आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सस्पेन्सः ट्रम्पले भने, ‘म ठिक छु’; कर्मचारीले भने, ‘लक्षण चिन्ता बढाउने किसिमको’

आइतबार, १८ असोज २०७७, १० : २२
आइतबार, १८ असोज २०७७

तीन दिन अघि कोरोनाद्वारा पोजेटिभ देखिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्यबारे सटिक जानकारी प्राप्त भएको छैन । वास्तवमा शनिबार तीन बयान सार्वजनिक भए । तीनवटामा नै भिन्न–भिन्न कुरा गरियो । ट्रम्पले एक भिडियो जारी गर्दै भने, ‘म ठिक छु ।’ उनको चीफ अफ स्टाफ मार्क मेडोसले भने, ‘राष्ट्रपतिमा जुन लक्षण देखिएको छ, त्यो चिन्ता बढाउने किसिमको छ ।’ यस्तै उनका उपचारमा संलग्न डाक्टर सीन कनलेले भने, ‘राष्ट्रपतिले राम्रो महसुस गरिरहनुभएको छ ।’

ट्रम्पको उपचार मेरिल्याण्डको सैनिक अस्पतालमा चलिरहेको छ जबकी श्रीमती मेलानिया ह्वाइट हाउसमा नै क्वारेन्टिनमा छिन् । छोरी इभांका र ज्वाईं जेरेड कुशनरको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अर्कोतर्फ रिपब्लिकन पार्टीले प्रचारको नयाँ रणनीति तयार गरेको छ । यसका लागि सिनेटर्सको एक समूह बनाइएको छ ।

डाक्टर र एडभाइजरको भिन्न बयानः

शनिबार नै उनका डाक्टरले भने, ‘राष्ट्रपतिको उपचार चलिरहेको छ र उनी निकै राम्रो महसुस गरिरहेका छन् ।’ तर शंका उनका चीफ अफ स्टाफ मार्क मेडोसको बयानले बढायो । मेडोसले भने, ‘अबको दुई दिन निकै महत्वपूर्ण छ । यतिबेला हामीले रोगको गम्भीरताबारे सही जानकारी पाउन सक्नेछौं । हाल, हामी अहिले स्वास्थ्य लाभबारे स्पष्ट रुपमा केही पनि भन्न सक्दैनौं । ’

बयान विरोधाभास छ त्यसैले सायद राष्ट्रपति आफैंले बयान जारी गर्दै भने, ‘म ठिक छु ।’

बयानले भ्रम बढायोः

जुन प्रकारको बयान आइरहेका छन्, त्यसले भ्रम सृजना गरेको छ । बुझ्न मुश्किल छ कि वास्तवमा ट्रम्प कस्तो स्थितीमा छन् । अर्को एउटा कुरा सार्वजनिक भएको छ । वाल्टर रिड अस्पतालका डाक्टरले मिडियालाई राष्ट्रपतिसँग जोडिएका खासै जानकारी दिन मानेनन् । केही खबरका अनुसार ट्रम्प पहिलेदेखि नै बिरामी थिए र यसको सही जानकारी आधिकारिक रुपमा दिइएन ।

ह्वाइट हाउससँग जोडिएका दुई स्रोतका अनुसार ट्रम्पलाई शुक्रबार बिहानैदेखि सास फेर्न समस्या भइरहेको थियो । उनको अक्सिजनको स्तर पनि कम थियो । ह्वाइट हाउसमा नै उनलाई अक्सिजन दिइएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको हो । डाक्टर कोनलेले यो कुरा अस्विकार गरेका छन् । उनका अनुसार राष्ट्रपतिलाई छुट्टै अक्सिजनको आवश्यकता छैन । प्रश्न त यहाँ पनि उठिरहेको छ कि ट्रम्प बुधबार संक्रमित भए वा बिहिबार ? बुधबार र बिहिबार त उनी थुप्रै कार्यक्रममा समावेश पनि भएका थिए ।

राष्ट्रपति हुन्, त्यसैले अस्पतालमाः

शनिबार ट्रम्पका नीजि डाक्टरले भने, ‘राष्ट्रपति पूर्ण रुपमा ठिक छन् । उपचारको असर भइरहेको छ । हाम्रो समूह खुसी छौं । अबको २४ घण्टाको उनको ज्वरो पनि कम हुनेछ । रक्त चाप र मुटुको गति पनि साधारण हुनेछन् ।’  त्यसपछि कोनलेलाई सोधियो, ‘यदि सबै कुरा ठिक थियो त ट्रम्पलाई अस्पतालमा राख्न किन आवश्यक पर्यो ?’ यसको जवाफमा उनले भने, ‘किनभने उनी अमेरिकाका राष्ट्रपति हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप