सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिका लागि ४० लाखले मतदान गरे

मङ्गलबार, २० असोज २०७७, २३ : ३७
मङ्गलबार, २० असोज २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपतिको चुनावको मिति आउन एक महिना बाँकी रहँदै हुलाक मार्फत् ४० लाखभन्दा बढीले मतदान गरिसकेका छन् । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बर ३ तारिखमा मतदान हुँदैछ ।  अमेरिकी निर्वाचन परियोजनाका अनुसार सन् २०१६ को भन्दा यो संख्या ७५ हजारभन्दा बढी हो ।  कोरानाभाइरस महामारीको अवस्थामा हुलाकबाट मतदान गर्नु सुरक्षित ठान्ने ठूलो संख्याका मतदाताहरुले चुनावको मितिभन्दा अघि नै मतदान गरेका हुन् । अमेरिकाका कैयौं राज्यले यसपटक हुलाक मार्फत मतदान गर्न अनुमति दिएका थिए । 

फ्लोरिडा विश्वविद्यालयका माइकल म्याकडोनाल्डले अमेरिकामा चुनावको मिति अघि नै यति ठूलो संख्यामा मतदान भएको पहिलो पटक देखिएको बताए । उनले मतदान गर्नुअघि नै उम्मेदवारका बारेमा निर्णय गरिसक्ने र यसपटक पनि राष्ट्रपति ट्रम्प र विपक्षी जो बाइडेनका बारेमा निर्णय गरिसकेको बताए ।  उनले यसपटकको चुनावमा करिब १५ करोड अर्थात् करिब ६५ प्रतिशत अमेरिकीले मतदान गर्ने पूर्वानुमान गरे । सन् १९०८ यता यो सबैभन्दा ठूलो संख्या हुनेछ ।

अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेन उम्मेदवार रहेका छन् । पछिल्लो जनमत सर्वेक्षणहरुले बाइडेनको पक्षमा केही झुकाव देखाए पनि दुबै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन् । 

अमेरिकी निर्वाचन आयोगकाअनुसार मतदान स्थलमा गएर मतदान गर्ने अमेरिकीहरुको संख्यामा निरन्तर कमी आइरहेको छ । बरु हुलाकमार्फत हुने मतदाताको संख्या निरन्तर बढ्दै गएको छ । सन् २००४ मा करिब २ करोड ५० लाख मतदाताले हुलाक मार्फत मतदान गरेकामा सन् २०१६ मा ५ करोड ७० लाखले यस्तो मतदानमा भाग लिएको आयोगको भनाई छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाकमार्फत हुने मतदानबाट धाँधलीको सम्भावना बढी हुने आरोप लगाएका छन् । तर विज्ञहरुले ट्रम्पको आशंका विश्वासयोग्य नरहेको दाबी गरेका छन् ।  राष्ट्रपति निर्वाचनमा निकै प्रभाव पार्ने फ्लोरिडा राज्यमा डेमोक्रेट समर्थक २४ लाख मतदाताले हुलाक मार्फत मतदान गर्न फारम भरेका छन् भने २ लाख ८२ हजारले मतपत्र पठाइसकेका छन् । रिपब्लीकनले भने १७ लाख मतपत्र अनुरोध गरेकामा १ लाख ४५ हजारले मतपत्र हुलाकमा बुझाइ सकेका छन् । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप