गजल
किन आयो लुटिनकै लागि जवानी यो!
शनिबार, २४ असोज २०७७, ०९ : ०६
गर्भमा नै तुहाइयो सपना जानीजानी यो!
लेख्न नपाई सकिएको दु:खी कहानी यो!
कोपिला मै चिमोट्छ फक्रिएमा निमोठ्छ,
यति धेरै असुरक्षित भयो राजधानी यो!
पैसा,सुन,हिरा,मोति बिना पनि म लुटिएँ !
किन आयो लुटिनकै लागि जवानी यो!
सके दया गरिदिनोस् यति लाज राखिदिनोस्,
नांगिएर के गरी काटौँ खै जिन्दगानी यो!
न्यायको ढोका लगाइ समाचार लेख्नुहुन्छ,
हजुर कहिलेसम्म चलिरहन्छ बेइमानी यो!
लुट्पाट, बलात्कार, हत्या, बेइज्जत आदि,
कहिले पो टुङ्गिन्छ होला र कुराकानी यो!