मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तिहारलाई २० करोडको झिलिमिली बत्ती आइपुग्यो, मूल्य नबढ्ने

आइतबार, १६ कात्तिक २०७७, १५ : ३९
आइतबार, १६ कात्तिक २०७७

विगतका वर्षहरुमा जस्तो यस पटकको तिहारमा झिलिमिली बत्तीको आयात  कम हुने देखिएको छ ।  तिहार आउन झण्डै दुई साता बाँकी हुँदा झिलिमिलि बत्तीको आयातमा व्यवसायीहरु उदासिन देखिएका छन् । 
तिहार भन्ने बित्तिकै झिलिमिलीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यस पटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसायीहरु नयाँ विद्युतीय झिलिमिली बत्ति आयात धेरै  नगर्ने मनस्थितिमा पुगेका हुन् । 

यसवर्षका लागि हालसम्म झण्डै २० करोड रुपैयाँ बराबरको मात्र तिहार लक्षित विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघको अनुमान छ । महासंघमा आवद्ध नभएका व्यवसायीहरुले पनि थोरै आयात गरेको बुझिएको छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले गत वर्षको भन्दा यसवर्ष ४० प्रतिशत कम विद्युतीय बत्ती आयात भएको बताए । 

 यस वर्षको तिहार लक्षित बत्ती करिब २० करोड रुपैयाँ जतिको आयात भएको पौड्यालले बताए । गत वर्ष झण्डै ४० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको थियो । महासंघका अनुसार आयात गर्नुपर्ने बत्ती लगभग आयात भइसकेको छ । केही आउनेक्रममै बाटोमा रहेको छ । 

यता महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका व्यवसायी रेशम प्रसाद देवकोटाले कतिपय गत वर्षकै स्टक बत्ती पनि यस पटकको तिहारमा बिक्री गरिने बताए ।  उनका अनुसार विद्युतीय बत्तीको व्यापार यसपटक खुम्चिएकाले व्यवसायीहरुको दोधारमा रहेका छन्  । सामान बिक्री हुने÷ नहुने अनिश्चितता बढेपछि व्यवसायीहरुले थप बत्ती आयात गर्ने अवस्थामा नरहेको उनले बताए ।  ‘यो भन्दैमा आयात शून्य मै भने झरेको छैन । गत वर्षको भन्दा निकै कम मात्र आयात भएको छ’, उनले बताए । 

एकातर्फ केरुङ नाकामा महिनौँ दिनदेखि सामान अड्किएर बसेको छ भने अर्कोतर्फ व्यवसायीसँग नयाँ सामान खरिद गर्ने रकम नभएपछि तिहारमा बत्ती कम आयात भएको व्यवासायीहरु बताउँछन् । 
पहिला पहिला माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली बन्थ्यो । तर, यी सामाग्रीमा भन्दा रङ्गीचङ्गी विद्युतीय बत्तीमा आकर्षण रहेको र लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिसहरु आकर्षित भएको देखिन्छ ।

 तिहारमा मात्र होइन अन्य समयमा पनि होटल, रिसोर्ट, शहर बजारका व्यापारिक केन्द्र रङ्गीचङ्गी विद्युतीय बत्तीमा सजिन्छन् । बढ्दो देखासिकीले पनि शहर बजारतिर तिहारमा  विद्युतीय झिलिमिली बत्ती नबलेका घरहरु कमै हुन्छन् । 

विद्युतीय बत्तिको मूल्य नबढ्ने
तिहार लक्षित विद्युतीय बत्तीको मूल्य यस पटक नबढ्ने भएको छ ।  महासंघका अनुसार गत साल नै बत्तीको मूल्य कायम गरिएको थियो र साेही मूल्य यसवर्ष पनि कायम गरिएको छ । गत वर्ष दियो २० वटाको मूल्य बढीमा २०० रुपैयाँसम्म कायम थियो । 

स्ट्रिप लाइट, पाइप लाइट, नेट झालर, दियो, लक्ष्मी गणेशको बल्ने मूर्ति, फोटो लगायतको माग तिहारमा अत्यधिक हुने गर्छ ।  लक्ष्मी, गणेश लगायत देवताको बल्ने सानो फोटोको मूल्य ३ सय र ठूलो साइजको ११ सय रुपैयाँसम्म छ । । विद्युतीय बत्तीको माग यसै समयमा हुने भएकाले केही व्यवसायीहरुले चर्को मूल्य समेत लिएर बेच्ने गरेको गुनासाे आउने गरेका छन् । यसतर्फ भने सरकारको अनुगमन प्रभावकारी हुनुपर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप