आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेडक्रसले मनायो ५८औं स्थापना दिवस

शुक्रबार, १९ भदौ २०७७, १७ : ४९
शुक्रबार, १९ भदौ २०७७

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ५८औं स्थापना दिवस मनाएको छ । भदौं १९ गते ‘ताली बजाउनुहोस्’ (Keep Clapping) भन्ने नाराका नेपाल रेडक्रस सोसाइटी (नेरेसो)५८औँ स्थापना दिवस मनाइएको हो । 

वि.सं. २०२० साल भदौ १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।

यसै उपलक्ष्यमा देशभर मानवीय सेवार्थ खटिने स्वयंसेवकहरूको सम्मान, रक्तदान शिविर, रेडक्रसका गतिविधिहरूको बारेमा अन्तक्रिया, अस्पतालका विरामीहरुलाई फलफूल वितरण, फोटो तथा सिर्जना प्रतियोगिता जस्ता गतिविधि संयोजन गरी साप्ताहिक रुपमा (भाद्र १४ देखि भाद्र २० सम्म) कार्यक्रमको आयोजना भएका छन् । 

रेडक्रसका प्रदेश, जिल्ला शाखाहरू र युवाहरुले  विभिन्न कोभिड–१९ को विषयमा  चेतनामूलक गतिविधि, प्रतियोगिताहरू जस्ता गतिविधिहरू अनलाइन गतिविधिमा जोड दिई वा भौतिक दुरी कायम राखी आयोजना गरिरहेका छन् ।

केन्द्रीय कार्यक्रमको रुपमा आजै १६० जना रेडक्रसकर्मीहरुको सहभागितामा सञ्चालित कार्यक्रममा नेरेसोका अध्यक्ष डा. नेत्र तिम्सिनाले अग्रपंतिका स्वयंसेवकहरुको र समुदायका मानिसहरुमा नेरेसोका कार्यक्रमबाट आएको प्रभावको कथाहरुको संगालो सार्वजनिक गरेका छन् । सो कथाका पात्र खोटाङका रेडक्रसकर्मी लोकमाया थापाले मनोसामाजिक सहयोगका सत्रहरु सेना, प्रहरी तथा समुदाय माझ प्रभावकारी भएको र आफ्नो पनि आत्मबल बढेको बताइन् ।  त्यस्तै किरण सेढाईँले गाएको कोभिड विरुद्धको प्रचारात्मक अभियान सहयोगी हुने अडियो गीत ‘हात धुनु ल’ सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले सार्वजनिक गरे ।

कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) र  रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको नेपाल कार्यालयका कार्यबाहक प्रमुख, साझेदारहरुका प्रतिनिधि कृष्णचन्द्र चालिसे, हार्भे गजेउ र नुरियाले शुभकामना सन्देश दिएका थिए। नेपाल रेडक्रसका उपाध्यक्षद्वय डा. विश्वकेशर मास्के, शर्मिला कार्की लगायत पदाधिकारी तथा सदस्यहरुले शुभकामना व्यक्त गरे ।  

यसैक्रममा, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष र महामन्त्रीले दिवसको सन्दर्भमा आजै शुभकामना जारी गर्दै ‘सबैको रेडक्रस, सिद्धान्तनिष्ठ सञ्जाल’ भन्ने रेडक्रसकर्मीहरू र आम जनसमुदायको सदिच्छा पूरा गर्नेतर्फ चालिने कदमहरूमा सबैको सदभाव, साथ र सहयोगको अपेक्षा गरेको बताए । 

हाल नेपाल रेडक्रसका १,५३७ उपशाखा, ७७ जिल्ला शाखा, ७ वटा प्रदेश समिति र एक केन्द्रीय समिति रहेकाछन् । चार हजार पाँच सय तीन जुनियर सर्कल, समुदाय र उच्च शिक्षालायमा समेत गरी एक हजार सात सय ५२ युवा सर्कलगरी आठ हजार भन्दबढी निकायहरूमा दुई लाख २४ हजार बैधानिक वयस्क सदस्यहरू उपशाखा तथा जिल्ला शाखामा छन् । र, आठ लाख ५२ हजार जुनियर तथा युवा सदस्यहरू विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध रहेका छन् ।

दिवसकै अवसरमा ७७ वटै जिल्ला शाखा र प्रदेश कार्यसमितिसँगको श्रृंखलाबद्ध अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष डा. नेत्र तिम्सिनाले नेपाल सरकारले अहिले केन्द्रीय तदर्थ समितिलाई दिएको कार्यादेश बमोजिम संस्थालाई थप सुदृढीकरण गर्ने तर्फ प्रतिवद्ध रहेको बताए । 

यसै अवसरमा आयोजित रेडियो परिसंवाद कार्यक्रममा नेरेसोका महामन्त्री पीताम्बर अर्यालले आन्तरिक सशस्त्र संघर्ष, प्राकृतिक विपत्ति वा शान्ति सबै परिस्थितिमा विगत ५८ बर्षदेखि क्रियाशील नेपाल रेडक्रसले धेरै कालखण्ड पूरा गरी अहिलेको अवस्थामा आइपुगेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप