सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतसँगको तनावका बीच चीनले तिब्बतबारे गर्‍यो महत्वपूर्ण घोषणा

आइतबार, १४ भदौ २०७७, १३ : ३१
आइतबार, १४ भदौ २०७७

भारतसँग सीमा विवादबीच चीनका राष्ट्रपति शी जिनपिङले एक नयाँ आधुनिक समाजवादी तिब्बतको निर्माणमा कोसिस गर्नुपर्ने आह्वान गरेका छन् ।

यसअघि चीनका विदेशमन्त्री वांग यीले तिब्बतको भ्रमण गरेका थिए र भारतसँग जोडिएको सीमामा निर्माण कार्यको अवलोकन गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनको सेन्ट्रल मिलिटरी कमिशनका अध्यक्ष शी जिनपिङले बेइजिङमा तिब्बतको विषयमा भएको एक उच्च स्तरीय बैठकमा यो टिप्पणी गरेका हुन् ।

उनले चीनले तीब्बतमा स्थिरता स्थायित्वका लागि र राष्ट्रिय एकताको रक्षाका निमित्त थप कोसिस गर्नुपर्ने आवश्यकता भएको बताए ।

चीनले सन् १९५० मा तिब्बतमाथि आफ्नो नियन्त्रण स्थापित गरेको थियो ।

निर्वासित आध्यात्मिक नेता दलाई लामालाई समर्थन गर्ने आलोचकका अनुसार चीनले तिब्बतका मानिसहरु र त्यहाँको संस्कृतिलाई खराब पारेको आरोप लगाउने गर्छन् ।

तिब्बतको भविष्यको शासनमाथि कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्यको यो बैठकमा शी जिनपिङले उपलब्धिको प्रशंसा गरे र फ्रन्टलाइनमा काम गरिरहेका अधिकारीको पनि तारिफ गरे तर उनले यो क्षेत्रमा एकता बढाउन, त्यसलाई पुनः जीवन्त राख्न र बलियो बनाउनका लागि थप प्रयासको आवश्यकता भएको बताए ।

सरकारी समाचार एजेन्सी शिन्ह्वाका अनुसार शी जिनपिङले बैठकमा तिब्बतका स्कूलमा राजनीतिक र वैचारिक शिक्षामा थप जोड दिन आवश्यक भएको बताए । यसो गरे त्यहाँका हरेक युवाको मनमा चीनका लागि प्रेमको बिउ छर्न सकिने जिनपिङको ठहर छ ।

शी जिनपिङले तिब्बतमा कम्युनिष्ट पार्टीको भूमिकालाई थप बलियो बनाउन र जातीय समूहलाई उत्कृष्ट तरिकाले एकीकृत गर्न आवश्कता भएको बताए ।

यसै सन्दर्भमा उनले भने, ‘हामीले एकजुट, समृद्ध, सभ्य, सुन्दर, आधुनिक, समाजवादी तिब्बत बनाउने संकल्प लिनुपर्नेछ ।’

उनले भने, ‘तिब्बती बौद्ध धर्मलाई पनि समाजवाद र चिनियाँ परिस्थितीको अनुकूल बनाउन आवश्यक थियो ।’

यद्यपि, आलोचकले भनेका छन्, ‘यदि चीनबाट तिब्बतलाई शी जिनपिङले दाबी गरेजस्तै साँच्चैको फाइदा भएको भए चीनलाई अलगाववादको डर हुँदैनथ्यो न नै चीनले तिब्बती मानिसहरुमा शिक्षामार्फत् नयाँ राजनीतिक चेतना भर्ने कुरा गर्दथ्यो ।’

अमेरिका र चीनले तनावबीच पनि तिब्बतको विषयमा कुरा उठाएको थियो ।

जुलाईमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भनेका थिए, ‘अमेरिकाले तिब्बतमा राजनीतिक पहुँच रोक्न र मानवाधिकारको हननमा लिप्त केही चिनियाँ अधिकारीको भिसालाई प्रतिबन्ध गर्नेछ ।’

उनले अमेरिकाले तिब्बतको सार्थक स्वायत्तताको समर्थन गर्ने पनि बताएका थिए ।

स्रोतः बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप