बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

बिम्ब र प्रतीकको आँखीझ्यालबाट बाछिटाको द‍ृश्यावलोकन

शनिबार, २२ कात्तिक २०७७, ०९ : ०७
शनिबार, २२ कात्तिक २०७७

 -  भरत सिग्देल

पृष्ठभूमि :

साहित्यकारद्वय अमर त्यागी र खगेन्द्र बस्यालद्वारा प्रवर्तित बाछिटाका पाँच आधारभूत मान्यता छन् ।

(क) तीन पंक्तिमा सङ्गठित तीन- पाँच -तीन लेख्य अक्षर संरचना

(ख) तीन पंक्तिबीच अर्थगत सामन्जस्यता : विषयवस्तुको उठान,विस्तार र पुष्टि

(ग) सर्वमान्य व्याकरणिक अक्षर संरचनाको प्रयोग

(घ) प्रतीकात्मकता

(ङ) प्रकृतिपरक बिम्ब वा झलक (भावनाको तीव्रता र अनुभूतिको तिक्ष्णता प्रतीकात्मक र मार्मिक रूपमा आएमा प्रकृतिको बिम्ब वा झलक अनिवार्य नभएको )

यो संक्षिप्त समीक्षात्मक आलेखमा नेपाली साहित्यको तलाउमा खस्दै गरेका बाछिटाका केही थोपाहरूलाई प्रस्तुत चौथो र पाँचौ मान्यताको आँखीझ्यालबाट नियाल्ने कोसिस गरिएको छ।

 बिम्ब र प्रतीक :

श्रव्य,द‍ृश्य,स्वाद,स्पर्श र घ्राणका माध्यमबाट ईन्द्रीयहरूले गर्ने अनुभूतिलाई शब्द मार्फत अभिव्यक्त गर्दा  मानसपटलमा तयार हुने अमूर्त आकृति वा छवि नै बिम्ब हो भने कुनै वस्तु,विषय वा घटनाको उस्तै गुण भएका अन्य कुनै वस्तु,चित्र,शब्द,ध्वनि वा चिन्हको कल्पना गरी प्रयुक्त प्रतिबिम्ब नै प्रतीक हो। उदाहरणका निम्ति `ठेट्ना´ शब्द देख्दा पाठक मानसपटलमा हाँडीमा भुट्दा फूल नउठेको मकैको आकृति बन्दछ। यसरी शब्दले बनाउने मानसिक चित्र नै बिम्ब हो। यदि त्यही `ठेट्ना´ शब्द सुझबुझपूर्ण निर्णय वा व्यवहार गर्न नजान्ने अपरिपक्व व्यक्तिको विशेषता जनाउनको निम्ति प्रयोग गरिन्छ भने त्यहाँ `ठेट्ना´ अपरिपक्व व्यक्तिको प्रतीक बनेर आएको हुन्छ। यसलाई अझै सजिलोसँग बुझ्नका निम्ति तलका दुईवटा वाक्य हेरौं ।

(क) दाँत बलिया हुँदा एक घान ठेट्ना मकै त गोरुले पराल चपाए झैँ चपाइन्थ्यो।

(ख) उरन्ठेउला ठेट्नाहरूका मतिमा लाग्नाले कुकुरले नपाएको दुख पाइयो।

पहिलो वाक्य पढ्दा हाम्रो मानसपटलमा ठेट्नाको चित्र बन्छ। त्यसैले यहाँ ठेट्नाको बिम्ब छ। दोस्रो वाक्य पढ्दा हाम्रो मानसपटलमा ठेट्ना मकैको आकृति बन्नुका साथै उरन्ठेउलाहरूको गुण र ठेट्नाको गुणबीच समानता वा सादृश्यता अनुभूत हुन्छ। त्यसैले, यहाँ ठेट्ना बिम्ब भैकन प्रतीकको रूपमा समेत आएको छ।

बाछिटामा बिम्ब र प्रतीकको प्रयोग :

माथि पृष्ठभूमिमा उल्लेख गरिसकिएको छ कि बिम्ब र प्रतीक बाछिटाका आधारभूत तत्व हुन् । प्रतीकत्मकता सहितको प्रकृतिपरक बिम्ब वा झलक सशक्त बाछिटाको कुञ्जी हो। जस्तैः

पुर्खाको
गाथामा आभा
खुर्पाको

यहाँ `आभा´शब्दको प्रयोगले प्रकृतिको झलक दिएको छ। प्रस्तुत बाछिटा नजरमा पर्नासाथ पाठक मानसपटलमा सूर्यको प्रकाशमा टिलिक्क भएर टल्किएको खुर्पा र त्यसको छायाको आकृति तयार भैहाल्छ। शब्दले मस्तिष्कमा बनाउने यस्तो चित्र नै बिम्ब हो। त्यस्तै , यहाँ `खुर्पा´ काठपात वा घाँसदाउरा काट्न प्रयोग गरिने सामान्य हतियारको बिम्बको रूपमा मात्रै प्रयोग भएको छैन। यो त विदेशी साम्राज्यवादी शक्तिका उच्च प्रवधियुक्त हतियारका सामु आफ्नै घरेलु हतियारको बलमा अदम्य साहस र वीरताका साथ लडेर मातृभूमिको रक्षा गर्ने हाम्रा पुर्वजहरूको प्रतीक बनेको छ।

प्रतीकात्मकता बिहिन बिम्ब प्रयोगको एउटा उदाहरण हेरौं ।

छहरा
पहाडी पाखा
पहरा

यहाँ प्रकृतिपरक बिम्बको खानी नै छ, प्राकृतिक सौन्दर्यको लोभलाग्दो चित्रण पनि छ, अर्थगत सामञ्जस्यता पनि छ, अक्षर संरचनामा पनि खोट लाउने ठाउँ छैन तर प्रतीकात्मकता नहुँदा बाछिटाको वास्तविक स्वाद भेटिन्न। यही कच्चापदार्थलाई प्रयोग गरेर प्रतीकात्मकता सहितको सुन्दर बाछिटा रचना गर्न सकिन्छ । जस्तैः

छहरा
शीतल सँगी
पहरा

यहाँ छहरा र पहरा जस्ता प्रकृतिपरक बिम्बलाई मानवीकरण गर्दै दुई मित्रको प्रतीक बनाई प्रस्तुत गरिएको छ।

यसरी, प्रकृतिपरक बिम्ब र प्रतीकात्मकताको संयोजनबाट बाछिटाले गहन भाव सम्प्रेषण गर्छ ।

 बाछिटा समीक्षा :

यस खण्डमा बिम्ब र प्रतीक सम्बन्धी प्रस्तुत अवधारणाको आलोकमा ``बाछिटा चौतारी ´´ नामक फेसबुक ग्रुपमा पोस्ट गरिएका तीन दर्जन सर्जकहरूका एक एक वटा बाछिटाहरूमाथि समीक्षात्मक टिप्पणी गरिन्छ।

१. सुगन्धी
फूलको थुँगा
जिन्दगी
     - अमर त्यागी

यहाँ बास्नादार फूलको थुँगालाई जीवनको सुन्दरताको प्रतीक बनाइएको छ।

२. काँधमा
बाघका नङ्ग्रा
साँधमा
     - खगेन्द्र बस्याल

यहाँ साँधलाई दुई देशबीचको सिमानाको र बाघलाई अतिक्रमणकारी छिमेकी मुलुकको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ।

३. हिम्मत
पहाड फोर्ने
किस्मत
     - विष्णु भट्टराई `विभु´

यहाँ `पहाड´ कठिन एवम् साहसिक कार्यको प्रतीक बनेर खडा भएको छ।

४. जिउँछु
आँसुका धारा
पिउँछु
     - डा. नारायण गैरे

यहाँ जीवन भोगाइका क्रममा आउने कष्टकर उतारचढावको प्रतीकको रूपमा आँसुका धाराको बिम्ब प्रयोग गरिएको छ ।

५. आवाज
माटोको रक्षा
कवाज
     - डा. सदानन्द कँडेल

यहाँ `आवाज´ नाराजुलुस तथा कुटनैतिक पहलको , `माटो´ मातृभूमिको र `कवाज´ सैन्यशक्तिको प्रतीक बनेका छन् ।

६. घमण्ड
उर्लेको भेल
उद्दण्ड
     - डा. रामपुकार शाह

यहाँ उर्लेको भेललाई उद्दण्ड व्यक्तिले गर्ने अनियन्त्रित अमानवीय व्यवहारको प्रतीक बनाइएको छ।

७. निर्झर
चाह खुल्दो छ
झर्झर
     - शिव खनाल

यहाँ `निर्झर´ असीमित मानवीय इच्छा , आकांक्षाको प्रतीक बनेर आएको छ।

८. टारीमा
पसिना फुल्छ
बारीमा
     - नीरू गौतम

यहाँ कृषकले गर्ने परिश्रमको प्रतिफललाई प्रतीकात्मक रूपमा `पसिना फुल्छ´ भनिएको छ।

९. कटेरो
घाम झुल्कँदा
अँधेरो
     - अम्बिका धिताल

यहाँ कटेरोले गरीब जनजीवनको, घाम झुल्कनुले सरकारी नीति तथा कार्यक्रम एवम् बजेटको र अँधेरोले दुखदायी अवस्थाको प्रतीकात्मक चित्रण गरेका छन् ।

१०. सुगन्ध
स्मृतिकथामा
जीवन
       - सिर्जन अविरल

यहाँ स्मृतिकथालाई हाम्रा पौराणिक कहानी एवम् पुर्वजहरूका जीवन व्यवहारबाट सिद्ध भएका दिव्योपदेशको र त्यस्ता कहानी तथा उपदेशलाई सुगन्धित पुष्पको रूपमा प्रस्तुत गरेर अदृश्य प्रकृति बिम्बको प्रतीकात्मक प्रयोग गरिएको छ।

११. बिहान
सूर्यबिम्बमा
जीवन
    - शेष पौडेल

यहाँ बिहानी समयलाई बाल्यावस्था र सूर्यबिम्बलाई सुन्दर जीवन निर्माणका निम्ति उत्प्रेरक तत्वको प्रतीक बनाइएको छ ।

१२. धरामा
प्राणको रक्षा
जरामा
  - लता पौड्याल निरौला

यहाँ धरा र जरालाई गाँस,बास, कपास जस्ता मानवीय आधारभूत आवश्यकता पूर्ति गर्ने अनुपम श्रोतको प्रतीक बनाइएको देखिन्छ ।

१३. छहरा
आँसु झार्दैछ
टहरा

    - आर्त अकुलीन

यहाँ `छहरा´ बलिन्द्र धाराको र `टहरा´ दीन दुखीहरूको प्रतीक बनेको छ।


१४. धरामा
पसिना फुल्छ
गरामा
     - साबित्रा पाण्डे काफ्ले

यहाँ किसानहरूको परिश्रमबाट उत्पादन हुने अनाजलाई प्रतीकात्मक रूपमा पसिनाको फूलको उपमा दिइएको छ ।

१५. पिरती
फुलेको राम्रो
बैँसमा
    - भारती न्यौपाने दाहाल

यहाँ फूललाई युवायुवतीहरूबीच हुने प्रणयको प्रतीक बनाइएको छ

१६. प्रगति
बाटामा काँडा
बग्रेल्ती
    - पूर्ण चाम्लिङ

यहाँ बाधा अड्चनको प्रतीकको रूपमा `काँडा´ को प्रयोग गरिएको छ ।

१७. भँगालो
चिसो भएछ
अँगालो
    - केशब बैरागी माइलो

यहाँ प्रतीकात्मक रूपमा सम्बन्ध विच्छेद, मनमुटाव र दम्पतीलाई जनाउन क्रमशः भँगालो,चिसो र अँगालो शब्द प्रयोग गरिएको छ।

१८. वचन
मुटुमा काँडा
असह्य
    - श्याम माकजु

यहाँ `काँडा´ पीडाको प्रतीक बनेको छ।

१९. टाढा छु
मखमलीको
यादमा
     - रमेश प्रभात

यहाँ प्रतीकात्मक रूपमा `टाढा´ परदेशको र `मखमली´ तिहार, चेलीबेटी वा प्रेमिका जस्ता बहुअर्थी बिम्ब बनेका छन् ।

२०. जवानी
बगेर जाने
त्यो पानी
     - हिरा खनाल

यहाँ प्रतीकात्मक रूपमा जवानीमा देखिने जोश र सौन्दर्यलाई बगेर जाने पानीसँग तुलना गरिएको छ।

२१. समय
घामको चाल
सङ्घर्ष
     - सुरेश काफ्ले

यहाँ घामको चाललाई निरन्तरताको र समयलाई जीवनवृत्तिको प्रतीक बनाइएको छ।

२२. शासन
कालसर्पको
आसन
     - उपमा शर्मा

यहाँ निरङ्कुश शासकको प्रतीक बनाएर कालसर्प शब्दको प्रयोग गरिएको छ।

२३. फुल्दछ
किसान श्रम
झुल्दछ
     - केशव न्यौपाने

यहाँ प्रतीकात्मक रूपमा कृषि उत्पादनलाई श्रमको फूल मानिएको छ।

२४. किसानी
माटोमै मिल्यो
जवानी
     - शङ्कर अधिकारी

यहाँ किसानको जोश, जाँगरलाई प्रतीकात्मक रूपमा जवानीसँग तुलना गरिएको छ।

२५. पहरा
हीरा ओकल्छ
छहरा
     - मङ्गला उपाध्याय

यहाँ पहरा र छहराको मानवीकरण गर्दै प्रतीकात्मक रूपमा तिनीहरूलाई सिंचाइ, खानी र पर्यटन व्यावसायको अनि हीरालाई बहुमुल्य उत्पादनको प्रतीक बनाइएको छ।

२६. आकाश
चुम्दछ नारी
साहस
     - राधा ढुङ्गाना

यहाँ आकाशलाई कठिन तर सुनौलो गन्तव्यको प्रतीक बनाई प्रस्तुत गरिएको छ।

२७. शहर
दुर्गन्धी वायु
जहर
     - शान्ति सिग्देल

यहाँ दुर्गन्धी वायुलाई शहरीया विकृति , विसङ्गति,स्वार्थी मनोवृत्ति र प्रदूषणको प्रतीकको रूपमा प्रस्तुत गरिएको देखिन्छ ।

२८. सिरेटो
लक्षमा पुग्ने
गोरेटो
     - कृष्ण सुदामा

यहाँ प्रतीकात्मक रूपमा सिरेटोलाई बाधा अड्चन र गोरेटोलाई लक्ष प्राप्तिको साधन बनाइएको छ।

२९. जननी
सहनशील
धरणी
     - आचार्य नारद सुदामा

यहाँ धरणी अर्थात पृथ्वीको मानवीकरण गर्दै दु:ख, कष्ट, प्रहार,तिरस्कार सबै सहेर पनि सन्ततिको भलो चिताउने आमाको प्रतीक बनाई प्रस्तुत गरिएको छ।

३०. धरणी
किरणपुञ्ज
करणी
     - गङ्गार्जुन रिमाल

यहाँ धरणीलाई मातृभूमिको,किरणपुन्जलाई सौन्दर्यको र करणीलाई विदेशी अतिक्रमण एवम् बहुलठ्ठीपूर्ण ढङ्गले गरिने प्राकृतिक सम्पदा दोहनको प्रतीकको रूपमा प्रयोग गरिएको देखिन्छ ।

३१. तलाउ
प्यारको डुङ्गा
प्रेमिका
      - ईरानी चराको बकपत्र

यहाँ तलाउलाई प्रणयस्थलको प्रतीक बनाइएको छ ।

३२. अरुण
साँझमा पनि
तरुण
     - गङ्गा मानव

यहाँ `अरुण´ वा सूर्य ओजस्वी जीवनको र `साँझ´ मृत्युशय्याको प्रतीक बनेर आएका छन् ।

३३. उज्यालो
आमा घरकी
दियालो
     - मञ्जु तामाङ

यहाँ उज्यालोलाई सुन्दर जीवनको र दियालोलाई मार्गदर्शनको प्रतीक बनाइएको देखिन्छ ।

३४. दरार
फरक धार
नियत
     - रोशन पराजुली

यहाँ दरारलाई राजनीतिक दलहरूमा आउने विभाजनको र फरक धारलाई गुटबन्दीको प्रतीक बनाइएको आभास हुन्छ।

३५. छहारी
माता पिता हुन्
चौतारी
    - केशव नेपाल

यहाँ छहारी र चौतारीलाई अभिभावकत्वको प्रतीक बनाइएको छ।

३६. उज्यालो
मोदी र काली
अँगालो
    - सरस्वती शर्मा जिज्ञासु

यहाँ उज्यालोलाई सौन्दर्य र अँगालोलाई दोभानको प्रतीक बनाएर प्रस्तुत गरिएको छ।

निष्कर्ष

प्रस्तुत समीक्षात्मक आलेखको निचोडलाई देहायका बुँदाहरूमा सूत्रबद्ध गर्न सकिन्छ ।

१. प्रतीकात्मकता बिनाको बिम्ब प्रयोगले बाह्य सुन्दरता त झल्काउँछ तर गहन भावको सम्प्रेषण गर्ने सामर्थ्य राख्दैन।

२. लेखनलाई प्रतीकात्मक बनाउँदा स्वत: बिम्बको प्रयोग भएको हुन्छ।

३. एउटै बिम्ब विविध वस्तु वा विषयका प्रतीक बन्न सक्छन् ।

४. एउटै वस्तु वा विषयलाई प्रतीकात्मक रूपमा उल्लेख गर्न अनेक बिम्बको प्रयोग गर्न सकिन्छ ।

५. बिम्बको प्रयोग पहिलो, दोस्रो वा तेस्रो जुनसुकै पंक्तिमा पनि गर्न सकिन्छ ।

६. प्रकृति बिम्बको प्रयोग केवल प्राकृतिक सौन्दर्यको महिमागानका निम्ति नभई जीवन भोगाइका अनुभूति,प्रेरणा, आक्रोश, विरोध, प्रसंशा,व्यङ्ग्य जस्ता अनगिन्ती विषय एवम् सुन्दर वा कुरुप वस्तु तथा घटनाका प्रतीकको रूपमा गर्न सकिन्छ ।

७. `बाछिटा चौतारी´ बाछिटा सृजनाको खुला अभ्यासगृह वा तालीम केन्द्रको रूपमा हजारौं सिकारु तथा पाका स्रष्टाहरूको सक्रिय सहाभागिता सहित रङ्गिचङ्गी फूलका मनोरम पुष्पवाटिका बनेको छ।

८. विधागत मान्यताको जगमा इँटाहरू थप्दै परिष्कार गर्नु जरुरी छ।

९. अग्रजहरूले सृजना गर्ने बाछिटाहरू नवप्रतिभाका निम्ति खुराक बन्न सक्ने भएकाले सचेत प्रतीकात्मक लेखनको अवश्यकता देखिन्छ ।

१० . सबै स्रष्टाका सृजनाहरू निरन्तर माझिँदै जाने क्रममा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप