आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज

शुक्रबार, २१ कात्तिक २०७७, १६ : ३६
शुक्रबार, २१ कात्तिक २०७७

वासिङटन । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।

पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहेका छन् । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल भएका छन् । मतगणना तत्काल रोक्न माग गर्दै उनले संघीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाएका छन् । बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उनका समर्थकहरूले मतगणना रोक्ने माग गरेका थिएनन् ।

ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिएका हुन् ।उनले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ ।  

जोर्जिआमा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर भएको थियो । मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मत गन्तीको प्रकृयामा पहुँचको माग गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ । राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए ।

ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का भएको छ ।  राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा पनि धाँधली भएको भन्दै उजुरी दर्ता गरेको छ ।

शुक्रबार दर्ता गरिएको उजुरी ट्रम्पको तर्फबाट अन्य राज्यमा दर्ता गरिएको जस्तै रहेको समाचारमा जनाइएको छ । प्रमाण नदिइएको सो मु्द्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमिता र ३,००० भन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ ।

अमेरिकामा अहिले मतगणना भइरहेका पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन् ।पेन्सिल्भेनियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुईवटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनेछन् । ट्रम्पले जित्नका लागि भने पेन्सिल्भेनियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नैपर्ने हुन्छ ।

यसअघि ट्रम्पको अग्रता पेन्सिल्भेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जिआमा पनि उस्तै स्थिति देखा परिरहेको छ ।अमेरिकामा अहिले मतगणना र मुद्धामामिला भइरहेका बेला दुवै उम्मेदवारले विभिन्न प्रतिक्रिया दिएका छन् ।  

प्रतिस्पर्धामा रहेका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गर्दै आएका छन् भने अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले संयमित हुन सवैलाई आह्वान गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपछि उनका समर्थक र विपक्षी दुवै पक्षले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत पहिलोपटक राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाकमार्फत गरिएको मतदान एकतर्फी भएको दावी गरेका थिए । उनले भनेका छन्, “यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु । यहाँ धेरै अवैध मतदान भएको छ ।” मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिए ।

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए । अन्तिम नतिजा आउनै लाग्दा उनले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उनको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् ।  

अर्का प्रतिस्पर्धी बाइडेनले भने विरोध प्रदर्शनमा उत्रिएका तथा त्रसित र उत्तेजित भएकाहरुलाई संयमता अपनाउन आह्वान गरेका छन् । “लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ,” उनले भने, “तर प्रक्रियाले काम गरिरहेको छ ।” प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, “अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । त्यसलाई मानिसहरुले कसरी व्यक्त गरेका छन भन्ने हेरौँ ।”

मतगणना सकेपछि आफू र आफ्नो समूहकी उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस विजयी हुने कुरामा “कुनै शङ्का नरहेको” पनि बाइडेनले बताएका छन् । त्यसबाहेक अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । त्यसको गणनाका लागि समय लाग्ने भएकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

हुलाकबाट आएको मत गणनापछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने छ । तर हुलाकबाट आएको मतले भने नतिजालाई उल्ट्याउने संभावना कम हुने गरेको छ । नेपाली समयअनुसार मंगलबार राती अबेरसम्म भएको मतदान सकिएपछि बुधबार बिहानदेखि मत गणना शुरु भई परिणाम सार्वजनिक हुन थालेको हो ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ । अमेरिकामा हरेक चार–चार वर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ। त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप