सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना रोकथामका लागि के गर्दैछन् उपत्यकाका यी नगर/महानगरपालिका ?

'गृहमन्त्रीले हाम्रो सुझाव मानेनन्'
शुक्रबार, १२ भदौ २०७७, ११ : ५१
शुक्रबार, १२ भदौ २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोनाभाइरस संक्रमितको सङ्ख्या बढ्दो छ । साथै यहाँको स्थानीय तहले प्रभावकारी काम गर्न नसकेको गुनासो पनि बढिरहेको छ । अहिले उपत्यकामा दैनिक ३ सय हाराहारी कोरोना संक्रमित भेटिन थालेका छन् । संक्रमितका लागि राख्नका लागि पर्याप्त आइसोलेशनको अभाव एकातिर छ भने अर्कोतिर संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ पनि हुन नसकेको गुनासो छ । अहिलेको संकटमा सबैभन्दा बढी भूमिका खेल्नुपर्ने उपत्यकामा स्थानीय निकायहरु कसरी काम गर्दैछन् त ? आज हामीले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले के काम गरेका छन्, कसरी काम गरेका छन् । यसबारे बुझ्ने प्रयास गरेका छौँ ।

कन्ट्याक्ट ट्रेसिङ ब्यापक गर्छौँ

ईश्वरमान डंङ्गोल, प्रवक्ता, कामनापा

जनसंख्याका हिसाबले नेपालको सबैभन्दा ठूलो महानगरपालिका काठमाडौं महानगरपालिका आफैले कोरोना संक्रमितलाई राख्नका लागि हालसम्म आइसोलेशनको व्यवस्था गर्न सकेको छैन ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि महानगरपालिकाले हालसम्म झन्डै ३ हजार कन्ट्याक्ट ट्रेसिङको काम गरिसकेको, दिनको ७० हजार लिटर डिइन्फेक्सन स्प्रे गर्ने गरेको प्रवक्ता डंगोले रातोपाटीलाई बताएका छन् । जनचेतना जगाउन दैनिक वडा वडाहरुमा माइकिङ गर्ने, पर्चा छर्ने जस्ता कामहरु भइरहेको उनले बताए ।

कोरोना पोजिटिभ देखिएहरुलाई कुनै समस्या प¥यो भने सम्पर्क गरेर समस्या समाधानको काम गरिरहेको प्रवक्ता डंगोलको भनाइ छ । उनले भने–‘खाद्यान्न पुगेको छैन भने पु-याइदिने, उनीहरुको अवस्था कस्तो छ जानकारी लिने काम गरिरहेका छौँ । होम आइसोलेशनमा बस्नेहरुको रेकर्ड राख्ने र दैनिक जसो सम्पर्क गर्ने गरिरहेका छौँ ।’

अहिले महानगरपालिकामा संघीय सरकारले व्यवस्था गरेको करिब १५ सय आइसोलेशन बेड रहेको छ । संक्रमण बढ्दै जाँदा आइसोलेशन वार्ड थप्दै जानुपर्छ भनेर केन्द्र, प्रदेश र उपत्यकाका नगरपालिकाहरु मिलेर ५ हजार बेडको आइशोलेशन तयार पार्ने योजना रहेको डंगोलले सुनाए । भदौ ३ गते मेयर बिद्यासुन्दर शाक्यले १ हप्तामा तयार पार्छौ भनेर विज्ञप्ति जारी गरेका थिए तर १ हप्ता वितिसक्दा पनि यसको सुरुवात भएको छैन ।

सुरुमा अस्पताललाई आइशोलेन बनाउने योजना बनाएको महानगरले अब होटेललाई बनाउने योजना अघि सारेको छ । सरकारले प्रतिदिन २ हजार तिर्ने गरी होटललाई क्वारेन्टाइन बनाउन दिएको निर्देशिका अनुसार खाली रहेका होटल लजलाई क्वारेन्टाइन स्थल बनाउनेबारे अघि बढेको प्रवक्ता डंगोलले बताए । पार्टी प्यालेस भाडामा लिएर क्वारेन्टाइन बनाउँदा त्यहाँ सबै कुराको व्यवस्थापन गर्नुपर्ने भएकोले होटलमा बेड, अट्याच बाथरुम सबै हुने भएकोले होटल नै उपयुक्त क्वारेन्टाइन हुने महानगरपालिकाको विश्वास छ । तर कहिलेदेखि सुरु गर्ने हो त्यसबारेमा भने महानगर स्पष्ट भइसकेको छैन ।

कन्ट्याक्ट ट्रेसिङलाई व्यापक गर्ने

निशेधाज्ञाको थपिएको सात दिनमा कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने योजना रहेको प्रवक्ता डंगोलको भनाइ छ । महानगरले बाहिरी जिल्लाबाट मान्छे आएर जमघट हुने ठाँउ, पसलहरु, भीडभाड हुने ठाउँहरुको स्याम्पल लिएर परीक्षण गर्ने योजना बनाएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका सबैको परीक्षण गर्ने, कोरोना प्रभावित क्षेत्रबाट कोही मानिस आएका छन् भने ती मान्छेहरु र उनीहरु बसेको समुदायमा नमुना परिक्षण गर्ने योजना बनाएको छ । उपत्यकाका मेयरहरुको संगठन मेयर फोरमले पनि यसबारे निर्णय गरेकोले उपत्यका भरी यसरी परीक्षणको काम हुने उनको भनाइ छ ।  यस्तै बालाजुमा रहेको जनमैत्री अस्पताल नेपाल सरकारले लिने भएको छ । बन्द रहेको सो अस्पताललाई कोरोना संक्रमित विरामी राख्ने गरी सरकारले लिनेबारेको प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए ।               

निजी स्कूलको होस्टेललाई आइसोलेशन

राजु मर्हजन, प्रवक्ता, ललितपुर महानगरपालिका

यता ललितपुर महानगरपालिकाले निजी विद्यालयका खाली रहेका होस्टललाई आइशोलेशन बनाउने तयारी गरेको छ । जेम्स, लिटिल एन्जेल्स लगायतका विभिन्न स्कूलका होस्टेलहरु प्रयोग गर्ने कुरा भइरहेको प्रवक्ता राजु महर्जनले रातोपाटीलाई बताए । एउटा गैरसरकारी संस्थाले पनि आइसोलेशन सेन्टर बनाउनका लागि महानगरपालिकासँग खाली जग्गा मागिरहेको छ ।

जाउलाखेलको स्टाफ कलेजलाई आइसोलेशन कक्ष बनाएर ६८ जना राखिएको छ । नगरपालिकाले खाना खाजा खुवाउने काम गरिहेको छ । यस्तै एन्फा कन्फेक्स र सुनाकोठीमा रहेको बाल विकास नामक गैर सरकारी संस्थाको भवनमा आइशोसन बेड तयार पार्न लागेको जानकारी दिए ।

वडा वडामा टोली खटाउने

ललितपुर महानगरपालिकाले प्रत्येक वडामा कोरोना संक्रमणको अवस्थाबारे जानकारी राख्ने, अवस्था बुझ्ने कामका लागि टोली खटाउने भएको छ । कोरोना पोजिटिभ देखिएकाको अवस्था कस्तो छ,  उनीहरुको निगरानी राख्ने, कन्ट्याक्ट टे«सिङ गर्ने काम सुरु गर्न लागेको प्रवक्ता महर्जनले बताए ।

ललितपुर महानगरपालिका धेरै नै संक्रमण बढ्दै गएको अवस्थामा संक्रमित भएका ब्यक्तिको अन्य मान्छेहरुको सम्पर्कका आधारमा कन्ट्याक्ट ट्रेसिङ गर्न गाह्रो भइरहेको उनले बताए ।

वडा नम्बर १६ स्थित ८ जना भजनमण्डलीलाई कोरोना संक्रमित भएको र उनीहरुको सम्पर्कमा रहेका १ सय जनाको पीसीआर परीक्षण गर्न लागिएको छ ।  मंगलबजार नजिकै रहेको सो टोलका स्थानीय भजनमण्डलीलाई कोरोना संक्रमण भएपछि सो क्षेत्र सिल गरेर परिक्षण गर्न लागिएको हो । ललितपुर महानगरमा कोरोना संक्रमण बढेपछि एक जना संक्रमित बराबर कम्तिमा ७ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने योजना बनाइएको छ ।

केन्द्र र प्रदेशसरकारसँग समन्वय भइरहेको प्रवक्ता महर्जनले बताए । पहिलो लकडाउका बेला बागमती प्रदेशले ८ लाख रुपैयाँ सहयोग गरेको थियो । यस्तै केन्द्र सरकारले आर्थिक सहयोग नगरेपनि समन्वयको काम भने भइरहेको महर्जनको भनाई छ ।

गृहमन्त्रीले हाम्रो सुझाव मानेनन्

सुनील प्रजापति, मेयर, भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले गृहमन्त्रीलाई उपत्यकाका मेयरहरुले कोरोना रोकथामका लागि गराएको ध्यानाकर्षणको पालना नहुँदा उपत्यकामा कोरोना संक्रमण फैलिएको बताएका छन् ।

रातोपाटीसँग कुरा गर्दै उनले भने–‘हामीले उपत्यकामा संक्रमण नदेखिँदै चैतको सुरुमा गृहमन्त्रीलाई सुझाव दिएका थियौँ, उपत्यका बाहिरका कोही पनि भित्र आउन नदिऔँ भनेर । सबै नगरप्रमुखले उपत्यकामा कफ्र्यु भनेर घोषणा नगरिकन यहाँ छिर्ने नाकाहरु र सीमानामा कफ्र्यू जस्तै लगाइदिउ, कोही पनि छिर्न नदिउँ, यहाँ लकडाउनको आवश्यकता पनि पर्दैन । बजार बन्द यताउति केहीपनि गर्नुपर्दैन भन्यौं तर कार्यान्वयन भएन पछि हुँदा हुँदा समुदायस्तरमा कोरोना फैलिएर ३ हजार बढी नाघिसक्यो ।’ 

समन्वय प्रभावकारी भएन

मेयर प्रजापतिले कोरोना नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय नभएको बताएका छन् । उनले केन्द्र प्रदेश र स्थानीय सरकार अहिले अलग–अलग जान नहुने बताउदै यी निकायहरुबीच समन्वयको खाँचो रहेको बताए ।

उनले भने–‘हुन त विपद व्यवस्थापनको एकल अधिकार स्थानीय तहलाई छ । संघ र प्रदेशको साझा अधिकारभित्र पनि पर्छ । यो कोरोनापनि एक किसिमको विपद नै हो । यसको रोकथाम एक्लाएक्लै गर्ने अवस्था छैन । यसका लागि कार्यविभाजन गर्नुपर्ने हो । केन्द्रले भेन्टिलेटर राखिदिने, आइसोलेशन वार्ड बनाइदिने, त्यसको रेखदेख गरिदिने, या खर्चको व्यवस्थापन प्रदेशले गरिदिने । शुरुमा आ–आफ्नो आफ्नो जिम्मेवारी तोकिदिएको भए राम्रो हुने थियो । अहिले केन्द्रले एउटा गर्ने, प्रदेशले एउटा गर्ने, स्थानीयले अर्को गर्ने भइरहेको छ ।’

यी तीन तहबिच राम्रो समन्वय नहुदा राम्रोसँग काम हुन नसकेको उनले बताए ।

कोरोना रोकथामका लागि भक्तपुर नगरपालिका के गर्दैछ ?

कोरोना रोकथामका लागि गरिएको लकडाउन खुलेपछि भक्तपुर नगर छिर्ने १३ वटा नाकामा कुन जिल्लाबाट कति मान्छे प्रवेश गर्छन भनेर लगत लिने काम गरेको मेयर प्रजापतिले बताए  ।

पहिले नै ती नाकाबाट आवागमन निषेध गर्ने तयारी गरिरहेको बेला निषेधाज्ञा सुरु भएको उनले बताए ।

जनचेतनामूलक माइकिङ गर्ने, टोल टोलमा साबुनपानीले हात धुने व्यवस्था गरेको, जिवाणु निर्मूल पार्ने स्प्रेहरु छर्ने काम गरिहेको उनले बताए ।

भक्तपुर नगरपालिकाले होम क्वारेन्टाइनमा बस्नेहरुको अवस्था निगरानीका लागि केही कर्मचारी खटाएको छ ।  नगरपालिकाका ९ जना कर्मचारीमध्ये ३ जना विदेशबाट यात्रु ल्याइने होल्डिङ सेन्टरमा, ३ जना होम क्वारेन्टाइनमा बस्नेको निरिक्षणमा र ३ जना ब्यवस्थापनका लागि खटिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

भक्तपुर सांस्कृतिक नगर भएकोले गत चैतदेखि हालसम्मका धेरै पर्व जात्राहरु स्थगित गरिएको र केही पर्व औपचारिकतामा सिमित गरियो ।

कोरोनाको शंका लागेमा फोन गर्नका लागि २ जना डाक्टरहरु नाम सार्वजनिक गरेको छ । प्रजापतिले भने–‘तपाईंहरुलाई कोरोनाको संका लाग्यो भने डाक्टरलाई फोन गर्नुस् भनेर डाक्टर विवेक बोयजु र डाक्टर बालकृष्ण चाँगुभारीको नाम किटान गरिदियौँ । उहाँहरुलाई जुनसुकैलाई बेला फोन गर्न सक्ने व्यवस्था गरेका छौँ ।’

यस्तै निषेधाज्ञा अगाडि विद्यालयहरुमा शिक्षक हाजिर हुने कि नहुने भन्ने अन्यौल थियो । पठन संस्कृतिको विकास गर्नुपर्छ भनेर सबै शिक्षकहरुलाई अनलाइन कक्षा लिन लगाइयो र सबै अभिभावकहरुलाई कोरोनाबाट बच्न सचेतनामूलक सन्देश पठाउन लगाएको उनले बताए ।

उनले भने–‘सम्भव भएका सबै स्कूल कलेजमा अनलाइन कक्षा चलाउन लगायौँ, अहिले सबैतिर राम्रोसँग नै कक्षा चलेको छ ।’

भक्तपुर नगरपालिकामामा खरिपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा २ सय २० बेड क्षमताको, भक्तपुर अस्पतालमा १५ बेड, शंकास्पदहरुका लागि १० वेड गरी २५ बेड आइसोलेशनका लागि तयार भएको छ । यस्तै भक्तपुर  अस्पताललाई नै कोभिड अस्पतालमा रुपान्तरण गरेर साधारण जाँचको काम अरु अस्पताललाई दिने गरेर व्यवस्था मिलाएको प्रजापतिले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप