आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेलसहितका नेताहरु केन्द्रीय सदस्यबाट राजीनामा दिने तयारीमा

नवआगन्तुकका कारण झस्कियो पौडेल समूह
सोमबार, १५ भदौ २०७७, १५ : २१
सोमबार, १५ भदौ २०७७

काठमाडौँ । नेपाली काँग्रेसमा आन्तरिक किचलो चुलिँदो छ । महाधिवेशन नजिकिएसँग संस्थापन र इतर पक्षबीच विवाद चर्किँदै गएको हो । संस्थापन पक्षबाट विधि, विधान र पद्धति विपरीत चालिएका कदमविरुद्ध धर्ना र अनसनमा उत्रिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको तयारी छ ।त्यसका लागि गत बिहीबार भएको पौडेल पक्षको भर्चुअल बैठकले पार्टी सभापति देउवाले महाधिवेशनलाई केन्द्रित गरेर गरेका विधान र प्रक्रियाविपरीतका निर्णय केलाउन तीन सदस्यीय समिति बनाएको थियो । 

केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार सम्मेलित समितिले पार्टीभित्रका गलत निर्णय र त्यसविरुद्धको प्रतिवादका कार्यक्रमसमेत सुझाएर तयार पारेको प्रतिवेदन शनिबार आफ्नो समूहका सबै नेतालाई वितरण गरिसकिएको छ । प्रतिवेदनमा सभापति देउवालाई विधि, विधान र पद्धतिमा बाँध्नका लागि आमरण अनसनसम्मका सम्भावित विरोधका कार्यक्रम सुझाइएको छ । 
यस्तै प्रतिवेदनले धर्ना, अनसन र सभापति देउवाद्वारा मनोनित केन्द्रीय सदस्यको राजीनामासम्मको कार्यक्रम अगाडि सारेको छ । 

समितिका सदस्य गुरुराज घिमिरेका अनुसार आमरण अनसन गर्नुअघि ६ चरणका कार्यक्रम गर्ने सुझाव दिइएको छ । उक्त सुझावलाई अन्तिम रूप दिन यही हप्तामा फेरि पौडेल पक्षले भर्चुअल बैठक गर्ने उनको भनाइ छ । घिमिरेका अनुसार आगामी बैठकले सुरुमा सभापतिलाई गलत निर्णय सच्याउन तीन दिनको अल्टिमेटम दिने छ ।

उक्त अवधिमा विधान विपरीतका निर्णय नसच्याए केन्द्रीय पदाधिकारी, सदस्य, सांसद, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थासँग अन्तक्र्रिया गर्ने र पत्रकार सम्मेलन गर्ने पौडेल समूहको कार्यक्रम छ ।
त्यसपछि जिल्ला तथा केन्द्रीय कार्यालयमा धर्ना दिने, रिले अनसन बस्ने र अन्तिममा आमरण अनसन बस्ने पौडेल पक्षको योजना छ । यस्तै देउवाविरुद्ध उक्त कदम चाल्नुभन्दा पहिले मनोनित केन्द्रीय सदस्यलाई राजीनामा दिन लगाउने पनि पौडेल पक्षको तयारी छ ।

देउवाद्वारा मनोनित वरिष्ठ नेता पौडेलसहित अर्जुनरसिंह केसी र दिलबहादुर घर्तीलाई केन्द्रीय सदस्यबाट राजीनामा दिन प्रतिवेदनमा सुझाइएको छ । यस्तै नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)मा पठाएका पदाधिकारी पनि फिर्ता बोलाउने पौडेल पक्षको रणनीति छ ।

नेविसङ्घका १० जना पदाधिकारीमा पौडेल पक्षबाट महामन्त्रीहरु दीपक भट्टराई, उर्मिला थपलिया र प्रभात दाहालको सहभागिता छ । त्यहीअनुसार पौडेल पक्षद्ववारा गठित समितिले प्रतिवेदन तयार पारिसकेको छ ।
भदौको सुरुवातमा महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकमा केन्द्रीय सदस्यद्वय धानराज गुरुङ र गुरुराज घिमिरेले  आफू पक्षीय मनोनित केन्द्रीय सदस्यलाई सामूहिक राजीनामा दिन सुझाएका थिए ।

त्यसमा वरिष्ठ नेता पौडेल र नेता केसीले आफू राजीनामा दिन तयार रहेको बताएका थिए । ‘शेरबहादुर देउवाले मनोनित गरेका पदमा बस्ने अनि उनकै विरोध गर्न नैतिकताले मिल्छ ? त्यो नैतिकता सुहाउने कुरा पनि होइन । सबैभन्दा पहिला तपाईंहरु राजीनामा दिनुहोस्,’ उनीहरुले बैठकमा भनेका थिए । त्यसपछि पौडेल र केसीले केन्द्रीय सदस्यबाट राजीनामा दिएर सङ्घर्षमा उत्रिन आफूहरु सकारात्मक रहेको जबाफ दिएका थिए ।
घिमिरेका अनुसार सुशील कोइरालाको सभापतित्व कालमा देउवाले पनि यस्तै नीति अख्तियार गरेका थिए । त्यतिबेला उनले आफैले केन्द्रीय सदस्यबाट राजीनामा दिने, केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने, केन्द्रीय विभागबाट आफूनिकट रहेकाहरूलाई राजीनामा दिन लगाउने, अनसन बसाउने जस्ता काम गरेका थिए । 


पौडेल पक्षले पनि त्यही बाटो समात्न खोजेको छ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा हट्ने वित्तिकै उक्त कार्यक्रमहरु अगाडि बनाउने पौडेल पक्षको योजना छ । पहिले पौडेलसहितका नेताहरुले राजीनामा दिने र त्यसपछि धार्नाका कार्यक्रम सुरु हुने बुझिएको छ । 

महाधिवेशन प्रभावित बनाउन देउवाले केन्द्रीय विभागको गठन, पार्टीको पुरानो संरचनाको समायोजन र क्रियाशील सदस्यतामा चलखेल गरेको पौडेल पक्षको आरोप छ । सभापति देउवाले महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेपछि २० वटा विभाग गठन गरेका छन् । बाँकी २७ वटा विभाग पनि गठन गर्ने सभापतिको तयारी छ । तर यसलाई पौडेल समूहले महाधिवेशनको आचारसंहिताको ठाडो उल्लङ्घन भनेको छ । 

‘महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टीका साथीहरूमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ । पार्टीका सबै तहको मिति तोकी सकेपछि विभिन्न नियुक्तिहरू गर्नु महाधिवेशनको आचारसंहिताको ठाडो उल्लङ्घन गर्नु हो । तसर्थ विभाग गठनका कार्य तत्काल रोकिनुपर्छ,’ प्रतिविदेनमा उल्लेख छ ।
सभापति देउवाले दोस्रो पटक पनि नेतृत्वमा निरन्तरता चाहेको भन्दै आफूअनुकूलको परिस्थिति बनाउन यी सब काम भइरहेको पौडेल पक्षको आरोप छ । 

समितिले पार्टीको पुरानो संरचना समायोजनसम्बन्धी गतिविधिमाथि पनि प्रश्न उठाएको छ । साउन पहिलो सात समायोजन सक्ने अन्तिम मिति तोकिए पनि अहिले पनि ११ जिल्लाको समायोजन भएको छैन । प्रदेश २ का ८ वटै जिल्लाकै समायोजन बाँकी छ । समायोजन नभएका जिल्लामा क्रियाशील सदस्यताको वितरण र नवीकरण रोकिएको छ । 

पार्टीले बनाएको निर्देशिकाविपरीत गएर समायोजन गर्न खोजिएको र महाधिवेशन ढिलाइ गर्न समायोजनको कामसमेत लम्ब्यएको पौडेल समूहद्वारा गठित समितिको ठहर छ । यस्तै सिन्धुपाल्चोक, काभ्रे र मुस्ताङको भने समायोजन सकेर बुझाइसक्दासमेत निर्वाचन समितिले रोकेको आरोप पौडेल पक्षले लगाएको छ । यस्तै नेतृत्वको हस्तक्षेपका कारण राधेश्याम अधिकारी संयोजकत्वको समितिले निर्णय गर्न नसकेको पौडेल पक्षको बुझाइ छ । 

नवआगन्तुकका कारण झस्कियो पौडेल समूह
गृहजिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई बाइपास गरेर क्रियाशील सदस्यता दिएको घटना अहिले विवादको केन्द्रमा छ । डडेलधुराका जिल्ला सभापति कर्ण मल्ललाई थाहै नदिई निर्वाचनताका तत्कालीन माओवादी केन्द्रबाट काँग्रेस प्रवेश गरेका जनकलाल कलौनीलाई १ हजार १ सय ७ थान सदस्यताको फाराम केद्रले दिएको छ । रसुवामा पनि तत्कालीन नयाँ शक्ति पार्टीका कार्यकर्ताका लागि भन्दै १ हजार २ सय थान क्रियाशील सदस्यता फाराम दिइएको छ । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक, अखण्ड नेपाल, अखण्ड नेपाल समानान्तरका नाममा पनि क्रियाशील सदस्यता फाराम विभिन्न जिल्लामा पठाइएको छ ।

गच्छदार समूहको नाममा २५ हजार क्रियाशील सदस्यता दिने निर्णय पार्टीले यसअघि नै गरिसकेको थियो । त्यसबाहेक अखण्ड नेपाल, अखण्ड नेपाल समानान्तरका लागि ३ हजार ५ सय क्रियाशील सदस्यता दिइएको छ । देउवाले व्यक्ति विशेषका रूपमा काँग्रेस प्रवेश गरेकालाई पनि एकमुष्ट रूपमा क्रियाशील सदस्यता दिने थालेपछि पौडेल पक्ष आक्रोशित भएको छ ।

गत निर्वाचनका बेला काँग्रेस प्रवेश गरेका सर्लाहीका तत्कालीन माओवादी केन्द्रका शम्भुलाल श्रेष्ठ, सर्लाहीकै तत्कालीन राजपाका जङ्गीलाल राय, कपिलवस्तुका तत्कालीन समाजवादीका अभिषेकप्रताप साह, कैलालीका तत्कालीन एमालेका मोहनसिंह राठौर, स्याङ्जाका तत्कालीन नयाँ शक्ति पार्टीका भूमिबहादुर गुरुङ, डोल्पाका तत्कालीन राप्रपा संयुक्तका कर्णबहादुर बुढालगायत करिब एक दर्जन नेतालाई पनि एकमुष्ट सदस्यता दिने लागिएको पौडेल पक्षको आरोप छ ।


यस्तै केही समयअघि राप्रपाबाट काँग्रेस प्रवेश गरेको सुनिल थापाको समूहलाई पनि देउवाले सहमहामन्त्री सहित ५ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित सदस्य बनाउने देउवाको योजना छ । यस्तै थापा समूहका नाममा ५ हजार क्रियाशील सदस्यता दिइने छ । यसलाई पौडेल पक्षले देउवाको पार्टी कब्जा गर्ने रणनीति बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप