सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बीबीसी मास्टर सेफ प्रतियोगितामा टप ४ मा पुगे सन्तोष

बुधबार, ०१ पुस २०७७, ०८ : ५०
बुधबार, ०१ पुस २०७७

लण्डन । विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै टप ४ भित्र पर्न सफल भएका छन् । 
नेपाली मुलका सन्तोष विगत एक दशदेखि बेलायतमा बस्दै आएका छन् । मंगलबार राति ‘बीबीसी वान’ मा प्रसारित फाइनल राउण्डको पहिलो चरणबाट अघि बढ्दै उनी टप ४ मा पुगेका हुन् । छ जनाबीच प्रतिस्पर्धा भएको उक्त  प्रतियोगितामा दुई जना बाहिरिएसँगै सन्तोषसहित चार जना फाइनल राउन्डको लागि छानिएका हुन् । 

‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल यही आउँदो बिहीबार बेलुका प्रसारण हुँदैछ । फाइनल राउण्ड अगाडि बुधबार साँझ  बेलुका हुने अर्को चरणको प्रतिस्पर्धाबाट तीन जना फाइनालिस्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिनेछन् ।

मंगलबार भएको ‘इन्भेन्सन् राउण्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खीरका साथमा आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमौरा’ प्रस्तुत गरेका थिए । त्यस्तै, निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेका थिए ।

नेपाली खानालाई विश्वसामू पुर्याउने  लक्ष्य लिएर अघि बढेका सन्तोषले यस अघि विभिन्न नेपाली परिकारहरु टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र  टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर  बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन्  । सन्तोष आफ्नो मिहिनेत, परिश्रम र लगनशीलताका कारण भारतको पाँचतारे होटलदेखि लन्डनको मिसेलिन स्टार सेफद्वारा संचालित रेष्टुरेन्टसम्म पुग्न सफल भएका छन् ।

इण्डियन कुइजिनबाट वर्षौंदेखि सँगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउने उनले बताए । नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेर उनी अघि बढेका छन् । ‘मिसिलिन स्टार’ भनेको विश्वका गुणस्तरीय र राम्रो खानेकुराको उत्कृष्ट सेवा पुर्याउने रेष्टुरेन्टलाई दिइने विशेष सम्मान तथा पहिचान हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप