सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारको उकालो यात्रा, रेकर्ड ब्रेक गर्ने आशमा लगानीकर्ता

आइतबार, ०४ असोज २०७७, १६ : २६
आइतबार, ०४ असोज २०७७

काठमाडौं । पछिल्लो समय सेयर बजारको उछाल कायमै छ । लगानीकर्ताको आत्मविश्वास बढ्दै गएको पछिल्लो बजार अवस्थाले देखाउँछ । कतिपय लगानीकर्ता सेयर बजारले २०७३ को रेकर्ड ब्रेक गर्नसक्ने अनुमान लगाउँछन् । आज (आइतबार असोज ४) बजार १५७५.१८ अंकमा पुगेको छ । ३ अंकले बढेको बजारमा २ अर्ब ७४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अब बजार २०७३ सालकै रेकर्ड तोड्न तर्फ लम्किएको लगानीकर्ता अम्बिका पौडेल बताउँछन् । 

२०७३ साउन १२ गते नेप्से १८८१.४५ अंक छोएर फर्किएपछि सोही विन्दुमा अहिलेसम्म पुग्न सकेको छैन ।  २०७५ फागुन १९ गते न्यून विन्दु ११००.५८ अंकसम्म झरेको सेयर बजार  त्यसपछि बजार घटबढ हुँदै ०७६ फागुन १८ गते नेप्से सूचक १६२०.२७ अंकलाई छोएर फर्कियो । पछिल्लोपटक  असार १५ गते ११७८.१५ विन्दुमा ओर्लेको बजार निरन्तर बढ्दो क्रममा छ ।

लगानीकर्ता पौडेल सेयर बजारमा तत्काल ठुलोगिरावट आउने कारण नभएकाले २०७३ कै हाराहारीमा पुग्न सक्ने अनुमान गर्छन् । उनकाअनुसार अहिले सेयर बजारको आधारभुत अवस्था राम्रो छ ।  तर केही विश्लेषक भने अहिलेको बजार स्वच्छतामै आशंका गर्छन् ।  पुँजी बजारमा यति धेरै संगठनहरु छन जसले बजारलाई प्रतिस्पर्धी हुन रोकेको आरोप छ । उनीहरुले बजारलाई आफ्नो तरिकाले ह्याण्डलिङ गरेको हुनसक्ने एक बिश्लेषक बताउँछन् । उनी भन्छन, ‘हुनत मैले यसो भने उनीहरु मेरो विरुद्धमा जालान तर बजारको बढोत्तरी स्वभाविक छ कि अस्वभाविक छ भन्ने मै शंका देखिएको छ ।’

अर्का विश्लेषक डा.गोपाल भट्ट अहिले लगानीकर्तामा विश्वास देखिएकोले बजार बढेको बताउँछन् । बजार धेरै जसो लगानीकताको मनोविज्ञानमा भर पर्दछ । बैंक तथा वित्तिय संस्थाको बर्चस्व रहेको सेयर बजार हो । 

सेयर बजार बढ्दै जाने आधार 
पछिल्लो समय अनलाइन कारोबारमा मानिसको आकर्षण छ । भलै टिएमएसले प्रभावकारी काम गरिरहेको छैन । यद्यपि, अनलाइन कारोबारले पनि सेयर बजारको उकालो यात्रामा राम्रै मसला थपेको छ ।  अर्कोतर्फ कोरोना माहामारीका कारण भएको लकडाउन र निषेधाज्ञाले झण्डै ५ महिना देशमा आर्थिक गतिविधि शून्य प्राय भयो ।

बैंकबाट कर्जा लिएर व्यवसाय विस्तार गर्न कसेैले हिम्मत गरेनन फलस्वरुप बैंकमा पैसा थुप्रियो । निक्षेप राख्ने घटेनन्, कर्जा लगानीको माग भएन । अहिले बैकिङ क्षेत्रमा २ खर्ब भन्दा बढी तरलता (लगानीयाग्य रकम) छ । बैंकरहरु सेयर कर्जामा सस्तो ब्याजदर लिएर प्रोत्साहन गरिरहेका छन् । 

यस्तै सेयर बजारको उद्योगतिमा सँधै तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडालाई धारे हात लगाउने लगानीकर्ताहरु उनको बर्हिगमनबाट दुःखी छैनन । अहिले उनी मन्त्री पदमा छैनन । यद्यपि पद मन्त्री नभएपनि अर्थमन्त्रीले गर्ने कामको जिम्मेवारी उनलाई नै दिइएको छ । कार्यकारी जस्तो उनले अहिले निभाइरहेको भूमिका नहुने अर्का लगानीकर्ता भन्छन् । 

प्रधानमन्त्रीका बरिष्ठ आर्थिक सल्लाहकार अहिले अर्थमन्त्रीले नै गर्ने काम गरिरहेका छन । यद्यपि बजार घट्दा उनीप्रति धारे हात लगाउनु नै वाहियात भएको एक लगानीकर्ताको तर्क छ ।  अर्कोतफ केही सूचीकृत कम्पनीहरुले गतवर्षको नाफाबाट आफ्ना लगाीकर्तालाई लाभांश दिने घोषणा गरिरहेका छन् । सेयर बजारमा बैकिङ क्षेत्रको हिस्सा ठुलो छ । यता राष्ट्र बैंकले वित्तिय संस्थालाई गत वर्षको बाँकी ऋण असोज मसान्तसम्म उठाएको खण्डमा गत वर्षकै आम्दानीमा गणना हुने व्यवस्था गरेको छ । 

बैंकहरुको लाभांश दिने क्षमता मात्र घटेको छ उनीहरुको नाफा घटेको छैन । तत्काल लगानी गर्ने अरु ठाउँमा लगानीकर्ताले आफ्नो सुरक्षा महसुस गरिरहेका छैनन ।  सेयर बजारको घटबढको विषयमा आ–आफ्नै भनाइ छ । तर, यसको सिद्धान्त छ । माग र आपुर्तिले बजारका मूल्य निर्धारण गर्छ । र, सेयर बजार पनि सोही सिद्धान्त अनुसार घटबढ हुदै जान्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप