सुरु भयो सरकारको सुपथ मूल्य पसल, चाहिएको सामान नपाइएको गुनासो (तस्बिरहरु)
काठमाडौं । हरेक वर्षजस्तै यसवर्ष पनि दशै लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । सरकारले आम सर्वसाधारणलाई थोरै भएपनि बजार भाउ भन्दा सस्तो मूल्यमा सामान बेचेर राहत दिँदै आएको बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमटेडले बजार भाउ भन्दा केही सस्तोमा सुपथ मूल्य पसलबाट सामान पाइने दाबी गर्दै आएको छ । सुपथ मूल्य पसल दशैँ, तिहार र छठसम्म रहनेछ ।
यद्यपि, यस पटक विगत जस्तो चाहिने सामान नभएको र बजार मूल्य भन्दा खासै फरक नभएको सुपथ मूलय पसल पुगेको सर्वसाधारणको गुनासोे छ ।
भक्तपुर सिरुटारका बासुदेब श्रेष्ठ र बालाजुका मिनबहादुर लामा आफूहरु टाढा टाढाबाट सस्तोमा चाहिएको सामान खरिद गर्न पाइन्छ भनेर थापाथली आएपनि त्यस्तो नभएको बताए । चाहिएको सामान नपाएको र बजारभाउ पनि फरक नपरेको उनीहरुको भनाइ छ । लामाले भने, ‘सरकारले जनता झुक्याउने काम गरेको छ । कति टाढा टाढाबाट आएका हामी त्यसै फर्केर जाँदा नरमाइलो भयो । चिनी, प्याज जस्ता सामान नपाइएको उपभोक्ताको गुनासो छ ।’
दशैं, तिहार र छठ पर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका देशभर रहेका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल आज बाट सञ्चालनमा आएका हो ।
सहुलियत पसलमा नून प्रति केजी १८ रुपैयाँ (प्रति परिवार ४ केजीका दरले), चिनी प्रति केजी७० रुपैयाँ (प्रतिपरिवार ४ केजीका दरले) र घ्यूप्रति लिटर ८ सय ७० रुपैयाँमा पाइनेछ ।
चामलमा प्रति किलो ५, खसी,बोका र च्याङ्ग्रामा प्रति किलो १० र दालमा ५ रुपैयाँ छुट दिईनेछ । सिमी र गेडागुडीमा प्रतिकिलो १०, फापरमा ५ र सेतो केराउमा प्रतिकिलो ५ रुपैयाँ सस्तो पर्नेछ ।
तस्बिर : कृष्ण खड्का