बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

‘प्लाज्मा थेरापी’बाट कोरोनाको उपचारबारे विज्ञले उठाए प्रश्न

मङ्गलबार, १६ भदौ २०७७, १७ : ०४
मङ्गलबार, १६ भदौ २०७७

काठमाडौं । देशका विभिन्न अस्पतालमा ‘प्लाज्मा थेरापी’बाट कोभिड–१९ (कोरोनाभाइरस) संक्रमणको उपचार भइरहेको सम्बन्धमा विज्ञहरुले प्रश्न उठाएका छन् । सरकारले देशभर २२ वटा अस्पतालमा कोभिड १९ संक्रमणमा परेका बिरामीहरुलाई ‘प्लाज्मा थेरापी’बाट उपचार गरिरहेको छ । तर प्लाज्माको उपचार विधि सम्बन्धमा विज्ञहरुले भने प्रश्न उठाएका हुन् ।

 नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सिफारिसमा विभिन्न अस्पतालामा प्लाज्मा थेरापीबाट परीक्षणको रुपमा उपचार भएपछि विज्ञहरुले प्रश्न उठाएका हुन् । प्लाज्मा थेरापीको क्लिनिकल ट्रायल नभइकन उपचार गर्न खोज्दा दुर्घटना निम्तन सक्ने विशेषज्ञहरुको भनाइ छ । 

रक्त विशेषज्ञ डा. विशेष पौडेलले प्लाज्माबाट हुने उपचार कोभिडको लागि प्रमाणित भइसकेको थेरापी नभएको बताए । उनले उपचारका लागि केही पाइएन अव प्लाज्मा दिउँ भनेर बिरामीको जीवनमाथि खेलवाड गर्ने काम गर्न नहुने पनि स्पस्ट पारे । 

 प्लाज्माले काम गर्न सक्ने भएपनि यो नै कोरोनाको अन्तिम उपचार हो भनेर प्रचार गर्न नहुने पनि डा.पौडेलले बताए । उनले एनएचआरसीले दुई देखि तीन सय विरामीमा क्लिनिकल ट्रायल पुरा गरी प्लाज्माले के कति काम ग¥यो भन्ने सम्बन्धमा प्रकाशित नगर्दा सम्म कोभिडको लागि प्लाज्मा विधिबाट उपचार गर्न नहुने स्पस्ट पारे ।  क्लिनिकल ट्रायल पनि विरामीको स्वीकृति नलिइकन गर्न नहुने उनले बताए । तर अहिले विरामीको उपचार नै प्लाज्मा विधिबाट सुरु गरिएकोमा त्यसलाई मान्न नसकिने उनले बताए । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप वैज्ञानिक डा. तिर्थराज घिमिरेले प्लाज्मा विधिबाट गरिने उपचार सतप्रतिशत सफल नहुने बताए ।  कुनै व्यक्ति कोभिड १९ को बिरामी भए उक्त व्यक्तिको रगतमा कोभिड १९ विरुद्धको एन्टीबडि सर्कुलर हुने र उक्त व्यक्ति निको भएमा उसको शरिरको रगतबाट प्लाज्मा निकालेर अर्को व्यक्तिलाई उपचार गर्ने विधि प्लाज्मा थेरापी विधि हो । यो विधिबाट गरिने उपचार सतप्रतिशत नहुने भएको थाहाहुँदै पनि नेपालका किन आयो भन्ने आफुले बुझ्न नसकेको पनि उनले बताए । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने प्लाज्मा थेरापीबाट क्लिनिकल परीक्षण भन्दापनि अब्जरभेसन परीक्षणको रुपमा उपचार सुरु गरिएको बताए । अहिले नै उपचारको विधिको रुपमा सबै विरामीलाई प्रयोग नगरिएको उनले स्पस्ट पारे । पहिलो चरणमा प्लाज्मा थेरापी गराइएका संक्रमित र नगराइएका संक्रमितको बिचमा तुलना गरी निष्कर्षमा पुग्नका लागि परीक्षण गरिएको बताए ।  अहिले देशभरका २२ वटा अस्पतालमा प्लाज्मा थेरापीमार्फत परीक्षण उपचार गरिएको पनि उनले बताए । 

कोभिड १९ संक्रमण निको भई अन्तिम पटक पीसीआर नेगेटिभ आएको कुनैपनि व्यक्तिबाट दुई सातापछि मात्रै प्लाज्मा लिन सकिने पनि उनले बताए ।  त्यस्तो प्लाज्मा विरामीको स्वीकृति बिना दिन पाइँदैन । प्लाज्मामा भाइरसको विरुद्ध एन्टीबडि तयार हुने र अन्य संक्रमितलाई उक्त प्लाज्मा दिदा निको हुन्छ भन्ने मान्यता अनुसार विरामीको स्वीकृति लिएर नै परीक्षणको सुरुवात गरिएको उनले स्पस्ट पारे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप