सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘अघोषित’ रुपमै खुल्योे पर्यटन क्षेत्र, मन्त्रालय र बोर्डबीच समन्वयको अभाव

व्यवसायी भन्छन्– केन्द्रले खोल्ने तर स्थानीयले अवरोध गर्ने अवस्था नबनोस्
मङ्गलबार, २३ मङ्सिर २०७७, १५ : ५५
मङ्गलबार, २३ मङ्सिर २०७७

काठमाडौं । लामो समयदेखि बन्द रहँदै आएको पर्यटन क्षेत्र अघोषित रुपमा खुला भएको छ । गत चैतदेखि कोभिड–१९ का कारण पूर्णतः प्रभावित हुँदै आएको मुलुकको होटल, पर्यटन, हवाइ उडानलगायतका क्षेत्र सरकारले अघोषित रुपमै खुला गरेको हो ।

पर्यटन क्षेत्र खुला हुन केही बाँकी नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले रातोपाटीसँग बताए । ‘पर्यटन क्षेत्र पूर्णतः खुला भइसकेको छ । अब कुनै पनि रुपमा कुनै क्षेत्र खुल्न बाँकी छैन,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई क्षेत्र खुला भइसकेको छ । सार्वजनिक यातायातका क्षेत्र पनि करिब करिब पूर्णतः खुला भइसके । यता होटल, रेष्टुरेन्ट, रिसोर्टसँगै मनोरञ्जन पर्यटनका क्षेत्र बोटिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ लगायत  पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायहरु समेत खुलिसकेको अवस्था हो ।’ 

यस्तो अवस्थामा अब पनि केका आधारमा पर्यटन क्षेत्र खुल्न बाँकी छ भन्ने भनेर उनले प्रश्नसमेत गरे । पर्यटन क्षेत्रसँग सम्बन्धित कुनै पनि व्यवसायमा रोकटोक नरहेको उल्लेख गर्दै उनले स्थानीय तहसँग भने समन्वय गर्नुपर्ने बताए । ‘स्थानीय तहहरुसँग समन्वय गरेर व्यवसायी साथीहरुले व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ,’ उनले भने ।

त्यसो त पर्यटन मन्त्री भट्टराईले केही दिनअघि मात्र आगामी माघदेखि मात्र पूर्णतः पर्यटन क्षेत्र खुला गर्ने बताएका थिए । यद्यपि पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, पर्यटन तथा हवाइ उडान जस्ता क्षेत्रहरु क्रमशः खुलिसकेको अवस्थामा अब पर्यटन क्षेत्र खुला गर्न माघ पर्खिरहनु नपरेको मन्त्री भट्टराईको भनाइ छ । 

उनका अनुसार अब पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीले स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्य सुरक्षाका आवश्यक प्रोटोकल अपनाएर व्यवसाय सञ्चालन गर्न सक्नेछन् ।

माथिको निर्णय कुर्दै बोर्ड
मन्त्रालयले पर्यटन क्षेत्र पूर्णतः खुला भइसकेको बताइरहँदा पर्यटन बोर्डले भने आधिकारिक निर्णय खोजिरहेको छ । मन्त्रालयले कहिले निर्णय गर्ला र कार्यान्वयनमा जाउँला भनेर बोर्ड कुरिरहेको अवस्था छ । माथिबाट निर्णय आउनेबित्तिकै कार्यान्वयनमा जाने गरी आफूहरु तयारी अवस्था रहेको बोर्डका कार्यकारी निर्देशक (सिईओ) धनन्जय रेग्मीले बताए ।

‘पर्यटन क्षेत्र खुला गर्न ढिला भइसक्यो । अब छिटोभन्दा छिटो खुला गर्नुपर्छ भन्ने पक्षमा बोर्ड रहेको छ, व्यवसायीहरुको माग र आवश्यकताका आधारमा बोर्ड पूर्णतः तयारी अवस्थामै छ । हामी केवल माथिको निर्णय कुरिरहेका छौँ,’ सिइओ रेग्मीले भने, ‘माथिबाट निर्णय आउनेबित्तिकै हामी एक्सनमा जान्छौं ।’

त्यसो त सार्वजनिक यातायातसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा, पर्यटन व्यवसायसँग सम्बन्धित अन्य मनोरञ्जनका क्षेत्रहरुसमेत खुलिसकेको अवस्थामा अब करिब करिब पर्यटन क्षेत्र पूर्णतः खुलिसकेको रेग्मीले बताए । अब रात्रिकालीन होटल तथा मनोरञ्जनका क्षेत्रहरु मात्र खुल्न बाँकी रहेको उनको भनाइ छ ।

केन्द्रले खोल्ने तर स्थानीय तहले रोक्ने अवस्था नबनोस्
सरकारले अघोषित रुपमा पर्यटन क्षेत्र खुला गरेको जानकारी पाउँदै गरेका ट्रेकिङ्ग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)ले भने घोषित÷अघोषित जुन रुपमा पर्यटन क्षेत्र खुला गरे पनि अब माथिबाट खोल्ने र तल्लो तहबाट रोक्ने काम कतैबाट हुन नहुने बताएको छ ।

टानका अध्यक्ष खुम सुवेदीले रातोपाटीसँग कुरा गर्दै भने, ‘विगतमा केन्द्र सरकार र स्थानीय सरकारहरुबीच समन्वयको अभाव देखियो । कोभिड–१९को स्वास्थ्य सुरक्षा तथा सावधानीका लागि अपनाइएको लकडाउन एवं निषेधाज्ञाको विषयमा केन्द्र सरकार र स्थानीय सरकारहरु बीच निकै विवाद देखिए । केन्द्र सरकारले एक खालको निर्णय गर्ने तर स्थानीय सरकारले त्यो नमान्ने परिपाटी देखियो । यसले व्यवसायी, मजदुर र सर्वसाधारणलाई समेत निकै सास्ती थियो । तर अब त्यस्तो अवस्था नआओस् भन्ने टान चाहन्छ ।’

अब केन्द्रले खोल्ने र स्थानीयले रोक्ने अवस्था नबनोस् भन्ने सुवेदीको आशय थियो । उनका अनुसार अब जसरी पनि पर्यटन क्षेत्र खुला गर्नुपर्छ र त्यसका लागि सरकारले आवश्यक स्वास्थ्य सुरक्षाका प्रोटोकलसहित व्यावसायिक मर्यादाको परिपालनामा ध्यान दिनुपर्छ । 

रात्रिकालीन सेवा खोल्न व्यवसायीहरुको दबाब
व्यवसायीहरुले रात्रिकालीन सेवा समेत खुल्ला गर्न पाउनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन सुरु गरेका छन् । करिब ८ महिनादेखि बन्द रहँदैआएको अन्य होटल, पर्यटन व्यवसायसँगै मनोरञ्जन पर्यटन व्यवसायसँग सम्बन्धित दोहोरी साँझ, बार लगायत नाइट क्लबहरुले व्यावसायिक स्वतन्त्रता पाउनु पर्ने व्यवसायीहरुको माग छ । 

लामो समयदेखि बन्द रहँदै आएको व्यवसायबाट ठूलो आर्थिक नोक्सान भएको बताउँदै व्यवसायीहरुले अब पनि व्यवसाय खोल्न नपाए पलायन हुनुपर्ने अवस्था आउने प्रस्ट पारेका छन् । 
ठुलो संख्यामा पर्यटकको झुकाव रहने र अधिक राजस्व संकलन हुने रात्रिकालीन मनोरञ्जन पर्यटन क्षेत्रलाई समेत अब अन्य व्यवसायजस्तै प्रक्रिया पु¥याएर खोल्न दिनुपर्ने होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताए ।

गत चैतदेखि निरन्तर बन्द रहँदैआएको पर्यटन क्षेत्रले गएको ८ महिनामा मात्र करिब २० अर्ब रुपैयाँ बराबरको नोक्सान व्यहोरिसकेको र सो अवधिमा व्यवसाय बन्द हुँदा करिब ५ लाख मजदुर प्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप