बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

कोरोनाबारे सचेतना जगाउन उपत्यकाका १३ स्थानमा स्वयम्सेवक परिचालन

शनिबार, २० भदौ २०७७, १४ : १३
शनिबार, २० भदौ २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ । 
मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलिएकाले ती स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम गर्न स्वयम्सेवक परिचालन गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

    ती स्थानमा गई स्वयम्सेवकले कोभिड–१९ बाट बच्नका लागि जनसमुदायलाई जनचेतनामूलक कार्यक्रममार्फत आग्रह गर्नेछन् । उपत्यकामा दैनिक सङ्क्रमण बढिरहेकाले मन्त्रालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो । शुक्रबार मात्र ४५४ जनामा सङ्क्रमण देखिएको थियो ।  

    एउटा गाडीमा जनस्वास्थ्यका दुई, स्काउटका दुई र मन्त्रालयका दुई कर्मचारी गई बढी भीड हुने ठाउँमा कोभिड–१९ बाट बच्न र बचाउन जनचेतना जगाउने उनले बताए । कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुरका सबै नगरपालिकामा स्वयम्सेवक परिचालन गरी कोभिड–१९ का बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । 

    उनका अनुसार करीब एक हप्ता स्वयम्सेवकले जनचेतनासम्बन्धी जागरण कार्यक्रम सञ्चालन गरिनेछ । “बढी भीड हुने ठाउँमा स्वयम्सेवक गएर कोभिड–१९ बाट बच्न र बचाउने उपायबारे माइकिङ गर्नेछन्”, उनले बताए, “त्यस्ता ठाउँमा रहेका मानिसलाई मास्क र सानिटाइजर प्रयोग गर्नसमेत सिकाउनेछन् ।” 

    स्वयम्सेवकले जनस्वास्थ्य प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड–१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्नेछन् । मन्त्रालयले स्वयम्सेवक परिचालनका लागि आवश्यक सहयोग र समन्वय काठमाडाैँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप