सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषमा एक वर्षमा ६६ हजार श्रमिक थपिए

बिहीबार, ११ मङ्सिर २०७७, १६ : ०९
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । एक वर्षको अवधिमा सामाजिक सुरक्षा कोषमा ६६ हजार श्रमिक थपिएका छन् । सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको दोस्रो वर्षमा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ६६ हजार २ सय ९१ रहेको हो । योसँगै कुल सूचीकृत श्रमिकको संख्या १ लाख ८९ हजार ७ सय ९१ जना पुगेको छ । 

हालसम्म सूचीकृत संख्यामध्ये करिब ७२ हजार जनाले मात्रै कोषमा नियमित योगदान गरिरहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली बताउँछन् । ती योगदानकर्ताबाट हालसम्म ३ अर्ब १० करोड रुपैंया संकलन भएको उनको भनाइ छ । यसमध्ये १ अर्ब ३ करोड योगदान कोभिड महामारीको बेला नेपाल सरकारको तर्फबाट गरिएको योगदान हो । यो वर्ष कोषमा थप २ हजार ६ सय ८० रोजगारदाता सूचीकृत भएका छन् । योसँगै कुल सूचीकृत रोजगारदाताको संख्या १२ हजार ९ सय १५ पुगेको छ । 

सरकारले २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो । सो घोषणाको बिहीबार २ वर्ष पूरा भएको छ । यो दिनलाई सरकारले नयाँ युगको सुरुवात भएको दिनको रुपमा अथ्र्याउँदै सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने निर्णय समेत गरेको थियो । सामाजिक सुरक्षा कोषको स्थापना भएको २०६७ चैत ७ गते हो ।  

हालसम्म सामाजिक सुरक्षा कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा अन्तर्गत ६ सय ५२ जनालाई १ करोड १३ लाख,  त्यस्तै दुर्घटना तथा अशक्तिता सुरक्षा योजनामा ४७ वटा दाबीमा १० लाख ५८ हजार र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत २८ वटा दाबी अन्तर्गत १३ लाख ७९ हजार तथा वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ३८ वटा दाबीबापत ३५ लाख ३२ हजार भुक्तानी भएको छ । 

सुरुवातकै चरणमा सामाजिक सुरक्षा
कार्यकारी निर्देशक ज्ञवालीले कोषमा आवद्ध श्रमिक तथा रोजगारदाता संख्याको आधारमा यो अहिलेको अवस्थालाई सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको सुरुवातको अवस्था मात्रै भएको बताए । उनले कानूनी अस्पष्टता, व्यवहारिक कठिनाईहरु, सुरक्षा अवधारणाबारे बुझाईको कमी रहेको, योजनाको थप परिमार्जनको आवश्यकताको महशुस भएको, लगानी कार्याविधिको स्वीकृतिको पर्खाइमा बसेको र स्वरोजगार तथा अनौपचारिक क्षेत्रका श्रमिकको योगदानको प्रतिक्षा समेत गरेका कोष यो अवधिमा धेरै अगाडि जान नसकेको उल्लेख गरे । 

अहिले सामाजिक सुरक्षा कोषले ५ वर्षे प्रथम रणनीतिक योजना ल्याएको भन्दै यो योजना अवधिमा सबै अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत योसँग आवद्ध गर्ने लक्ष्य रहेको उल्लेख गरे । त्यस्तै, कोषले हाल रोजगारदाताको योगदान गर्ने रकम अनलाइनमार्फत् गर्न सकिने र दाबी भुक्तानी प्रक्रियालाई अनलाइनमार्फत् गर्ने व्यवस्था गर्न लागेको बताए । 

कोषको गत आर्थिक वर्षको प्रारम्भिक प्रतिवेदनले वृद्धाअवस्था सुरक्षा योजना अन्तर्गतको रकममा ७.५ योगदान दिनसक्ने देखाएको छ । अहिले कोषको लगानी कार्यविधि स्वीकृत भएको भन्दै अब झनै धेरै प्रतिफल आउने कोषको दाबी छ । हाल कोषमा योगदान गर्नेको वार्षिक ५ लाख रुपैंयासम्मको योगदानमा कर नलाग्ने व्यवस्था गरिएको छ । 

तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले बिहिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई वृद्धभत्ता कार्यक्रमको विस्तृत रुपको संज्ञा दिए । २०५१ सालमा मनमोहान अधिकारी प्रधनमन्त्री हुँदा तात्कालिन एमाले सरकारले वृद्धवृद्धाको सामाजिक सुरक्षाको सुरुवात गरेको भन्दै अहिले त्यस्तो योगदानलाई विस्तृत बनाएर सबै श्रमिकसम्म पुर्याउन खोजेको उनको भनाइ छ ।

 सामाजिक सुरक्षा उन्नत समाजको एउटा कार्यक्रम भएको भन्दै सभ्य समाज निर्माण गर्ने, श्रमसम्बन्धी अधिकारको कार्यान्वयन एवं संविधानको धारा ३४ को व्यवस्था कार्यान्वयन तथा धारा ४३ ले अशक्त, असहाय व्यक्तिलाई गर्नुपर्ने व्यवस्थाको सम्बन्धमा बहन गर्नुपर्ने उत्तरदायित्व अनुसार समेत यो अवधारणालाई व्यापक बनाउनुपर्ने आवश्यकता रहेको ओलीको भनाइ छ ।

त्यस्तै, दीगो विकास लक्ष्य अन्तर्गत १७ वटा मूल लक्ष्य र १६९ उपलक्ष्य रहेको भन्दै मूल लक्ष्यको ८ औं बुँदामा रहेको श्रम र सामाजिक सुरक्षाको विषयलाई कार्यान्वयन गर्नको लागि समेत यो कार्यक्रमलाई अघि बढाउनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप