सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सभामुखबाट सांसद पाण्डेले लिए शपथ

सोमबार, ०८ मङ्सिर २०७७, १४ : ४०
सोमबार, ०८ मङ्सिर २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधिसभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सपथ ग्रहण गरेका हुन् । पाण्डेलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य सुर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली काँग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो । काँग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो ।

प्रतिनिधिसभा सदस्यको रुपमा सपथ ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद पाण्डेले संघीय संसदको गरिमा उचो बनाउन आफ्नो भूमिका रहने बताए । यस्तै पछिल्लो समय प्रतिपक्ष प्रति जनताको बीचमा विकास भएको धारणालाई चिर्न थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत पाण्डेले व्यक्त गरे ।

२०३७ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई पाण्डेले राजनीतिक यात्रा सुरु गरेका थिए । यस्तै २०४३ सालमा नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्यमम्पस पाल्पाको सभापति, २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरेका थिए  ।

यस्तै पार्टीको जिल्ला कार्य समिति, महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप