बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यी लक्षणलाई नगर्नुहोस् नजरअन्दाज, घातक हुनसक्छ निमोनिया

बिहीबार, २७ कात्तिक २०७७, १३ : ४२
बिहीबार, २७ कात्तिक २०७७

१२ नोभेम्बरमा संसारभरी वर्ल्ड निमोनिया डे मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य भनेको निमोनिया रोगप्रति जागरुक गर्नु । निमोनियामा फोक्सो संक्रमित हुन्छ । निमोनिया हुँदा वायुकोषमा तरल पदार्थ वा पिप भरिन्छ जसका कारण खोकी लाग्ने, ज्वरो आउने, चिसो लाग्ने र सास फेर्न समस्या हुनेजस्ता समस्या देखिन्छ । ब्याक्टेरिया, भाइरस र विभिन्न प्रकारका सूक्ष्मजीव निमोनियाको कारण बन्न सक्छ ।

निमोनिया नवजात, साना बालबालिका, ६५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई र कमजोर प्रतिरोधी क्षमता भएका वा पहिले नै कुनै रोगसँग जुधिरहेका व्यक्तिलाई सजिलै लाग्छ । यदि समय हुँदा नै बिरामीको उपचार नगरे यसले ज्यान पनि लिनसक्छ । निमोनियाका लक्षण हल्कादेखि गम्भीरसम्म हुनसक्छ । कुन व्यक्तिको उमेर कति छ, उसको शरीरमा संक्रमण कति भित्रसम्म प्रवेश गरेको छ, यसैको आधारमा लक्षण निर्भर हुन्छ । सामान्यतया यो लक्षण फ्लूजस्तै हुन्छ तर यो शरीरमा निकै लामो समय रहन्छ ।

निमोनियाका लक्षणः

निमोनिया हुँदा सास फेर्दा वा खोक्दा छाती दुख्छ । ६५ वर्ष माथिका व्यक्तिमा भ्रमको स्थिती आउन सक्छ । खकारसहित खोकी, थकान, ज्वरो, पसिना र चिसो लाग्नु, यी सबै निमोनियाका लक्षण हुन् । यसमा कमजोर प्रतिरोधी क्षमता भएकाहरुले शरीरको तापक्रम सामान्यभन्दा कम हुन थाल्छ ।

यसका साथै बिरामीलाई बान्ता हुने वा सास फेर्न कठिनाई हुनेजस्ता लक्षण पनि देखिन्छन् । नवजात शिशुमा निमोनियाको संक्रमणको लक्षण चाँडै देखिँदैन । साधारणतया बच्चालाई निमोनिया हुँदा उसलाई थकाई लागेको देख्न सकिन्छ भने ज्वरो पनि आउँछ । साथै, बालबालिकाले खानामा फिटिक्कै मन लगाउँदैनन् ।

निमोनियाका कारणः

थुप्रै किटाणु निमोनियाको कारण बन्नसक्छ । यसमा सबैभन्दा साधारण ती ब्याक्टेरिया हुन्छन् जुन हामीले सास फेर्दा शरीरभित्र प्रवेश गर्छन् । हाम्रो शरीरले साधारणतया यी किटाणुले फोक्सोलाई संक्रमण गर्न रोक्छ तर कहिलेकाँही यी किटाणु यति बलियो हुन्छन् कि यी हाम्रो प्रतिरोधी प्रणालीमा हावी हुन्छन् र शरीरलाई संक्रमित गरिदिन्छन् ।

कसलाई बढी छ खतरा ?

निमोनियाको खतरा सबैभन्दा धेरै ६५ वर्ष माथि उमेर समूह, २ वर्षभन्दा कमका बालबालिका, पहिला देखि नै रोगी र कमजोर प्रतिरोधी प्रणाली भएका व्यक्तिहरुलाई, मुटु र फोक्सोका बिरामीलाई अत्यधिक हुन्छ ।

निमोनियाले जो सुकैलाई पनि संक्रमित गर्नसक्छ । वृद्ध र बालबालिकाबाहेक अस्पतालमा भर्ना भएका मानिसहरुलाई पनि यसले संक्रमित गर्न सक्छ । विशेषगरी ती मानिसहरु जो आइसीयूमा छन् र वा भेन्टिलेटर मेसिनमार्फत् सास फेरिरहेका छन् । यदि तपाईंलाई दम वा मुटु सम्बन्धि रोग छ भने तपाईंलाई निमोनियाको सम्भावना बढी हुनसक्छ ।

धुम्रपान गर्नेहरुमा पनि निमोनियाको खतरा बढी हुन्छ । धुम्रपानले शरीरको ब्याक्टेरिया वा भाइरसविरुद्ध प्राकृतिक सुरक्षालाई क्षती पुर्याउँछ जसका कारण निमोनिया हुने गर्छ । जसलाई एड्स छ, जसको अंग प्रत्यारोपण भएको छ वा जसको किमोथेरापी चलिरहेको छ, उनीहरुमा पनि निमोनियाको खतरा बढ्छ ।

निमोनियाको ब्याक्टेरिया जब रगतमार्फत् फोक्सोमा पुग्छ, यसले शरीरका अन्य अंगलाई पनि संक्रमित गरिदिन्छ । यसको कारण अंगले काम गर्न बन्द गर्न सक्छ । गम्भीर हुँदा तपाईंलाई सास फेर्न पनि समस्या हुनसक्छ र तपाईंलाई अस्पतालमा भर्ना गर्नुपर्ने स्थिती निम्तिन सक्छ ।

कहिले गर्ने डाक्टरलाई सम्पर्क ?

 यदि तपाईंलाई सास फेर्न समस्या भइरहेको छ, छाती दुख्छ, ज्वरो १०२ फरेनहाइटभन्दा माथि छ, लगातार खोकी लागिरहन्छ भने डाक्टरसँग तुरुन्त सम्पर्क गर्नुहोस् । सामान्य अवस्थामा यसलाई एन्टिबोयोटिक औषधीले निको पार्न सकिन्छ तर गम्भीर स्थितीमा बिरामीलाई भेन्टिलेटरमा नै राख्नुपर्ने स्थिती हुनसक्छ र कहिलेकाँही संक्रमणबाट बाहिर निस्कनका लागि शल्यक्रिया पनि गर्नुपर्ने स्थिती निम्तिन सक्छ ।

कसरी बच्ने ?

निमोनिया र फ्लूबाट बच्नका लागि केही भ्याक्सिन उपलब्ध छ । आफ्नो डाक्टरसँग कुरा गरेर यो लगाउन सक्नुहुन्छ, विशेषगरी बालबालिकालाई निमोनियाको खोप लगाउन नबिर्सनुहोस्, सर–सफाईमा पूरा ध्यान दिनुहोस् । आफ्नो हात बारम्बार धोइरहनु होस् र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । धुम्रपान नगर्नुहोस्, यसले तपाईंको फोक्सोलाई खराब गर्छ । यसबाहेक प्रतिरोधी क्षमतालाई बलियो बनाउनुहोस्, पर्याप्त निदाउनुहोस्, नियमित व्यायाम गर्नुहोस् र स्वस्थ आहार लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप