सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

बुधबार, २१ असोज २०७७, १३ : १२
बुधबार, २१ असोज २०७७

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताए । संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो जोखिम निम्तिने उनले बताए । उनले भने, ‘‘अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गएपनि काठमाडौं उपत्यका उच्च जोखिममा छ ।

आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामै रहेको छ । नियन्त्रण उन्मुख रहेको छैन सतर्कता अपनाउनुपर्ने जरुरी रहेको छ । ४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले ठूलो जोखिममा पु¥याउनसक्छ । आफुले सेवा दिँदा वा लिँदा व्यवसाय गर्दा, यातायातमा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनका लागि आग्रह गर्दछु ।’’

उनले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै दशैं तिहार जस्ता पर्व मनाउन पनि आग्रह गरे । आफु स्वस्थ रहे फेरि पनि चाडबाड मनाउन सकिने भएको उल्लेख गर्दै उनले काठमाडौंबाट गाउँ जाने र गाउँबाट काठमाडौं आउने गर्दा कोरोनको जोखिम पनि बढ्दै जाने बताए । उनले भने, ‘‘६० मुनिकाको संक्रमण दर र मृत्यु दर पनि तुलनात्मक रुपमा कम रहेको छ । ६० वर्षमाथिको बढिरहेको छ । ओहोरदोहोर गर्दा आउने जोखिमलाई कम गर्न ध्यानमा राखौँ । आर्शिवाद बचाउँ ।’’

सरकारले सुरक्षासम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । लोकसेवा आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षण सञ्चलन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उनले बताए । यस्तै व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ । तालिममा २५ जनाभन्दा बढी सहभागिता नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ ।

यस्तै विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७÷०७८ का लागि अधिकृतस्तरका ५ जना कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको उन बताए । यस्तै शिक्षक सेवा आयोगको अध्यक्ष र एकजना महिला सहित अन्य दुई जना सदस्यहरुको नियुक्तिको लागि सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालमा कार्यरत सहसचिवमा डा.योगेन्द्रकुमार कर्की र कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एग्रि.इको.एण्ड मार्केटिङ समूहका वरिष्ठ कृषि अर्थविज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप