आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डा. सन्दुक रुइत अध्यक्ष रहेको बारबरा फाउण्डेसनले फ्रन्टलाइनरलाई सम्मान गर्ने

सोमबार, १५ भदौ २०७७, २१ : २६
सोमबार, १५ भदौ २०७७

काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको बारबरा फाउण्डेसनले फ्रन्टलाइनरलाई सम्मान गर्ने घोषणा गरेको छ । 

डा. रुइतले आज एक विज्ञप्ती जारी गदैं नेपाल लगायत विश्व मानव जाति कोरोनाभाइरसद्वारा सिर्जित महासंकटसँग जुधिरहेकोबेला फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई सम्मान गर्ने बताएका छन् । 

काठमाडौं उपत्यका र देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कोरोना संक्रमण विरुद्धको अभियानमा कार्यरत रही निर्णायक मण्डलले उत्कृष्ट ठहराएका चिकित्सक तथा नर्सहरुलाई यो बारबरा फाउण्डेसन विशेष सम्मान प्रदान गर्ने छ । सम्मानको राशि २/२ लाख नेपाली रूपैयाँको हुनेछ । सुरक्षाकर्मीको हकमा  १/१ लाखको हुनेछ ।

विज्ञप्तीमार्फत डा. रुइतले भनेका छन्, ‘महासंकटका बेला म सम्पूर्ण नेपालीहरुमा सुरक्षित रहन विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु । धैर्य र संयमतापूर्वक विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी मापदण्दलाई पूर्ण रुपमा पालना गर्दै आफू, परिबार र समुदायलाई सुरक्षित राख्ने अभियानमा सरिक हुनुहुन म आग्रह गर्दछु । साथै यस क्षणमा म नेपाली जातिले सनातनदेखि पालना गर्दै आएको प्रेम, सद्भाव, सम्मान र करुणा यी चार शब्द सम्झँदै कोरोना महामारीका बेला यी चार शब्दको बास्तविक भाव प्रकट गर्ने बेला आएको संस्मरण गराउन चाहन्छु ।’  

कोरोना महासंकटको सुरुदेखि नै न्युनतम सुरक्षाका साधन जस्तै मास्क, पीपीईको अभावमा काम गरिरहेका डाक्टर, नर्सलगायत अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोबल बढाउन पनि उक्त सम्मान घोषाण गरेको विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्यकर्मीहरु झन् उच्च जोखिममा काम गरिरहेका छन् । सीमित स्रोत र साधनका बावजुद पनि कोभिड–१९ को महामारीको अग्रपंक्तिमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरु नै छन्। 

विज्ञप्तीमा अगाडी भनिएको छ, ‘ उहाँहरुले निर्वाह गरिरहेको कर्तव्यलाई हामी कसैले भुल्न सक्दैनौं । यो कोरोना जस्तो महासंक्रमणको अत्यधिक र पहिलो जोखिममा पनि उहाँहरु नै हुनुहुन्छ । त्यस्तै नेपालमा कोभिड–१९ महामारीको सुरुवातदेखि नै अग्रपंक्तिमा रही काम गर्ने मध्ये सुरक्षाकर्मीहरु पनि हुनुहुन्छ । नेपाली स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले देशभर निर्वाह गरिरहेको कर्तव्यलाई हामी सबैले नतमस्तक भई सम्मान प्रकट गरौं ।’

अग्रपंक्तिमा रहेर काम गर्ने यी दुई जनस्वास्थ्य र सुरक्षा क्षेत्रका व्यक्तिहरु जसले कोरोना जस्तो डरलाग्दो महामारीको कुनै प्रवाह नगरी दिनरात नेपालीको सेवामा खटिरहेका छन् । सम्मानले स्वास्थ्यकर्मीलाई यो महासंकटमा काम गर्ने साहस मिल्ने उनले बताएका छन्। जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने चिकित्सक र नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरुको कदर स्वरुप बारबरा फाउण्डेसनले विशेष सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

डा. रुइतले विज्ञप्तीमा अगाडी थप्छन्, ‘कोरोनाबाट सिर्जित महासंकटका बेला अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी जो आफ्नो नियमित जिम्मेवारीभन्दा पनि माथि उठी रोकथाममा उत्कृष्ट योगदान गर्ने चिकित्सक र नर्सलाई बारबरा फाउन्डेसन विशेष सम्मान प्रदान गर्ने निर्णय भएको जानकारी गराउन पाउँदा मलाई खुशी लागेको छ । साथै अग्रपङ्तिमा कार्य गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका एक/एक जना उत्कृष्ट राष्ट्र सेवकलाई पनि बारबरा फाउण्डेसन विशेष सम्मान प्रदान गर्ने छ ।’

चिकित्सक तथा नर्सहरुको छनौट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एसोसियशनका अध्यक्ष डा. लोचन कार्की र नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला श्रेष्ठलाई निर्णयक समितिमा रहनका लागि आग्रह गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप