आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण बिरामी भएका डोनल्ड ट्रम्पमाथि अब किन उठ्दैछन् विभिन्न प्रश्न ?

आइतबार, २५ असोज २०७७, १२ : ३५
आइतबार, २५ असोज २०७७

अमेरिकामा अर्को महिना राष्ट्रपति चुनाव छ र यसअघि वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाका कारण बिरामी हुनु, महत्वपूर्ण मुद्दा बनेको छ । ट्रम्प अस्पतालबाट डिस्चार्ज भएर ह्वाइट हाउस फर्किसकेका छन् तर ट्रम्पको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आए नआएको कुनै जानकारी प्राप्त भएको छैन । यसैकारण ट्रम्पका विषयमा प्रश्न उठ्न थालेका छन् ।

शनिबार ट्रम्पका डाक्टरले एक बयान जारी गर्दै ट्रम्पबाट अन्य मानिसहरुलाई भाइरस फैलने खतरा नभएको बताएका थिए । यद्यपि, उनले ट्रम्पको रिपोर्ट नेगेटिभ आए नआएको कुनै जानकारी दिएनन् । अर्कोतर्फ ट्रम्पले पनि उनले अब कोरोनाको औषधी लिन बन्द गरेको घोषणा गरे, यसमाथि पनि प्रश्न उठिरहेका छन् ।

डेली मेलको रिपोर्ट अनुसार शनिबार सार्वजनिक भएको तस्बिरमा ट्रम्पको हातमा नयाँ ब्यान्डेज लगाइएको देखिएको छ जसले उनले अहिले पनि औषधी लिइरहेको जानकारी दिएको छ । स्वास्थ्य विज्ञका अनुसार जहाँ ब्यान्डेज लगाइएको छ त्यो स्थान साधारणतया आइवी फ्लूड दिनका लागि र अपवादको रुपमा रगतको नमूना संकलनका लागि प्रयोग हुने गर्छ ।

ट्रम्प कोरोनाबाट निको भइसकेपछि पनि विशेषज्ञले प्रश्न उठाइरहेका थिए किनभने राष्ट्रपतिको तर्फबाट पूरा जानकारी दिइएको थिएन । अमेरिकी मिडिया र विशेषज्ञले ट्रम्प पहिलो पटक कहिले संक्रमित देखिएका थिए भनेर प्रश्न उठाइरहेका छन् । यस्तै ट्रम्पलाई कोरोनाको संक्रमण कत्तिको रह्यो ? वास्वतमा अस्पतालमा भर्ना भइरहेका बेला ह्वाइट हाउसका अधिकारीले ट्रम्पको महत्वपूर्ण अंगको स्थिती चिन्ताजनक भएको बताएका थिए । पछि यो बयान खारेज गरिएको थियो ।

यस्तै, अमेरिकाको प्रमुख स्वास्थ्य संस्था सिडिसीले कोरोनाबाट गम्भीर बिरामी भएका मानिसहरु २० दिनसम्म आइसोलेट बस्नुपर्ने बताएको छ । यता ट्रम्प कोरोनाद्वारा संक्रमित भएको १० दिनमात्रै भएको छ । साउथ क्यारोलिनामा संक्रामक रोगका डाक्टर क्रुतिका कुप्पली भन्छिन्, ‘मलाई लाग्दैन कि ट्रम्प अहिले नै पूर्ण रुपमा खतराबाट बाहिर छन् । ७४ वर्ष र अत्यधिक तौलका कारण उनी कोरोनाको जोखिम श्रेणीमा पर्छन् ।’

स्मरण रहोस्, ट्रम्प सोमबार एक चुनावी सभालाई सम्बोधन गर्ने तयारीमा छन् । यो कार्यक्रममार्फत् अन्य मानिसहरुलाई पनि कोरोना संक्रमणले गाँज्ने हो कि भन्ने चिन्ता छ । ट्रम्पको डाक्टरको बयानाको अर्थ यो हो कि उनको शरीरमा भाइरसको मात्रा घटिरहेको छ, तर उनी पूर्ण रुपमा कोरोना नेगेटिभ भएका भने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप