आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीको ‘प्लान थ्री’ : प्रचण्ड–नेपाल कसरी अघि बढ्लान् ?

विश्लेषक श्रेष्ठ भन्छन्, प्रचण्ड–ओली मिलन असम्भव
बिहीबार, २५ मङ्सिर २०७७, १४ : ०७
बिहीबार, २५ मङ्सिर २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादमा सकभर सहमति खोज्ने उद्देश्यले एक साताका लागि रोकिएको स्थायी समिति बैठकको समयावधिको मध्यान्तर कटेको छ । तर, यो बीचमा अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक पटक भेटवार्ता भएपनि त्यो भेटवार्ता सहमतिउन्मुख भने हुन सकेको छैन । बरु दुवै पक्ष आ–आफ्नो रणनीति बनाउन व्यस्त छन् । 
अध्यक्ष ओलीको अनुपस्थितिमा मंसिर २१ गते आइतबार पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बसेको थियो । 

त्यसको चार दिनपछि ओली र प्रचण्डबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता र पार्टी विवादबारे छलफल भयो । उक्त छलफलमा प्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डलाई वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुसँगको गठबन्धन वा सहकार्य तोडेर आफूसँग मिल्न आग्रह गरेका छन् ।

सुन्दा पनि अचम्म लाग्ने छ, नेकपाको विवाद । एकातिर विधि, विधान, पद्धति र प्रणाली विकास गर्ने रटान छ भने अर्कोतिर एक नेताले अर्को नेतालाई फलानो यस्तो, अर्को यस्तो, मसँग मिल्दा फाइदा, उसित मिल्दा घाटा, भन्ने जोडघटाउ भइरहेको छ । मानौ, कुनै व्यापारीबीच कुनै वस्तुको किनबेच भइरहेको छ र त्यहाँ घाटा नाफाको हिसाव कितावमा मोलमोलाई चल्दैछ । 

पार्टीभित्रको संकट समाधान गर्ने आधिकारिक निकाय भनेको पार्टी कमिटी नै हो । तर आफूलाई कम्युनिस्ट दावी गर्ने नेकपाका नेताहरु पार्टी कमिटीमा विश्वास नगरी व्यक्ति व्यक्तिबीच लेनदेनलाई प्रमुख आधार बनाएर हिँड्न लालयित भएको देखेर यसका कार्यकर्ताहरु नै लज्जित हुन बाध्य बन्दैछन् ।

प्रचण्ड ओली मिलन कति सम्भव ?
बुधबार भएको ओली र प्रचण्डबीचको छलफलपछि के वरिष्ठ नेता नेपालसँगको सहकार्य छोडेर प्रचण्ड ओलीसँग मिल्न आउलान् त ? भन्ने प्रश्न पनि उठेको छ । यो प्रश्नमा राजनीतिक विश्लेषक श्याम श्रेष्ठ त्यस्तो सम्भावना नरहेको विश्लेषण गर्छन् ।

 ‘अहिलेको अवस्थामा प्रचण्डले नेपालसहितका नेतासँगको सहकार्य छोडेर ओलीसँग मिल्ने सम्भावना शून्य छ’, श्रेष्ठले रातोपाटीसँग भने, ‘त्यस्तो कुनै सम्भावना छैन र देखिँदैन पनि । किनभने ओलीले यस्ता आश्वासन धेरैलाई दिएका छन् र सवैलाई धोकामात्रै दिएका छन् । उनको व्यवहार र कार्यशैलीबाट सवै हैरान भएका छन् ।’

उनले माधव नेपाल वा प्रचण्डलाई ओलीले धेरै पटक धोका दिएको उदाहरण दिँदै भने, ‘प्रचण्डलाई दुई पटक ओलीले धोका दिए । कार्यकारी अध्यक्ष र प्रधानमन्त्री दिने नाममा । यसले कुनैपनि बचन पालना गर्ने ओलीको स्वभाव नै छैन भन्ने बुझिन्छ ।’ उनले अहिलेको अवस्थामा ओलीसँग कोहीपनि मिल्न जाने अवस्था नदेखेपछि ओलीले कोही न कोही नेता आफूतिर तानेर बहुमत पुर्याउने प्रयत्नअनुसार प्रचण्डलाई फकाउन खोजेको आफूले बुझेको बताए । 

त्यसो गर्दा केही नेता आफ्नो पक्षमा आएको खण्डमा बाँकीलाई कारवाही गर्ने र ठेगान लगाउन सहज हुने देखेर पार्टी कमिटिलाई पन्छाएर व्यक्ति विशेषका नेताहरुलाई फकाइरहेको हुनसक्ने दावी गरे ।
‘पार्टीमा ओली चरम अल्पमतमा परेका बेला फकाउने प्रयास गर्नु स्वभाविक हो । यसो गर्दा कोही फकिएर आएभने अरुमाथि कारवाही गर्न उनलाई सहज हुन्छ, ताकी पार्टी सधैँ आफ्नो कव्जामा रहिरहोस्’, वाम विश्लेषक श्रेष्ठको भनाइ छ ।  

ओलीका ‘प्लान थ्री’ 
विश्लेषक श्रेष्ठ ओली तीनवटा योजनामार्फत अघि बढ्न खोजेको बताउँछन् । श्रेष्ठका अनुसार ‘प्लान वान र टु’ अन्तर्गत आफ्नो पक्षमा बहुमत पुुर्याउने र एकलौटी पार्टी कब्जा गर्ने योजना छ र पार्टीमा बहुमत भएपछि एमसीसी पास गराउने । त्यो गर्नका लागि पनि पार्टी कमिटीमा बहुमत चाहिने भएकाले सो अनुरुप ओली अघि बढेको उनको बुझाइ छ ।  त्यस्तै ओलीको प्लान ‘थ्री’ मा दुवै प्रतिवेदन फिर्ता गराउने र अर्को प्रतिवेदन बनाउने रहेको छ । तर यो योजना सफल हुन सकस छ । 

नेकपा बैठकमा ओली र प्रचण्डका दुई दस्तावेज पेश भएका छन् । ती दस्तावेज स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ । तर ओलीले प्रचण्डको दस्तावेजलाई आरोपपत्र भन्दै फिर्ता लिन लगाउने वा त्यसमा छलफल नै हुन नसक्ने बताइरहेका छन् । उता प्रचण्ड–नेपाल पक्षले भने दुवै दस्तावेजमाथि छलफल गरेर निचोडमा पुग्नुपर्ने बताइरहेका छन् । त्यसका लागि स्थायी समिति नभए केन्द्रीय समितिमा समेत छलफलका लागि दस्तावेज लैजाने तयारीमा छन् । 

तर, सचिवालय र स्थायी समितिमा अल्पमतमा परेका ओली त्यसरी पार्टी कमिटीमा लैजाँदा र बहुमत अल्पमतबाट निर्णय गर्दा आफूले अध्यक्ष र प्रधानमन्त्री दुुवै पद छोड्नुपर्छ भन्ने मानसिकतामा छन् । 
यस्तोमा प्रचण्ड– माधव नेपाल कसरी अघि बढ्छन् त ? भन्ने प्रश्नमा विश्लेषक श्रेष्ठ प्रचण्ड–नेपाल पक्ष पनि तिनवटा लक्ष्यमा अघि बढेको आफूले पाएको बताउँछन् । 

उनले भने,  ‘प्रचण्ड–नेपाल ओलीलाई त्यसरी फालिहाल्ने पक्षमा छैनन् । त्यो अवस्था म देख्दिनँ ।’ ओलीलाई हटाउँदा पार्टी फुट्ने भन्दै श्रेष्ठले पार्टी फुटाउने पक्षमा प्रचण्ड–नेपाल नरहेको दावी गरे । 
‘त्यसरी ओलीलाई हटाउँदा पार्टी फुट्छ । पार्टी फुटाउने पक्षमा प्रचण्ड–नेपाल छैनन, बरु ओलीलाई दुई मध्य एक पदमात्रै छोड्न लगाउने उनीहरुको रणनीति हुनसक्छ’, श्रेष्ठको बुझाइ छ । प्रचण्ड–नेपालको यही रणनीति बुझेर होला ओलीले आफूले अहिले कुनैपनि पद नछोड्न अडान अघि सार्दै अध्यक्षका लागि महाधिवेशन र प्रधानमन्त्री पाउन अर्को चुनाव कुर्न भनिरहेका छन् ।
अर्को रणनीति प्रचण्ड–नेपाल समूह आफ्ना पक्षका नेता कार्यकर्तालाई न्यायोचित जिम्मेवारी दिलाउनतर्फ लागेको श्रेष्ठको भनाइ छ । 

‘कसैलाई मन्त्री दिलाउने होला त कसैलाई मुख्यमन्त्री र कसैलाई राजदूत दिलाउने लक्ष्य हुुनसक्छ’, श्रेष्ठले भने, ‘अन्तिम लक्ष्यमा केपी ओलीलाई ठिक ठाउँमा राख्ने नै हो ।’ प्रचण्ड नेपाल यस्तो योजनामा रहेपनि ओलीले आफूलाई दुवै पदबाट हटाउन लागे भन्ने मनोभावबाट ग्रसित भएको श्रेष्ठ बताउँछन् ।  ‘बेला न कुबेला मलाइ हटाउन लागे भनेर ओलीले अभिव्यक्ति दिनु र आफू कुनै हालतमा हट्दिन भन्नुमा दुवै पदबाट हटाउँछन् भन्ने मनोभावले काम गरेको देखिन्छ । तर प्रचण्ड पक्षमा त्यो लक्ष्य नै देखिँदैन’, श्रेष्ठको निष्कर्ष छ । 

उन्नत प्रतिवेदन कति सम्भव ? 
विवादको निकासका लागि ओली पक्षले दुवै अध्यक्षका प्रतिवेदन थाति राखेर अघि बढ्नुपर्ने भन्दै छुट्टै कार्यदल बनाएर अघि बढ्नुपर्ने प्रस्ताव अघि सारेको छ । यही आशयले नेता शंकर पोखरेलले २१ गतेको बैठकमा प्रस्ताव अघि सारेपनि उनको प्रस्ताव अस्वीकृत भइसकेको छ । 

अझैपनि ओली पक्षका केही नेताहरु त्यसैको गृहकार्यमा जुटेको भन्दै श्रेष्ठले प्रचण्ड पक्ष त्यसमा सहमत हुन नसक्ने बताउँछन्् । ‘प्रचण्ड पक्षले आफ्नो प्रतिवेदन फिर्ता  गर्ला र संयुक्त प्रतिवदनमा जालान् भन्ने देखिँदैन’, श्रेष्ठको भनाइ छ, ‘कनभने ओलीको विपक्षमा वामदेवसमेत भएकाले प्रचण्डपक्ष पछि हट्नुपर्ने अवस्थामै छैनन् ।’ 

विश्लेषक श्रेष्ठको भनाइमा नेकपाभित्रको विवादको निकास लोकतान्त्रिक तरिकाबाटै खोज्नु उपयुक्त हुन्छ । त्यो लोकतान्त्रिक निकास के त ? श्रेष्ठ भन्छन्, ‘दुवैथरी केन्द्रीय समिति बैठकमा जाने । त्यहाँ गएर सवैले आफ्ना कुरा राख्ने । त्यसरी कुरा राख्दा केन्द्रीय समिति पार्टी फुटाउने वा कसैलाई भित्तैमा पुर्याउनेगरी कारवाही गर्ने पक्षमा पुुग्दैन ।’ उनले केपी ओलीलाई कसैले बचाउन सक्छ भने केन्द्रीय समितिले सक्ने पनि दावी गरे । ‘यदि ओलीलाई कसैले बचाउन सक्छ भने केन्द्रीय समिति नै हो । तर त्यही केन्द्रीय समितिबाट ओली डराइरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप