सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रभु लाइफको इन्स्योरेन्सको आईपीओ सोमबारदेखि खुल्दै, कति गर्ने लगानी ?

कस्तो छ कम्पनीको अवस्था ? कति पुग्ला मूल्य ?
शनिबार, २७ मङ्सिर २०७७, १६ : १९
शनिबार, २७ मङ्सिर २०७७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ सोमबारदेखि खुल्दैछ । नयाँ लाइसेन्सप्राप्त जीवनबीमा कम्पनीमध्येको दोस्रो आईपीओको रुपमा प्रभुले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 
अहिले सो कम्पनीसँग १ अर्ब ४० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको सो इन्स्योरेन्सले आफ्नो चुक्ता पुँजीलाई जारी पुँजी बराबर पुर्याउन सो आईपीओ निष्कासन गर्न लागेको हो । सो आईपीओ जारी भएसँगै प्रभु लाइफले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब बराबरको चुक्ता पुँजी पुग्नेछ । त्यस्तै, सञ्चालनमा आएको ३ वर्षभित्र साधारण सेयरनिष्कासन गर्नैपर्ने नियामकीय प्रक्रिया समेत पूरा गर्नेछ । 

प्रभु लाइफले जारी गर्न लागेको उक्त शेयरमध्ये कर्मचारी र सामुहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि ३÷३ लाख कित्ता समेत छुट्याएको छ । बाँकी रहेको ५४ लाख कित्ता सेयर भने सर्वसाधारण शेयरधनीले प्राप्त गर्नेछन् । १ सय रुपैयाँ बराबरको अंकित मूल्यमा उक्त आईपीओ बिक्री हुनेछ । सो आवेदन डिम्याट एकाउन्टमा आवद्ध भएका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ । उक्त सोमबारदेखि खुल्ने उक्त आईपीओको आवेदन बिहीबार (पुस २ गते) बन्द हुनेछ ।

कस्तो छ प्रभु लाइफका अवस्था ?
प्रभु लाइफ इन्स्योरेन्स २०७४ मंसिर २८ गतेदेखि सञ्चालनमा आएको कम्पनी हो । यो कम्पनी प्रभु ग्रुप अन्तर्गतका लगानीकर्ता मुख्य प्रवद्र्धक रहेको जीवनबीमा कम्पनी हो । यसमा प्रभु बैंकको २० लाख कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७७ हजार कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको १४ लाख कित्ता, प्रभु ग्रुपको १० लाख कित्ता, प्रभु म्यानेजमेन्टको ७ लाख कित्ता, प्रभु क्यापिटलको ५ लाख कित्ता, बागलुङका विराटकुमार श्रेष्ठको ३ लाख ५० हजार तथा देवीप्रकाश भट्टचनको ३ लाख ४९ हजार ५ सय कित्ता सेयरलगानी रहेको छ ।

प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा ७.५१, आगामी आर्थिक वर्षमा १०.४१ प्रतिशत र त्योभन्दा अर्को वर्ष १३.१४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । इन्स्योरेन्सले सो अवधिसम्म चुक्ता पुँजी वृद्धि गर्ने लक्ष्य नलिएकोले सो अवधिसम्म बोनस सेयरभने वितरण गर्ने छैन । 

चालु आर्थिक वर्षको असोजसम्म प्रुभले २ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जसमध्ये आर्थिक वर्ष २०७४÷७५ मा ११ करोड ४० लाख,  २०७५÷७६ मा ४७ करोड ३८ लाख र २०७६÷७७ मा १ अर्ब १९ करोड ७८ लाख रुपैयाँ र यो वर्षको ३ महिनामा २२ करोड ५९ लाख रहेको जनाइएको छ । 

बाल बीमा, आजीवन जीवनबीमा, सावधि जीवनबीमा र वार्षिक वृत्ति जीवनबीमा समेत गरी ४ वटा बीमा योजना ल्याएको छ । पुरक करार अन्तर्गत घातक रोग, दुर्घटना मृत्युबीमा, बीमाशुल्क छुट सुविधा र मासिक आय सुविधा जस्ता योजना समेत ल्याएको छ । शाखा र उपशाखा समेत गरी देशभरका ९० वटा स्थानबाट कारोबार गर्दै आएको सो कम्पनीसँग असोज मसान्तसम्म १ लाख २० हजारको बीमाशुल्क कायम रहेको छ । हाल प्रभु लाइफले आफ्ना बीमितहरुलाई ३० देखि ७० रुपैयाँ प्रतिहजारसम्म बोनस दिँदै आएको छ । प्रभु लाइफमा हाल २ सय ५८ जना कर्मचारी रहेका छन् ।

कति गर्ने लगानी ? 
प्रभु लाइफले सर्वसाधारणका लागि खुला गरेको ५४ लाख कित्ता सेयरबढीमा ५ लाख ४० हजारलाई १०/१० कित्ताको दरले बाँडफाँट गर्न पुग्छ । धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार सबैलाई १० कित्ता नघटाई सबैलाई सेयरदिनुपर्ने भएकोले योभन्दा कम आवेदक भए मात्रै १० कित्ता भन्दा बढी सेयरबाँडफाँट गर्न पुग्छ । 

तर, आईपीओ आवेदनको ग्राफ हेर्दा सोभन्दा कम आवेदक पर्नसक्ने सम्भावना नरहेकोले प्रभु लाइफले तोकेको न्यूनतम १० कित्ताको लागि गरिएको आवेदन नै पर्याप्त हुने सम्भावना देखिन्छ । त्योभन्दा धेरै आवेदक भएमा गोला प्रथाबाट शेयरको बाँडफाँट गर्नेछ । 

पछिल्लो लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसार प्रभु लाइफको नेटवर्थ १ सय ९ रुपैयाँ ५६ पैसा रहेको छ । यो नेटवर्थका आधारमा यो कम्पनीको पहिलो कारोबार १ सय १० रुपैयाँदेखि ३ सय २८ रुपैयाँसम्म हुनेछ । यसअघि आएको रिलायन्स लाइफको मूल्य ६ सयभन्दा बढी मूल्यमा दोस्रो बजारमा कारोबार भइरहेको छ । दुई कम्पनीको वित्तीय अवस्था लगभग उस्तै रहेकोले यसको मूल्य पनि सोही हाराहारीमा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप