आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीबीसी मास्टर सेफको फाइनल राउण्डमा सन्तोष, नेवारी परिकारलाई विश्वमा चिनाए

शुक्रबार, २६ मङ्सिर २०७७, ०९ : २१
शुक्रबार, २६ मङ्सिर २०७७

 लण्डन । विगत केही हप्तादेखि बीबीसी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको फाइनल राउण्डमा  प्रवेश गरेका छन् ।

 बिहीबार राति प्रसारित एपिसोडमा सन्तोषले निर्णायक मण्डललाई नेवारी परिकार ‘योमरी’ चखाएर उनीहरुको मन जितेका थिए । यसका साथै उनले निर्णायकहरुको अनुरोधमा चिकन चिल्ली, हट  एण्ड सावर सुप, क्रिस्पी नूडल्स  लगायतका इन्डो चाइनिज  परिकारहरु पनि पस्किएका थिए । 

बिहीबारको सेमीफाइनल राउण्डबाट सन्तोषले उत्कृष्ट ६ मा पर्दै फाइनल राउन्डको यात्रा तय गरेका हुन् ।  ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा जम्मा ३२ जना व्यावसायिक सेफहरुसँगको विभिन्न चरणको प्रतिस्पर्धा गर्दै उनि टप ६ सम्म पुग्न सफल भएका छन् । 
प्रतियोगिताको फाइनल अर्को हप्ता डिसेम्बर १७ तारिखमा हुँदैछ । यसअघिको राउन्डमा सन्तोषले रोस्टेड काँक्रोको बिँया, पोलेको कटहरको बिँया, बन तरुल, प्याजको अचार, स्याउको चट्नी लगायतका परिकारको सफल प्रदर्शनी गरेर टप ८ मा पर्न सफल भएका थिए ।

नेपाली खानालाई विश्वसामू पुर्याउने  लक्ष्य लिएर अघि बढेका सन्तोषले यस अघि विभिन्न नेपाली परिकारहरु टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र  टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर  बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन्  ।

यतिमात्र हैन लाखौँ दर्शकले विश्वभरबाट अवलोकन गरेको उक्त टिभी शो मार्फत उनले नेपाली खानालाई अन्तर्राष्ट्रिय जगतमा राम्रोसंग परिचित गराउन सफल भएका छन् । यस किसिमको प्रतिस्पर्धामा सहभागिता जनाउने सन्तोष साह नै पहिलो नेपाली हुन् । प्रतिस्पर्धाको फाइनल राउण्डसम्म पुग्नेमा  भारतीय वा अन्य कुनै कुइजिन लिएर पुग्ने नेपाली सेफहरु समेत खासै चिनिएका छैनन् ।

सिरहा जिल्लाको कर्जन्हा घर भएका सन्तोषको पारिवारिक पृष्ठभूमि अत्यन्त कमजोर थियो । पारिवारिक समस्याका कारण भारत छिरेका सन्तोष आफ्नो मिहिनेत, परिश्रम र लगनशीलताका कारण भारतको पाँचतारे होटलदेखि लन्डनको मिसेलिन स्टार सेफद्वारा संचालित रेष्टुरेन्टसम्म पुग्न सफल भए ।

अहिले उनी बेलायतस्थित प्रतिष्ठित भारतीय रेष्टुरेन्ट तथा होटलहरुमा उच्च तहको सेफका रुपमा कार्यरत छन् । यहाँ निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरुमा एक्जुकेटिभ सेफसम्मको उच्च पोजिसिनमा पुगेका छन् उनी । बेलायतमा रेष्टुरेन्ट तथा होटल क्षेत्रमा एक नेपालीले पाएको यस्तो सफलता सायदै अन्य नेपालीले पाएका होलान् । 

इण्डियन कुइजिनबाट वर्षौंदेखि सँगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउने उनले बताए । नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेर उनी अघि बढेका छन् । ‘मिसिलिन स्टार’ भनेको विश्वका गुणस्तरीय र राम्रो खानेकुराको उत्कृष्ट सेवा पुर्याउने रेष्टुरेन्टलाई दिइने विशेष सम्मान तथा पहिचान हो । 

आगामी फाईनलमा सन्तोषले कस्तो नतिजा प्राप्त गर्नेछन् त्यो त हेर्न बाँकी नै छ, तैपनि नेपाली खान लिएर अहिलेको अवस्थामा पुग्नु  नेपाल र नेपालीकै गौरवको विषय हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप