सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाकालमा गीत–संगीत : साधनाको अवसर, धमाधम गीत रिलिज

मङ्गलबार, २३ मङ्सिर २०७७, १० : ३५
मङ्गलबार, २३ मङ्सिर २०७७

काठमाडौँ । विश्वमा कोरोनाको कहर कायमै छ । नेपालमा पनि यसको असर कम भएको छैन । चिसो बढेसँगै कोरोना बढ्नसक्ने स्वास्थ्यविज्ञहरुको भनाइ छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि चार महिनासम्म लकडाउन जारी ग¥यो । लकडाउन आंशिक रुपमा खुलेपछि पनि निषेधाज्ञा जारी गर्दै स्वास्थ्यसम्बन्धी केही प्रोटोकल पालना गराएर भिडभाडजन्य गतिविधिमा रोक लगाइरह्यो । परिणामस्वरुप उद्योगधन्दासहितका आर्थिक गतिविधि, शैक्षिक संस्था, यातायात, महोत्सव, भेला–समारोह, चलचित्र क्षेत्रसँग जोडिएका गतिविधिहरु प्रभावित भए ।

यतिबेला धेरै क्षेत्र खुलिसकेका छन् । तर, मेला, महोत्सव, पार्टी प्यालेस, चलचित्र घरलगायत भने अझै खुल्न सकेका छैनन् । जसका कारण यो क्षेत्रका गतिविधि प्रायः ठप्प छन् भने यसमा आश्रित मजदुरको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ ।

नेपाली संगीत क्षेत्र पनि यसबाट प्रभावित भएको छ । एकातिर देश–विदेशमा दैनिकजसो आयोजना हुने संगीतिक कार्यक्रम, मेला–महोत्सवमा स्टेज तताउँदै दर्शकलाई मनोरञ्जन प्रदान गरी राम्रो आम्दानी गर्दै आएका कलाकारहरु कोरोनाको कहरका कारण अहिले बेरोजगार भएर घरमै सीमित हुन पुगेका छन् ।

गीत–संगीतका लागि साधना पनि महत्वपूर्ण पक्ष हो । कोरोनाको कहरका कारण देश–विदेशमा सांगीतिक कार्यक्रम नहुँदा फुर्सदिला बनेका गायक–गायिका तथा संगीतकारले यो समयलाई साधन गर्ने, नयाँ गीत–संगीत सिर्जना गर्ने काममा भरपूर प्रयोग गर्न पाएका छन् । यसबाट पनि आफूहरुलाई फाइदा नै पुगेको उनीहरुको भनाइ छ ।

सिधै भन्नुपर्दा नेपाली गीत–संगीतको विधामा क्रियाशील कलाकारहरु यो कोरोनाको समय आफ्ना लागि अन्य समयभन्दा राम्रो भएको बताउँछन् ।

साधनाको अवसर

स्टेज कार्यक्रम, मेला–महोत्सवमा सधैँ ब्यस्त रहने कतिपय संगीतकर्मीले त महिनौँसम्म पनि साधनाका लागि समय निकाल्न नभ्याउने अवस्था कोरोना अगाडि थियो । यसले उनीहरुको कामगर्ने क्षमतामा मात्र होइन, नविनतम् सिर्जनामा समेत असर पुग्ने गर्दथ्यो ।

कोरोनाको कहरले अन्य गतिविधिहरु ठप्प हुँदा गायक–गायिका तथा संगीतकारहरुले साधनाका लागि पर्याप्त समय प्राप्त गरे । यसबाट क्षमता अभिवृद्धिको अवसर प्राप्त भएको गायक तथा संगीतकार टंक बुढाथोकी बताउँछन् ।

‘कोरोनाका कारण कन्सर्ट, मेला–महोत्सवलगायतका गतिविधि बन्द हुँदा घरमै बसेर रियाज गर्न र म्युजिकसम्बन्धी ज्ञान बढाउन समय मिल्यो,’ बुढाथोकीले भने, ‘इन्टरनेटको माध्यमबाट केही सिक्ने र घरमै बसेर संगीतको रियाज गर्ने अवसर प्राप्त भयो ।’ यस बीचमा देश विदेशका संगीतको अध्ययन गर्नसमेत समय पाएको उनले सुनाए ।

संगीतकार अर्जुन पोखरेल पनि कोरोनाको समय आफ्ना लागि फाइदाजनक नै भएको बताउँछन् । ‘कोरोनाको समय स्व–अभ्यासका लागि समय मिल्यो,’ अर्जुनले भने, ‘यो समयलाई आफ्नो क्षमता वृद्धि गर्न र संगीतमा नबुझेका कुरा सिक्न समेत प्रयोग गर्न पाइयो ।’ रियाजका लागि पर्याप्त समय पाउनु संगीतकारका लागि फलदायी हुने उनको भनाइ छ ।

संगीतकार राजु सिंह पनि संगीत साधनाका लागि कोरोनाको यो अवधिमा पर्याप्त समय पाएको स्वीकार्छन् । ‘हामीजस्ता संगीतका साधकका लागि साधना सबैभन्दा महत्वपूर्ण पक्ष हो, सामान्य अवस्थमा यसरी साधना गर्ने समय नै मिल्दैनथ्यो, जताततै कार्यक्रममा व्यस्त हुनु पर्दथ्यो, कोरोना महामारीले घरमै बसेर साधना गर्न समय मिल्यो,’ सिंहले थपे ।

संगीतकार हरि लम्साल पनि कोरोनाको समयलाई रचनात्मक रुपमा प्रयोग गर्न पाइएको स्वीकार गर्छन् ।

धमाधम गीत रिलिज

कोरोना कहरले बाह्य गतिविधि रोकिए पनि गीत रिलिजको क्रम नरोकिएको कलाकारहरु बताउँछन् । देश–विदेशमा हुने सांगीतिक कार्यक्रममा व्यस्त रहँदा नयाँ गीत तयार पार्न नभ्याएका कतिपय कलाकारले कोरोना कहरको समयलाई सदुपयोग गर्दै नयाँ गीत सिर्जना गर्ने र रिलिज गर्ने क्रमलाई तीव्रता दिए ।

अर्को अर्थमा भन्ने हो भने कोरोनाको कहरका बीच पनि गीत रेकर्डिङ तथा रिलिजको क्रमले निरन्तरता पाइरह्यो । त्यसैले पनि संगीत सिर्जनामा सक्रिय हस्तीहरु यो समय व्यस्त नै रहे ।

संगीतकार अर्जुन पोखरेल कोरोनाको कहरमा गीत–संगीत सिर्जनाको रफ्तार बढेको बताउँछन् । आफूले यो समयलाई सदुपयोग गर्दै पछिका लागिसमेत संगीत स्टक राख्न सफल भएको उनको भनाइ छ ।

‘कोरोनाको समयमा चलचित्रका काम बन्द भए, जसले गर्दा नयाँ चलचित्रमा गीत–संगीतको काम रोकियो तर पनि गीत–संगीत सिर्जनाको हिसाबले मैले खाली हात बस्नु परेन,’ पोखरेलले भने, ‘फिल्मी संगीतका काम रोकिए पनि आधुनिक गीतहरु, सोलो एल्बम लगायतमा काम भइरहेको छ । यसबाट पनि संख्यात्मक रुपमा मेरो सिर्जनामा खासै असर परेको छैन ।’

आफूले यो समय धेरै गीत तयार पारेर स्टक राखेको उनले सुनाए । ती गीत आगामी दिनमा फिल्म अथवा अन्यमा  समेत सदुपयोग हुने उनको भनाइ छ ।

अर्का संगीतकार टंक बुढाथोकी पनि कोरोना महामारीका बीच गीत–संगीतको उत्पादन वृद्धि भएको बताउँछन् । उनले पनि विगतका वर्षको तुलनामा बढी नै गीत–संगीत बनाएको बताए ।

‘कोरोना अघि मैले वर्षमा सरदर ३÷४ वटा गीत बनाउँथेँ, तर यो कोरोनाको अवधिमा मेरो ५ वटा गीत रिलिज भइसक्यो,’ बुढाथोकीले भने, ‘अझै तीनवटा गीत छिट्टै आउने तयारीमा छन् ।’

अन्य वर्षको तुलनामा आफूले यो वर्ष दोब्बर गीत–संगीत  उत्पादन गर्न सकेको उनले बताए । ‘पहिले कार्यक्रममा जाँदा नयाँ गीत–संगीत सिर्जनामा समय पुग्दैन थियो । अहिले भने पर्याप्त समय पाइएको छ,’ बुढाथोकीले थपे ।

कोरोनाको समयमा संगीत उत्पादनमा वृद्धि भएको संगीतकार दीपक शर्मा पनि बताउँछन् । ‘गीत–संगीतको उत्पादन अन्य समयभन्दा अहिले बढेको हो,’ शर्माले भने ‘फुर्सदमा बस्नुभन्दा गीत बनाउँ न त भन्ने हिसावले पनि धेरैजनाले सिर्जनामा ध्यान दिएको भेटियो ।’

सिर्जनाको अवसर

कोरोना कहरको यो समय गीत–संगीतको संख्यामात्र वृद्धि भएको छैन, संगीतमा क्वालिटी पनि भित्रिएको महसुस गर्न थालिएको छ । कोरोना महामारीको समयमा सर्जकले साधनामा पर्याप्त समय पाएका कारण पनि राम्रो गीत–संगीत बन्न सकेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

संगीतकार दीपक शर्माले कोरोना महामारीको समयमा राम्रो र स्तरीय सिर्जना गर्न सकिएको बताए । ‘निश्चय नै क्रिएशन भन्ने कुरा सुन्यतामा, फुर्सदमा र टर्चर नभएको समयमा राम्रो हुनसक्छ,’ शर्माले भने, ‘हामी त्यस्तो समय खोज्थ्यौँ । एक हिसावले कोरोनाले फाइदा नै पुग्यो, हामीले खोजेजस्तो फुर्सदको समय मिल्यो ।’ आफूले पनि यो समय संगीतमा केही राम्रो र नौलोपन दिन सफल भएको शर्माले सुनाए ।

कुनै पनि सिर्जनाका लागि फुर्सद महत्वपूर्ण हुने संगीतकार हरि लम्साल पनि बताउँछन् ।

‘कोरोनाको कहरमा सुरुवाती केही समय सिर्जनात्मक गतिविधि बढाउन गाह्रो भएको थियो,’ लम्सालले भने, ‘केही समयपछि घरमै रहेर गतिविधि बढाउन थालियो र केही फरक दिन पनि सफल भइयो ।’

बजार, श्रोताको मागलगायत कुरालाई समेत बुझ्न आफूलाई समय मिलेको उनको भनाइ छ ।

संगीतकार अर्जुन पोखरेले पनि कोरोनाको समय आफूले अन्य समयभन्दा फरक र स्तरीय संगीत सिर्जना गर्न सफल भएको बताए ।

कम खर्चमा स्तरीय भिडियो

गीत–संगीत राम्रो बनाएर मात्र हुँदैन । त्यसबाट आम्दानी गर्न प्रमोशनका लागि बन्ने म्युजिक भिडियो राम्रो बन्नुपर्छ । भिडियो राम्रो हुनका लागि त्यसका कलाकारदेखि सबै पक्षको महत्व हुने गर्दछ ।

कोरोना महामारी अगाडि म्युजिक भिडियोहरुमा फिल्म क्षेत्रका चर्चित कलाकार पाउन मुस्किल थियो । पाए पनि महँगो रकम तिर्नु पथ्र्यो । कोरानाले फिल्म गतिविधि ठप्प भएपछि फिल्मका राम्रा कलाकारसमेत समयको सदुपयोग भन्दै म्युजिक भिडियोमा उत्रिए । यसले म्युजिक भिडियोको स्तर वृद्धि भएको संगीतकार हरि लम्साल बताउँछन् ।

‘भिडियोमा राम्रो कलाकार पाएपछि निर्माण पक्षले पनि मेहनत राम्रो गर्नुप-यो,’ लम्सालले भने, ‘सबै पक्षको समिश्रणले भिडियोको क्लालिटी पनि राम्रो भयो ।’

पहिले धेरै पैसा लिने कलाकारले समेत यो समय थेरै रकममा काम गरेका कारण पनि भिडियोमा लगानी गर्ने गायक गायिकालाई समेत आर्थिक भार कम भएको लम्सालको भनाइ छ ।

लम्सालको कुरामा संगीतकार टंक बुढाथोकी पनि सहमति जनाउँछन् । उनी कलाकारको खर्चमात्र होइन, प्राविधिकको खर्चमा समेत कमी आएको बताउँछन् ।

‘कोरोनाको महामारीका कारण भिडभाडजन्य गतिविधिमा रोक लागेपछि थोरै ब्यक्तिबाट काम सकाउन थालिएको छ,’ टंकले भने, ‘यसले गर्दा म्युजिक भिडियोमा लाग्ने खर्च समेत घट्न पुगेको छ ।’

अहिले बाध्यताले थोरै ब्यक्तिबाट काम लिनु परे पनि बिस्तारै काम गर्दै जाँदा पछि थोरै ब्यक्तिबाट उत्कृष्ट काम निकाल्ने वातावरण समेत बन्ने बुढाथोकीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप