सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लन्डनमा संक्रमण दर उच्च, कडा प्रतिबन्ध लगाउने  तयारी

सोमबार, २९ मङ्सिर २०७७, १९ : ०७
सोमबार, २९ मङ्सिर २०७७

लन्डन । लन्डनमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गएपछि चाडै थप  कडा प्रतिबन्ध सम्बन्धि नियम लागू हुने भएको  छ । गत नोभेम्बर ५ तारिखबाट चार हप्ताको लागि जारी गरिएको लकडाउन खुकुलो भएसँगै सरकारले  संक्रमणको जोखिमका आधारमा तीन तहको प्रतिबन्ध लागू गरेको थियो । जसअनुसार अति उच्च, उच्च र मध्यम गरी तीन तहका जोखिमको वर्गीकरण गरी क्षेत्रगत रुपमा प्रतिवन्धहरु लागू गरिंदै आएको छ ।  

शुरुमा लन्डनमा जोखिम कम भएपनि पछिल्लो समयमा राजधानीमा  संक्रमण दर तीव्र रुपमा बढेको सरकारी तथ्याँकले देखाएको छ । लन्डनमा भएको कोरोना संक्रमणको वृद्धिदरलाई लिएर मन्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । कतिपय स्थानहरुमा एकसाताभित्र ७१ प्रतिशतसम्म संक्रमण दर बढेको बताइएको छ ।

लन्डन मेयर सादिक खानले लन्डनका सेकेण्डरी स्कुल र कलेजहरु क्रिसमस अघि चाडै नै बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।  संक्रमण दर बढ्दै गएपछि चांडो भन्दा चाँडो आजै लन्डनलाई ‘टीयर थ्री’ अर्थात  अति उच्च जोखिम क्षेत्रमा घोषणा गर्ने तयारी भैरहेको  अधिकारीहरुले बताएका छन् । 

कतिपय काउन्सिल प्रमुखहरुले ‘टीयर थ्री प्लस’अर्थात कडा प्रतिवन्ध लागू गर्नुपर्नेमा जोड दिएका छन् ।  इष्ट ससेक्स क्षेत्रलाई पनि ‘टीयर थ्री’ मा सार्ने तयारी भैरहेको अधिकारीहरुले बताएका छन् ।  अति उच्च (टीयर थ्री) अलर्टमा राखिएका क्षेत्रमा सबैभन्दा कडा प्रतिबन्धहरु लागू हुनेछन् । जहाँ अन्य घरको मानिसहरुसँगको इन्डोर तथा प्राइभेट गार्डेनमा समेत भेटघाटमा रोक लगाइनेछ । पार्क, बीच जस्ता स्थानहरुमा  ‘ग्रुप अफ सिक्स’ को नियम लागू हुनेछ, जहाँ भेटघाट गर्न पाइनेछ । 

पसल, जीम र पर्सनल केयर सर्भिसहरु जस्तै हेयर ड्रेसिंगहरु खोल्न पाइनेछ । पब, बार, क्याफे तथा रेष्टुरेन्टहरु टेक अवेबाहेक सबै बन्द रहनेछन । मानिसहरु एक क्षेत्रबाट अर्को क्षेत्रमा जान पाउने छैनन् । यसैगरी खेल इभेन्टहरुमा दर्शकहरु प्रत्यक्ष रुपमा हेर्नको लागि स्टेडियमसम्म जान पाउने छैनन् ।

बेलायतमा शनिबार साँझसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आइतबार साँझसम्म ६४ हजार नाघेको छ । यसैगरी आइतबार थप १८ हजार ४४७ जना नयाँ संक्रमित थपिएका थिए । बेलायतमा कूल संक्रमितको संख्या १८ लाख ४९ हजार ४०३ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप