मिडियामा कृषिका समाचारको स्थान बढाउन विज्ञहरुको सुझाव
काठमाडौं । सञ्चार माध्यममा कृषिका समाचारको स्थान बढाउँदै लैजानु पर्ने सरोकारवालाहरूले बताएका छन् । ४० औं विश्व खाद्य दिवसको अवसरमा शनिवार आयोजना गरिएको कृषि सञ्चार र खाद्य सवाल कार्यक्रममा सरोकारवालाहरूले सो कुरा बताएका हुन् ।
कृषि विभाग र खाद्यका लागि कृषि अभियानले शनिवार आयोजना तथा एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले संयोजन गरेको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले कृषिमा पत्रकारहरुको आकर्षण बढाउनुपर्ने र कृषिका समाचारलाई स्थान दिनुपर्ने कुरामा जोड दिएका थिए । पहिलेको तुलनामा सञ्चार माध्यममा अहिले कृषिलाई स्थान दिन थालेको वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीले बताए ।
उनले भने, ‘पहिले पहिले कृषिका विषय त्यति उठ्दैन थिए, अहिले उठ्न थालेका छन् ।’ उनकाअनुसार २०१५ मा गोरखापत्रको सप्लिमेन्ट आर्थिक नेपाल म्यागजिनले पहिलो पटक कृषिको विषयलाई उठाएको थियो ।’
२०२२ सालमा रेडियोले कृषिलाई प्राथमिकता दिएपछि कृषि पत्रकारिताको आधाभूत स्तम्भ तयार भएको बताउँदै उनले २०४८ सालमा नेपाल टेलिभिजनले पनि स्लट नै छुट्याएर कृषि कार्यक्रमलाई ठाउँ दिएको बताए ।
निजी क्षेत्रका अखबारहरू आएपछि भने कृषिले राम्रो स्थाान पाउन थालेको उनले बताए । ‘त्यतिखेर एउटा पत्रिकामा व्यवसायिक केरा खेतीको बारेमा समाचार आएको थियो त्यसपछि मान्छेलाई केरा खेती गर्ने कुरा पनि समाचार बन्दो रहेछ भन्ने लागेको थियो,’ उनले आफ्नो अनुभव सुनाए । पत्रकारहरूले परम्परागत सूचना स्रोतमा नलागि नवीन स्रोतको खोजी गरी समाचार लेख्न उनले आग्रह गरे ।
मन्त्रालयलको तथ्यांकको मात्र समाचार नलेखी अहिले युवाहरूले गरेको कृषि प्रणालीको विषयमा समाचार लेख्नु पर्ने सुझाव दिदै उनले पछिल्लो समय सञ्चार माध्यमले कृषिलाई दिएको स्थान बढाउँदै लैजानु पर्ने धारणा राखे ।
हलोखबरका सञ्चालक मनोज श्रेष्ठले अहिले कृषकहरू प्रविधि मैत्री बनेको बताए । ‘पहिले जस्तो किसानलाई मल कहाँ किन्ने, बीउ कहाँ पाइन्छ भन्ने चिन्ता छैन । किसानहरू आफैले पेज बनाएका छन्, त्यहाँ आफूलाई चाहेको सामान बारे सोध्छन् । र त्यहीबाट बजार पनि लिएका छन्,’ उनले भने ।
समुदायको वर्गीकरण नै खानेकुराबाट भएकोले रैथाने बाली जोगाइराख्नु अहिलेको आवश्यकता भएको रैथाने बाली विज्ञ केदार शर्माले बताए । पूर्वदेखी पश्चिमसम्म पाइने रैथाने बालीका विषयमा सञ्चारमाध्यममा स्थान दिन उहाँले आग्रह गरे । ‘हाम्रोमा ठाउँ पिच्छे खानेकुरामा विविधता छ, यसको प्रचार प्रसारमा मिडियाको पनि भूमिका हुन्छ,’ उनले भने ।
अहिलेको कृषिको निकायलाई नवीनता दिनुपर्ने कृषि विज्ञ कृष्ण पौडेलले बताए । ‘कृषि प्रसार, कृषि विश्व विद्यालय अहिले काम लगाग्ने भएका छन्, यसलाई नवीनता दिनुपर्छ,’ उनले भने । ‘कृषि पढेका विद्यार्थीको कृषिमा भन्दा पनि जागिर खानमा बढी ध्यान गएको छ, त्यसैले कृषि विश्व विद्यालयको कुनै काम छैन ।