढिला हुँदा समस्या देखिएपनि अभावको अवस्था नभएको उनको भनाइ छ । उनले भने, ‘‘आवश्यक औषधि उपलब्ध छन । कुनै निश्चित औषधि अभाव भएको सूचना आएको छैन । कुनै पनि औषधिहरु निश्चित क्षेत्रमा अभाव भयो भन्ने रिपोर्टिङ भएपनि व्यवस्थापन गरिएको अवस्था छ । अभावको अवस्था निश्चित रुपमा देखिएको छैन । नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउने क्रममा केही ढिलाइ हुँदा बजारमा नपाएको भन्ने कुरा आएपछि क्लोज नेटवर्क मार्फत काम हुन्छ । कुनै समस्या प¥यो भने एउटै फोरम भित्रबाट पनि समाधान हुन्छ । अभाव देखिएपनि अवस्था समाधान भएको पाइएको छ ।’’ 

चिकित्सकहरुको सल्लाहविना अनावश्यक रुपमा औषधि सेवन गर्नेहरुको संख्या बढेकोप्रति उनले चिन्ता व्यक्त गरे ।  औषधि सेवनले सधै स्वास्थ्यलाई फाइदा नपुग्ने उल्लेख गर्दै उनले अनावश्यक रुपमा औषधि सेवन नगर्न आग्रह गरे । उनले भने, ‘‘आवश्यकता भन्दा बढी औषधि दिएर व्यापारिक फाइदा त होला तर यसले शरीरलाई हानी पु¥याउँछ । कतिपय अवस्थामा ज्यान पनि जान सक्छ । अनावश्यक रुपमा सेवन गर्नु हुँदैन र विक्रि पनि गर्नु हुँदैन भन्ने सबैले बुझ्नुपर्छ । विरामीले औषधिको अपेक्षा राख्नु सामान्य भएपनि धेरै औषधि लिएर सेवन गर्ने कुरालाई निराकरण गर्नेतिर सबैले सोच्नुपर्छ ।’’ 

कोरोना भाइरसविरुद्ध नेपालमा कन्ब्यालेसन प्लाज्माको अनुमति दिइएको उनले बताए । आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न मुलुकले समेत सो औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उनले रगतको प्लाज्मा निकालेर गम्भिर अवस्थाका विरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताए ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ‘एसटी’ नामक आयुर्वेदिन औषधिको उपयोगिताका बारेमा पनि अध्ययन गरिरहेको सूचना आफूले पाएको उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप