कोरोनाभाइरस : दिल्लीमा स्थिति बिग्रदै, लकडाउन हुन सक्ने
भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि अरविन्द केजरीवाल नेतृत्वको सरकारको चिन्ता बढेको छ । संक्रमणको फैलावटलाई रोक्न दिल्ली सरकारले बजार बन्द गर्ने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार सानो स्तरमा लकडाउन लगाउनेबारे विचार गरिरहेको बताएका थिए । दिल्ली सरकारले यस विषयलाई लिएर केन्द्र सरकरलाई प्रस्ताव पनि पठाइसकेको छ । दुई दिनअघि मात्र गृहमन्त्री अमित शाहले दिल्लीमा कोरोनाभाइरस संक्रमणको अवस्थाको समीक्षा गरेका थिए ।
यता, समग्र भारतमा भने कोरोनाभाइरसको संक्रमणबाट निको हुनेको संख्या बढिरहेको छ । १२ राज्यमा निको हुने दर ९५ प्रतिशत रहेको छ । देशमा हालसम्म ८८ लाख ७४ हजार १७२ जना संक्रमित बनेका छन् जसमध्ये ८२ लाख ८८ हजार १६९ ठीक भएका छन् ।
पछिल्लो २४ घण्टामा २८ हजार ३७७ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो ४ महिनाकै यो सबैभन्दा कम संख्या हो । यसअघि १४ जुलाईमा २९ हजार ९१७ जना संक्रमित फेला परेका थिए ।
सक्रिय संक्रमितको संख्यामा पनि भारतमा गिरावट देखिएको छ । पछिल्लो दुई दिनमा सक्रिय संक्रमितको संख्या २५ हजार ९४४ जनाले घटेको छ । हाल देशमा ४ लाख ५३ हजार ४९९ सक्रिय संक्रमित रहेका छन् । यस मामिलामा भारत एक स्थान तल खस्केर पाँचौ स्थानमा पुगेको छ । हाल बेल्जियम चौथो स्थानमा रहेको छ ।