मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मनायो रजत जयन्ती

सोमबार, १७ कात्तिक २०७७, २० : ४८
सोमबार, १७ कात्तिक २०७७

कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती मनाएको छ ।
कैलालीको लम्कीमा प्रधानकार्यालय रहेको संस्थाले सोमबार रजत जयन्ती मनाएको  हो । संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर शाहको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले न्यून आय भएका व्यक्तिको आर्थिक सहयात्री बन्न सफल भएकोमा किसान सहकारीलाई बधाइ दिए ।
उनले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरुबाट लक्षित वर्ग लाभान्वित भइरहेको बताए ।

समारोहमा सहकारीले संस्थापक अध्यक्ष इन्द्रकुमार शाहलाई २५ तोला चाँदीको सिक्काद्वारा सम्मान गरेको छ । त्यस्तै सहकारीले समाजमा उत्कृष्ट काम गर्दै आएका अन्य तीन जनालाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा परोपकारमा संलग्न सहारा घरका सञ्चालक बलबहादुर बिष्ट, कृषि कार्यमा संलग्न नविन जोशी र युवा अभियन्ता केपी खनाल छन । तीनै जनालाई जनही ११ हजार नगदसहित सम्मान गरिएको छ ।

सहकारीले रजतजयन्तीको अवसर पारेर आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कृत गरेको छ । ‘महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयक जिल्लाब्यापी खुल्ला निबन्ध प्रतियोगितामा प्रथम भएका कुबेर तिमिल्सेनालाई १५ हजार, द्वितीय भएकी पूजा शाहलाई १० र तृतीय हुन सफल दीक्षा तिमिल्सिनालाई ५ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

त्यस्तै ‘कोभिड–१९ को विषम परिस्थितिमा सेवाप्रवाह एवं व्यावसायिक सफलताका लागि कर्मचारीको भूमिका’ विषयक अन्तरशाखास्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल लम्की शाखाका अमरराज भण्डारी, द्वितीय टीकापुर शाखाका रिता बजगाईले, तृतीय फूलबारी शाखाका अर्जुन रिमालका साथै सुखड शाखाका दीपेन्द्र बटालालाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । उनीहरुले क्रमशः १०, ७, ५ र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
२०५२ सालमा एक शाखा, एक कर्मचारी, २७ जना शेयर सदस्य र ३६ हजार ६ सय शेयर पूँजी रहेको सहकारीले २५ वर्ष भित्रै कैलालीका अधिकांश गाउँमा सेवा विस्तार गरेको छ । सो सहकारीको अहिले जिल्लाभर २१ शाखा, एक कृषि फर्म, एक रासायनिक मल बिक्री केन्द्र र एक माटो परीक्षण प्रयोगशाला छ ।

सहकारीले रजतजयन्ती समारोहकै अवसरमा माटो परीक्षण प्रयोगशालासमेत उद्घाटन गरेको छ । प्रमुख अतिथि मेयर बजगाईले प्रयोगशालाको उद्घाटन गरेका हुन् ।
सहकारीमा अहिले १७८ कर्मचारी, ५५ हजार ४०७ शेयर सदस्य र १२ करोड ३९ लाख शेयर पूँजी छ । सहकारीले आव २०७६÷०७७ मा ८ करोड ८५ लाख खुद मुनाफा गरेको छ भने २ अर्ब ७७ करोड ८२ लाख ६ हजार ९४० रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले बैकिङ कारोबारका साथै शेयर सदस्यहरुलाई निःशुल्क कृषि परामर्शसमेत दिने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप