आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

बिहीबार, ०२ पुस २०७७, ०५ : ५७
बिहीबार, ०२ पुस २०७७

लन्डन । विश्वभरमा कोरोना संक्रमणका मृतक संख्याको आधारमा छैठौँ स्थानमा रहदै आएको  बेलायतमा बुधबार साँझसम्ममा  मृतक संख्या ६५ हजार नाघेको छ । 

पछिल्लो २४ घन्टामा थप ६१२ जना कोरोना संक्रमितको मृत्यु भएसंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ हजार ५२० पुगेको ‘ डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । अघिल्लो दिन मंगलबार २४ घन्टामा ५०६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यसैगरी कोरोना संक्रमितको संख्या पनि विगतका दिनहरुको तुलनाम निकै वृद्धि भएको छ । अघिल्लो दिन मंगलबार २४ घन्टामा ५०६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।  बुधबार सार्वजनिक तथ्याँक अनुसार गएको २४ घन्टामा २५ हजार १६१ जना नयाँ संक्रमित थपिएका छन् । 

यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या १९ लाख १३ हजार २७७ पुगेको छ । अघिल्लो दिनको तुलनामा संक्रमित संख्या झन्डै सात हजारले बढी छ । मृतक संख्या  र संक्रमित संख्या बढेसंगै हस्पिटल भर्ना हुनेको संख्या पनि विगतका दिनमा भन्दा बढेको छ । पछिल्लो २४ घन्टामा मात्र एक हजार ७७० जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । 

जसमध्ये एक हजार ३२६ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । बेलायतका हस्पिटलमा १८ हजार भन्दा बढीको उपचार भैरहेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा संक्रमण दर तीव्र रुपमा वृद्धि भएको भन्दै बुधबारबाट लन्डन क्षेत्रमा थप कडा प्रतिबन्ध लागू गरिएको छ । कोरोना संक्रमणका आधारमा यसअघि टियर २ अर्थात् उच्च अलर्ट तहमा रहेको लण्डनलाई अब टियर ३ अर्थात  अति उच्च अलर्टमा लैजाने निर्णय गरिएसंगै प्रतिवन्धहरु पनि थप कडा हुने भएका हुन् । 

टियर ३ मा पर्ने  क्षेत्रभित्र एक परिवारले अर्को परिवारसंग इन्डोर जमघटमा पूर्ण प्रतिवन्ध रहनेछ । पार्क,बीच जस्ता स्थानहरुमा ‘ग्रुप अफ सिक्स’ को नियमअन्तर्गत ६ जनासम्म भेट गर्न पाइनेछ ।  पसल, जीम र हेयर ड्रेसिंगसहित पर्सनल केयर सर्भिसहरु खोल्न पाइनेछ । पब, बार, क्याफे तथा रेष्टुरेन्टहरुमा टेकअवेबाहेक सबै बन्द रहनेछन् । टियर ३ का क्षेत्रबाट अरु क्षेत्रहरुको यात्रा पनि नगर्न आव्हान गरिएको छ । 

यसैगरी बेलायतमा गत हप्ताबाट शुरु भएको कोरोना विरुद्धको भ्याक्सिन वितरण कार्य पनि तीव्र रुपमा अघि बढेको छ । बेलायतमा एकसाताभित्र एक लाख ७० हजार भन्दा बढी मानिसले कोरोना विरुद्धको भ्याक्सिन लगाएको सरकारले बताएको छ । 

फाइजर र बायोएनटेक नामक दुई कम्पनीले बनाएको कोभिड खोपलाई आम प्रयोगको लागि बेलायतले सबैभन्दा पहिले अनुमति प्रदान गरेको थियो । पहिलो हप्तामा ७० भन्दा बढी हस्पिटलहरुमा खोप वितरण कार्यक्रम संचालन गरिएको थियो । आगामी दिनमा थप १० वटा हस्पिटलमा खोप सेवा संचालन गरिने अधिकारीले बताएका छन् । 

हाल बेलायतमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोप वितरण गरिंदै आएको छ । सरकारले दिएको जानकारी अनुसार एकहप्ताभित्र इंग्ल्याण्डमा एक लाख ८ हजार, वेल्समा सात ८९७, नर्दर्न आएरल्याण्डमा चार हजार र स्कटल्याण्डमा १८ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् ।  खोप वितरण शुरु भएसंगै  बेलायतवासी नेपालीहरुले पनि कोरोनाविरुद्धको खोप लिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप