आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण डोनल्ड ट्रम्प धेरै नै बिरामी भए के होला ?

शनिबार, १७ असोज २०७७, १४ : १४
शनिबार, १७ असोज २०७७

अमेरिकामा राष्ट्रपति चुनाव आउन केही हप्ता मात्रै बाँकी छ र रिपब्लिकन पार्टीका उम्मेद्वार, वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाभाइरसद्वारा संक्रमित पाइएका छन् ।

अब के होला त ? अहिले यो प्रश्न तेर्सिएको छ । राष्ट्रपति चुनावमा यसको असर कस्तो पर्ला ?

संक्रमणका कारण डोनल्ड ट्रम्प कुन चुनावी सभामा समावेश हुन पाउँदैनन् त ?

ट्रम्पकी एक युवा सहयोगी होप हिक्स कोरोना संक्रमित पाइएपछि १ बिहिबार राष्ट्रपति ट्रम्पको कोभिड स्याम्पल लिइएको थियो ।

उक्त परीक्षणमा उनलाई कोरोना संक्रमण देखियो त्यसपछि उनी कम्तीमा १० दिनका लागि क्वारेन्टिनमा बस्नुपर्ने बताइयो । शनिबार बिहानै उनलाई सावधानीको रुपमा अस्पताल लगिएको जहाँ उनी डाक्टरको निगरानीमा बस्ने खबर प्रकाशित भयो ।

ट्रम्पको निश्चित कार्यक्रममध्ये के कुरा छुट्लान् ?

यदि राष्ट्रपति ट्रम्प १० दिनका लागि क्वारेन्टिनमा बस्नुपर्ने भयो भने उनी अर्को प्रेसिडेन्सियल डिबेट अर्थात् राष्ट्रपति पदको उम्मेद्वारबीच दोस्रो चरणको बहसमा भाग लिन पाउनेछन् जुन १५ अक्टोबरका लागि निश्चित भएको छ ।

शुक्रबार बेलुका अमेरिकाको फ्लोरिडा शहरमा रिपब्लिकन पार्टीको एक चुनावी सभा हुँदैथियो जुन डोनल्ड ट्रम्पलाई कोरोना संक्रमित पाइएपछि रद्द गर्नु परेको थियो ।

ह्वाइट हाउसद्वारा प्रदान गरिएको सूचना अनुसार राष्ट्रपति ट्रम्प त्यतिबेला कोभिड सपोर्ट सेन्टरका मानिसहरुसँग फोनमा कुरा गरिरहेका थिए र उमेर पुगिसकेका मानिसहरुले कस्तो प्रकारको सावधानी अपनाउनुपर्छ भनेर बुझ्ने कोसिस गरिरहेका थिए ।

राष्ट्रपति ट्रम्पको चुनावी अभियान सम्हाल्ने समूहले अबको १० दिनका लागि चुनावी सभालाई कि त रद्द गरिएको कि अर्को मितिका लागि सारिएको जानकारी दिए ।

कुन परिस्थितीमा चुनाव रोकिन सक्छ ?

राष्ट्रपति ट्रम्प क्वारेन्टिनमा जाँदा यसको प्रत्यक्ष असर चुनावी अभियानमा परेको कुरा त स्पष्ट छ । यसले उनको क्षमता कम हुनेछ । त्यसैले चुनाव रोकिएला त भनेर प्रश्न पनि उठिरहेको छ र यो कुन अवस्थामा हुन सक्ला ?

अमेरिकी कानून अनुसार राष्ट्रपति पदको चुनाव हरेक चार वर्ष नोभेम्बर महिनाको पहिलो मंगलबार हुने गर्छ । त्यो हिसाबले सन् २०२० को चुनाव नोभेम्बर ३ मा निश्चित भएको छ ।

 यदि चुनावको मितिमा कुनै परिवर्तन गर्नुपरे यो निर्णय अमेरिकी सांसदले गर्नेछन्, डोनल्ड ट्रम्पले होइन ।

चुनावको मितिमा कुनै पनि परिवर्तनको पक्षमा संसदको दुबै सदनमा स्पष्ट बहुमत हुन आवश्यक छ । अर्थात्, संसदको दुबै सदन यसका लागि राजी हुनुपर्छ र यसको सम्भावना निकै कम देखिएको छ किनभने अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’ मा डेमोक्रेटिक पार्टीको बहुमत छ र उनीहरुले पहिले नै चुनावमा कुनै प्रकारको ढिलाईको प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारिसकेका छन् ।

अमेरिकी संविधानको नियम अनुसार चुनावको मिति परिवर्तन भएपनि यदि अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको मात्रै हुनेछ अर्थात् २० जनवरी २०२१ मा राष्ट्रपति ट्रम्पको कार्यकाल स्वतः समाप्त हुनेछ ।

यो मितिलाई परिवर्तन गर्नका लागि पनि संविधान संशोधनको आवश्यकता हुनेछ । यसलाई दुई तिहाई अमेरिकी सांसद वा राज्य स्तरीय व्यवस्थापिकाद्वारा अनुमोदन गर्नुपर्नेछ । यो पनि असम्भव झैं देखिएको छ ।

यदि अमेरिकी राष्ट्रपति धेरै नै बिरामी भए के होला ?

अहिलेसम्म त राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमणको हल्का लक्षण बताइएको छ तर स्थिती परिवर्तन भए र संक्रमणका कारण उनले आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन् भने अमेरिकी संविधानमा कस्तो व्यवस्था छ ?

 अमेरिकी संविधानको २५ औं संशोधनले अमेरिकाका राष्ट्रपतिलाई उप–राष्ट्रपतिको हातमा सत्ताको कमान सुम्पिने अनुमति दिन्छ ।

यसको अर्थ यो हो कि ट्रम्प यदि धेरै नै बिरामी भए उप–राष्ट्रपति माइक पेन्स अमेरिकाका कार्यवाहक राष्ट्रपति बन्नेछन् र निको भएपछि डोनल्ड ट्रम्प आफ्नो पदमा पुनः फर्कन सक्नेछन् । पूर्व राष्ट्रपति रोनाल्ड रिगन र जर्ज डब्ल्यू बुशको प्रशासनको बेला पनि यस्तै देखिएको थियो ।

यदि राष्ट्रपति अचानक बिरामी भए र उनी सत्ता सुम्पिने स्थितीमा नरहे क्याबिनेट र उप–राष्ट्रपति मिलेर उनलाई असमर्थ घोषित गर्न सक्नेछन् । यो स्थितीमा पनि उप–राष्ट्रपति माइक पेन्सले नै राष्ट्रपति पद सम्हाल्नेछन् ।

तर यदि माइक पेन्समाथि पनि त्यस्तै केही भए ‘राष्ट्रपति पदको उत्तराधिकार अधिनियम’ अनुसार संसदको तल्लो सदनकी अध्यक्ष न्यान्सी पेलोसी, जो एक डेमोक्रेट नेता हुन्, अर्को नम्बरमा हुनेछिन् ।

यद्यपि, अमेरिकी संविधानबारे ज्ञान राख्नेहरुका अनुसार यस्तो प्रकारको सत्ता हस्तान्तरणले असाध्यै धेरै कानूनी झगडालाई निम्तो दिने जसको कल्पना पनि गर्न मुश्किल हुनेछ ।

यदि ट्रम्प असमर्थ भए ब्यालेटमा कसको नाम हुनेछ ?

कारण चाहे जे सुकै होस्, यदि कुनै पार्टीका कुनै पनि उम्मेद्वार राष्ट्रपति पदका लागि छानिएका छन् र उनी चुनावको समयमा असमर्थ भए के गर्ने ? यसका लागि पनि स्पष्ट प्रक्रिया छ ।

त्यस्तो स्थितीमा सुरुमा त उप–राष्ट्रपति माइक पेन्स राष्ट्रपतिको कर्तव्यलाई स्विकार गर्नेछन् तर उनी रिपब्लिकन पार्टीका चुनावी उम्मेद्वार बन्नै पर्छ भन्ने छैन किनभने पार्टीले आधिकारिक रुपमा सुरुमा नै डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदको उम्मेद्वाराको रुपमा उभ्याइसकेको छ ।

पार्टीको नियम अनुसार रिपब्लिकन नेशनल कमेटी (आरएनसी) का १ सय ६८ सदस्यले नयाँ राष्ट्रपति पदको उम्मेद्वार छान्नेछन् जसमा माइक पेन्स सम्भावित उम्मेद्वारमध्ये एक हुनेछन् । कमेटीद्वारा यदि माइक पेन्सलाई नै राष्ट्रपति पदको उम्मेद्वारको रुपमा छानिन्छ भने चुनावका लागि उनका एक साथीलाई पनि छानिनेछ ।

तर यहाँ याद गर्नुपर्ने कुरा के छ भने डेमोक्रेट र रिपब्लिकन पार्टी, दुबैले एकपटक छानिएपछि आफ्ना राष्ट्रपति पदका उम्मद्वारलाई परिवर्तन गर्न पाउनेछैनन् ।

चुनावी विश्लेषकका अनुसार अहिले चुनावका लागि समय छ र यी वैकल्पिक बाटो अपनाउनुपर्ने स्थिती आउने छैन । केही अमेरिकी विश्लेषकलाई विश्वास गर्ने हो भने राष्ट्रपति ट्रम्पको नाम ब्यालेटमा रहनेछ, चाहे जे सुकै होस् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप