रौतहटमा अवैध काठ र गाँजासहित २ जना पक्राउ
रौतहट । रौतहटमा प्रहरी गस्ती टोलीले छुट्टाछुट्टै स्थानबाट अवैध काठ सहितको ट्याक्टर र लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडाले लागुऔषध गाँजा सहितको एक व्यक्तिलाई पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय बिजयपुरको टोलीले अबैध सालको काठ ल्याइरहेको ट्याक्टरसहित १ जनालाई पक्राउ गरेको हो । गाँजासहित पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेढवा खोरटोलका तपसी दशको छोरा २२ वर्षीय सञ्जय दास रहेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीबाट ५०० ग्राम गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सञ्जयलाई लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरि जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गराई अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रवि रावलले जानकारी दिए । सञ्जयलाई गत मंगलबार दिउँसो भसेढवाबाट कटहरिया बजारतर्फ जानेक्रममा प्रहरी टोली चेकजाँच गर्दा पक्राउ गरेको थियो ।
उता ईलाका प्रहरी कार्यालय बिजयपुरको टोलीले आज बिहान अबैध सालको चिरान काठ सहितको ट्याक्टर बरामद गरेको छ । प्रहरी टोलीले फतुवा विजजयपुर नगरपालिका १० हिमालीबासस्थित मुख्य सडकमा चेकजाँचको क्रममा ना ६ त ८०५१ नम्बरको ट्याक्टरबाट ३३ थान सालको चिरान काठ बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
अवैध काठसहित गढिमाई नपा ६ का ट्याक्टर चालक रुपेश यादव पक्राउ परेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बरामद ट्याक्टर र काठसहित चालकलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाइने प्रहरीले जनाएको छ ।