मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो, तीन दिनको पर्खाइपछि बल्ल आउँछ प्याराग्लाइडिङको पालो

बुधबार, ०३ मङ्सिर २०७७, १५ : ४९
बुधबार, ०३ मङ्सिर २०७७

काठमाडौं । कोभिड–१९ का कारण बाह्य पर्यटकको आगमन शून्य भए पनि यतिखेर पोखरामा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । भदौदेखि पुससम्म पर्यटन व्यवसायको मुख्य सिजन हो । कोरोना महामारीका कारण मुख्य सिजनमै देशको प्रमुख पर्यटकीय नगरी पोखरामा एकजना पनि विदेशी पर्यटक देखिदैनन् । तर आन्तरिक पर्यटक भने भरिभराउ हुन थालेका छन् ।

पोखराको प्रसिद्ध फेवा ताल, रुपा ताल, बेगनास ताल, साराङकोट, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, पातली झरना (डेविड फल), रुपाकोट लगायत दर्जनौं पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल देखिन्छ । 

प्याराग्लाइडिङका लागि उत्कृष्ट गन्तव्य मानिएको पोखरामा आन्तरिक पर्यटकहरुले प्याराग्लाइडिङको समेत आनन्द लिने गरेका छन् । प्याराग्लाइडिङका लागि ७ हजार देखि १२ हजार रुपैयाँसम्म शुल्क लाग्दै आएकोमा कम्पनीहरुले ५० प्रतिशतभन्दा बढी छुट घोषणा गरेपछि आन्तरिक पर्यटकहरु आकर्षित भएका हुन् । यतिखेर प्याराग्लाइडिङ गर्न पोखरा पुग्नेहरुको ठुलो भिड लागेको छ । 

प्याराग्लाइडिङ गर्न चाहनेहरुको भिड बढेपछि यतिखेर पोखराका प्याराग्लाइडिङ सञ्चालक कम्पनी, एजेन्ट तथा प्याराग्लाइडिङ चालक (पाइलट) हरुलाई समेत भ्याइ–नभ्याइ छ । 
‘६–७ महिना हाम्रो व्यवसाय शून्य थियो । लकडाउनका कारण हामीले एउटा पनि प्याराग्लाइडिङ उडान गर्न सकेका थिएनौं । तर अहिले बुकिङ लिएर र उडाएर साध्य छैन,’ ओपन स्काई प्याराग्लाइडिङ प्रा.लि तथा फ्लाई टीजी प्याराग्लाइडिङका सञ्चालिका शर्मिला शर्माले भनिन्, ‘अहिले दिनमै सयौंको संख्यामा टिकट बुकिङको डिमाण्ड आउँछ । फ्लाइटको संख्या, पाइलटको व्यवस्थापन लगायतका कुराले बुकिङ लिन हम्मे–हम्मे परिरहेको छ । ग्राहकको इच्छा अनुसार उडाउन सकिराखेका छैनौं ।’

ग्राहकको संख्या बढेसँगै आजभोलि पालो सिस्टममा राख्नु परेको उनले बताइन् ।

तीन दिनको पर्खाइपछि बल्ल आउँछ पालो
यतिखेर प्याराग्लाइडिङ गर्न पोखरा पुग्ने जो कोहीले तीन दिन पर्खनुपर्ने भएको छ । अर्थात् प्याराग्लाइडिङ गर्न तीन अघि नै टिकट बुकिङ गर्नुपर्छ । ५० प्रतिशतभन्दा बढी छुटकै कारण यतिखेर प्याराग्लाइडिङमा स्वदेशी पर्यटकहरुको आकर्षण बढेको हो । यतिखेर दैनिक तीनदेखि चार सयको हाराहारीमा स्वदेशी पर्यटकहरु प्याराग्लाइडिङका लागि पोखरा पुग्ने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । सीमित प्याराग्लाइडिङमा असीमित चापले गर्दा पालो कुर्नु परेको उनको भनाइ छ ।

‘हामीसँग सीमित प्याराग्लाइडिङ छन् । यसमा पनि पाइलटहरुको व्यवस्थापनको चुनौती अझ विकराल छ । कोभिड–१९ का कारण लामो समय रोकिएको व्यवसायमा एकैपटक ठुलो चाप पर्दा व्यवस्थापनमा केही कठिनाइ भएको हो । यसको व्यवस्थापनमा हामी लागिरहेका छौं,’ उनले भने ।

नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले दिएको जिम्मेवारी पुरा गर्दै प्याराग्लाइडिङको वर्तमान र भविष्य दुवै समुन्नत पार्न आफूहरु डटेर लागेको उनले बताए । त्यसैको प्रतिफल आज कोभिडकै बीच पनि प्याराग्लाइडिङमा आम सर्वसाधारणको आकर्षण बढेको उनको भनाइ छ ।

‘ना’कै महामन्त्री शैलेन्द राउतले समेत पछिल्लो समय प्याराग्लाइडिङको आकर्षण स्वदेशी पर्यटकमा समेत बढेर गएको बताए । ‘हवाई क्षेत्रको प्रमुख चुनौतीको विषय सुरक्षा नै हो । त्यसमा पनि हवाई खेलकुदको सुरक्षा थप जटिल र चुनौतीपूर्ण मानिन्छ,’ उनले भने, ‘यसकोे विश्वसनीयता बेगर पर्यटकलाई आकर्षित गर्न सकिन्न । तर पछिल्लो समय पोखराको प्याराग्लाइडिङले यो सुरक्षाको पूर्णतः प्रत्याभूत गराएकोे छ ।’ यसमा हवाई खेलकुद संस्था (ना) को ठूलो योगदान रहेको उनले बताए ।

त्यसो त १३ चैत, २०७५ मा मात्र हवाई खेलकुद संस्था (ना)ले हवाई खेल सम्बन्धी एड्भेन्चर प्याराग्लाइडिङको सुरक्षाको अनुगमन तथा व्यवस्थापनको जिम्मा पाएको हो । 
नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले हवाई खेलकुद (प्याराग्लाइडिङ) को व्यवस्थापन, पाइलटको लाइसेन्स, नियमन तथा प्रवर्द्धनको जिम्मा हवाई खेलकुद संस्था (ना)लाई दिएको हो ।

हाल पोखरामा ‘ना’ अन्तर्गत ५ दर्जनभन्दा बढी प्याराग्लाइडिङ कम्पनी सञ्चालमा छन् भने, सो मार्फत ३ सय ५० भन्दा बढी प्याराग्लाइडिङ सञ्चालनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप