सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्डका कारण अहिलेको अवस्था आयोः ईश्वर पोखरेल

सोमबार, १७ कात्तिक २०७७, १९ : ०१
सोमबार, १७ कात्तिक २०७७

काठमाडौं । नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्माओलीसँग एक खालको सहमति गर्ने अनि खुमलटार र भैसेपाटीमा गुटको भेला गरेर सहमति विपरित अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताए । सोमबार साँझ न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृत्तिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताए ।

उनले भने– ‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुहुन्छ, प्रधानमन्त्री केपी शर्माओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छन्, अनि काउन्टर रणनीति के बन्छ भन्दा समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ । अनि समस्या त खडा हुनेभयो । गर्नु के पथ्र्यो भने दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ–आफ्ना विश्वासिला साथीहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरा गरे भइहाल्छ । अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेशनसम्म पुर्याउने कुरा गरे त हुन्थ्यो । त्यो नगर्ने वित्तिकै बिग्रेको हो ।’

पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्ने पनि उनले बताए । पार्टी एकता गर्दाखेरीको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले बताए ।

उनले भने– ‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्यो, त्यो आधारमा टेक्नुपर्यो, त्यहाँ टेकेर अगाडी बढ्नुपर्यो । यदि सकारात्मक निष्कर्षमा पुर्याउने, दुर्घटना हुनबाट बचाउने हो भने योभन्दा अर्को कुनै विकल्प हुँदैन । यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने र अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुःखद परिणाम हुन्छ ।’

अहिले पनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्रीसमक्ष दवाव सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए । उनले भने– ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरु–अरु साथीहरुसित सल्लाह गर्दै समिकरण बनाउने र त्यो समीकरणको बलमा यता दवाव सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन् । त्यो उचित हुँदैन । त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पुर्याउँछ ।’

नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्ने बाहेक केहीपनि काम गर्न नसकेको समेत बताए । यस्तै पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनैपनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप