सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ केबलकारसहित चार ठूला परियोजनाको बन्यो डीपीआर

मङ्गलबार, ३० मङ्सिर २०७७, २० : ५३
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । विश्वकै सबैभन्दा लामो केवलकार परियोजनाको रुपमा प्रस्ताव गरिएको मुक्तिनाथ केबलकारको डीपीआर तयार भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८०.६ किलोमिटर लामो केवलकार निर्माणका लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रा.लि. ले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गरेको हो ।

उक्त लगानीको अन्तिम स्वीकृतिका लागि सो कम्पनीले सो डीपीआरलाई लगानी बोर्डमा पेश समेत गरेको छ ।  २०७५ भदौ २७ गते उक्त परियोजनाको डीपीआर २ वर्षभित्र तयार गर्नेगरी लगानी बोर्ड र सो कम्पनीबीच समझदारी भएको थियो । सो कम्पनीले साढे २ महिना तोकिएको भन्दा साढे २ महिना ढिलो मंसिर १४ गते बोर्डमा उक्त डीपीआर पेश गरेको हो ।

प्रारम्भिक सम्भाव्यता अध्ययनको क्रममा उक्त परियोजनाको लम्बाई ८३.६५ किलोमिटर हुने अनुमान गरिएकोमा यस्तो लम्बाई करिब ३ किलोमिटर घटेको हो । यो केवलकार वीरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ पुग्नेछ ।  यो केबलकार विश्वकै सबैभन्दा लामो केवलकार हुनेछ । अहिले विश्वमा सर्वाधिक लामो केवलकार भियतनाममा छ । यसको लम्बाई ७.८९९ किलोमिटर छ । यो परियोजना निर्माण भएमा त्योभन्दा १० गुणा लामो केवलकार बन्नेछ । 

अरु तीन परियोजनाको डीपीआर पेश

मुक्तिनाथ केवलकारका अतिरिक्त यो महिनामा लगानी बोर्डका थप ३ वटा परियोजनाको डीपीआर समेत सम्पन्न भई लगानी बोर्डमा पेश भएका छन् । भैरहवा र वीरगञ्जमा निर्माण हुने प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्यान्डेलिङ फ्यासिलिटिज, विराटनगरमा निर्माण हुने मल्टिमोडल लजिष्टिक पाक तथा झापामा निर्माण हुने नेपाल चीन मैत्री पार्कको डीपीआर समेत लगानी बोर्डमा पेश भएको हो । 

भैरहवा र वीरगञ्जको फ्रेट टर्मिनलको डीपीआर मंगलबार (मंसिर ३० गते) बोर्डमा पेश गरिएको हो । यो आयोजनाको विकासकर्ता कम्पनी फ्लास फ्रेट लजिष्टिक एण्ड इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फास्ट्रक्चर प्रा.लि. ले लगानी बोर्डसँग २०७६ मंसिर १५ गते बोर्डसँग डीपीआर निर्माणको सहमति गरेको थियो ।

उता, विराटनगरमा निर्माण हुने मल्टिमोडल लजिष्टिक पार्क परियोजनाको डीपीआर पनि मंगलबार नै बोर्डमा पेश भएको हो । सीजी लजिष्टिक प्रा.लि. र सारफ ग्रुपले उक्त डीपीआर तयार गरेको थियो । बोर्डले यो परियोजनाको डीपीआरका लागि २०७६ असारको लगानी सम्मेलनका क्रममा ती कम्पनीसँग सम्झौता गरेको थियो । 

झापाको दमकस्थित नेपाल–चीन मैत्रीपूर्ण पार्कको डीपीआर निर्माण गर्न चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी टेक्नोलोजी डेभलपमेन्ट जोन र नेपाली कम्पनी दमक क्लिन इन्डष्ट्रियल पार्कले जिम्मेवारी पाएकोमा नेपाली कम्पनीले बोर्डमा सोमबार यस आयोजनाको डीपीआर पेश गरेको हो । सो परियोजनाको निर्माणको लागि २०७६ साउनमै ५८.६१ करोड अमेरिकी डलरको लगानी स्वीकृत भइसकेको छ । डीपीआर स्वीकृत हुनेबित्तिकै यसको निर्माण कार्य अघि बढ्नेछ ।

होङ्सीको विद्युत् आपूर्तिबारे छलफल

बोर्डले मंगलबार होङ्सी शिवम् सिमेन्ट परियोजनाका लागि विद्युत् आपूर्तिमा देखिएको समस्याबारे सहजीकरण गरेको जनाएको छ । बोर्डले नेपाल विद्युत् प्राधिकरण र होङ्सी शिवम् सिमेन्टका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो । उक्त छलफलमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जेठ महिनासम्ममा सो उद्योगको लागि विद्युत् आपूर्तिको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप