वीरगञ्जमा स्थगित मतगणना सूचारु, मतगणनामा लापर्वाही भन्दै महोत्तरीमा चक्काजाम
बिहीबार, ०५ असोज २०७४, १९ : ०७
वीरगञ्ज– दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा विवाद भई दिउँसोदेखि नै स्थगित भएको वीरगञ्ज महानगरपालिकाको मतगणना पुनः सूचारु भएको छ ।
दलहरुबीच सहमति भएपछि विहीबार बेलुका पौने ७ बाट गणना पुनः सूचारु गरिएको हो । नेपाली कांग्रेस र राजपा नेपालबीच कडा प्रतिष्पर्धा भएको वीरगञ्जको गणना रोमाञ्चक बन्दै गएको छ । विहान राजपाले लिड गरेको वीरगञ्जमा अपरान्हबाट कांग्रेसले झिनो मतले उछिनेको छ ।
उता, महोत्तरीको पीपरामा मतगणनामा धाँदली भएको भन्दै आन्दोलन भएको छ । गणनाका क्रममा लापर्वाही गरिएको भन्दै दलका कार्यकर्ताले पीपरामा चक्काजाम गरेको अमरेन्द्रकुमार यादवले जनाएका छन् ।