बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सीमित व्यक्तिमा परीक्षण गर्दैमा कोरोना संक्रमण दर घट्दैन !

शरीरमा एन्टिबडी विकास भएका तर, स्वास्थ्य अवस्था जटिल भएका बिरामी भेटिए
बिहीबार, ०२ पुस २०७७, ०९ : ३५
बिहीबार, ०२ पुस २०७७

काठमाडौं— पछिल्लो समय नेपालमा कोरोनाभाइरस कोभिड—१९ को संक्रमण दर घट्दै गएको देखिन्छ । सरकारी तथ्यांकअनुसार कुनै समय संक्रमितको संख्या दैनिक ५७ सयभन्दा बढी पुगेको थियो भने अहिले घटेर ८ सयमा झरेको छ । वर्तमान अवस्थामा समुदायस्तरमा कुन गतिमा संक्रमण फैलिरहेको छ ? संक्रमणको दर किन कम भयो ? पिसिआर गर्नेको संख्या किन कम भयो ? नेपालमा हाल सक्रिय संक्रमित कति छन् जस्ता प्रश्नको जवाफ नेपाल सरकारसँग छैन । लक्षण देखिएर स्वास्थ्यमा जटिल समस्या आएपछि अस्पताल, प्रयोगशाला पुग्नेको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको छ । सरकारले समुदायस्तरमा -यापिड एन्टिबडी परीक्षण गरेर संक्रमणको यथार्थ अवस्था पत्ता लगाउन सकेको छैन ।

संक्रमतिको संख्या दुई लाख नाघ्दासमेत सरकारले समुदायस्तरमा एन्टिबडी परीक्षण गरेर संक्रमण दरको यथार्थ पत्ता लगाउन सकेको छैन । बेलैमा स्वास्थ्य मन्त्रालयले समुदायमा फैलिएको कोरोना संक्रमणको दर र संख्याबारे प्रष्ट धारणा बनाउन सकेको भए यतिन्जेलसम्म जोखिम धेरै कम भइसकेको हुने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा सिरो प्रिभिलेन्स गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइसकेको छ तर त्यो अझै सार्वजनिक भएको छैन । सिरो प्रिभिलेन्स गर्दा आएको रिपोर्टको आधारमा सकारात्मक तथा नकारात्मक पक्ष र सुधार गर्नुपर्ने पक्ष, आधारभूत भावी योजना बनाउन सहयोग गर्छ । तर, लामो समयदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिरो प्रिभिलेन्सबाट आएको नतिजा अध्ययन भइरहेको बताउँदै आएको छ ।

अब सिरो प्रिभिलेन्सको रिपोर्ट सार्वजनिक गर्दा समुदायमा   फरक खालको अवस्था सिर्जना भइसकेको पनि हुन सक्छ । यस्तै, महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एन्टिजेनमार्फत समुदायस्तरमा कति कोरोना फैलिएको छ भनेर थालेको अनुसन्धान १५ सय नमुनामात्रै संकलन गरेर दुई दिनमै रोकियो । काठमाडौं उपत्यकाको ४० लाख जनसंख्यामध्ये विभिन्न स्थानका ४० हजार जनाको नमुना संकलन गरेर अध्ययन गरेपश्चात मात्रै संक्रमणको वास्ताविक अवस्था थाहा पाउन सकिने जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित बताउँछन् ।

राज्यले संक्रमणको वर्तमान अवस्थाबारे सत्यतामा आधारित भएर जानकारी दिनुपर्ने उनको भनाइ छ । राज्यले कोरोना संक्रमणको चक्र रोक्नका लागि परीक्षणलाई प्राथमिकता दिनुपर्छ । सबै जनालाई पिसिआर परीक्षण सम्भव नहुने भएकाले -यापिड एन्टिजेन परीक्षणमा जोड दिनुपर्ने वैज्ञानिक डा. दीक्षितको सुझाव छ । संक्रमण दर किन घटेको हो भन्नलाई ठोस आधार नभएकोले यसै हो भन्न गाह्रो भएको उनी बताउँछन् ।

धेरै जनसंख्या भएको काठमाडौं उपत्यकामा पनि संक्रमितको  संख्या घट्दो क्रममा छ । यो कसरी सम्भव भयो भन्ने प्रश्नको जवाफ राज्यले खोज्न नसकेको उनको भनाइ छ ।

सरकारले -यापिड एन्टिजिनमार्फत टोलटोलमा सर्वेक्षणमार्फत संक्रमणको अवस्था पत्ता लगाएर जनतालाई सत्यतथ्य सूचना दिनु जरुरी भएको उनी बताउँछन् ।

कोरोना संक्रमण दरको अवस्थाबारे प्रस्तुत छ, डा. दीक्षितका सुझाव :

समुदायमा भएका सक्रिय केस बेलैमा पत्ता लगाए संक्रमण घट्छ

समुदायस्तरमा कोरोना परीक्षण गरेपछि मात्रै संक्रमण दर घट्यो वा बढ्यो भनेर थाहा पाउन सकिन्छ । राज्यले अहिलेसम्म -यापिड एन्टिजिन परीक्षण वा एक्टिभ सर्वे गरेर समयसमयमा जानकारी दिनुपर्ने हो तर, दिन सकेको छैन ।

पिसिआर परीक्षणको संख्याको आधारमा संक्रमण घटेको कुरा गरिरहेका छौं तर, किन घट्यो भनेर बोल्न गाह्रो छ । संक्रमित परीक्षण गर्न नआएर घटेको वा साँच्चै संक्रमण दर घटेको भनेर थाहा पाउनका लागि गाउँगाउँमा पुगेर -यापिड एन्टिबडी परीक्षण गर्नुपर्छ । त्यसपछि संक्रमण दर कम देखिएमा मात्रै संक्रमण दर घटेको भन्न सकिन्छ । त्यो नभएको अवस्थामा हाल संक्रमण किन घट्यो वा बढ्यो भनेर भन्ने आधारहरु नै छैन ।

टोलटोलमा -यापिड एन्टिजिन परीक्षण गरेपछि त्यो क्षेत्रमा संक्रमणको ताजा अवस्था पत्ता लगाउन सकिन्छ । तर, मन्त्रालयले परीक्षण नगरिकनै संक्रमितको संख्या घट्दै गएको बताउँदै आएको छ । कोरोना संक्रमित भएर स्वास्थ्यमा जटिल समस्या आएपछि अस्पतालमा भर्ना हुने बिरामीहरुको चाप छ । त्यस्तै, घरमा मात्रै सीमित हुने ६० वर्ष काटेका धेरै व्यक्तिको संक्रमणकै कारण निधन हुने क्रम रोकिएको छैन । यस आधारमा भन्दा पिसिआर गर्नेको संख्या कम हुँदा संक्रमितको संख्या कम देखिएको हो । संक्रमण समुदायस्तरमा पुगेको छ । त्यसले सरकारले वर्तमान समयमा परीक्षणलाई व्यापक बनाउनु जरुरी छ ।

संक्रमणको चक्र रोक्नका लागि संक्रमित खोजेर व्यवस्थापन गर्नु नै मुख्य कुरा हो । -यापिड एन्टिजिन परीक्षण गर्दा शरीरमा रहेको भाइरस अरुलाई सार्न सक्ने उच्च क्षमता भएमा अर्थात्, शरीरमा भाइरलको लोड बढी भएका व्यक्तिलाई पोजेटिभ देखाउँछ ।

शरीरमा भाइरल लोड कम भएमा वा संक्रमण गराउने क्षमता कम भएमा यसले पिसिआरले जस्तो समात्न सक्दैन । -यापिड एन्टिजिनले जसलाई पोजेटिभ रिपोर्ट देखाउँछ, उसले अन्यलाई सार्ने सम्भावना उच्च हुन्छ । कतिपय अवस्था कोरोना संक्रमण निको भइसकेकाहरुलाई समेत पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखाउने गर्छ ।

गुणस्तरीय -यापिड एन्टिजिनले पिसिआर सरह संक्रमितको पहिचान गर्छ भने कम गुणस्तर भएको एन्टिजिनले ५ देखि १० प्रतिशत कम पहिचान गर्छ । समुदायमा पुगेर कोरोना सार्न सक्ने मानिसलाई पहिचान गर्न सकेमा दीर्घरोगी, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अस्पताल जानबाट र मृत्युको मुखबाट जोगाउन सकिन्छ । उपत्यका लगायत अन्य ठाउँमा कुन गति र कुन दरमा कोरोना फैलिएको छ भन्ने कुरा राज्यले सर्वेक्षण गरेर पत्ता लगाउन सकेन भने विकराल अवस्था पनि सिर्जना हुन सक्छ । किनभने चिसो मौसम भएकाले मौसमी फ्लुको लक्षण भनेर घरमै बस्ने प्रवृत्ति बढेको छ । यसरी परीक्षण नगरीकन घरमा बस्दा कोरोना संक्रमण भएको खण्डमा दीर्घरोगी ज्येष्ठ नागरिकहरुलाई जटिल समस्या देखिन सक्छ । त्यसैले समुदायमा वर्तमान अवस्था कति संक्रमित छन्, संक्रमितमध्ये पनि कतिले अन्य व्यक्तिलाई सार्छन्  वा सार्दैनन् भन्ने बारेमा राज्यले जनतालाई जानकारी दिन अतिआवश्यक हुन्छ । ठुलो संख्या संक्रमित भएको अवस्थामा सरकारले समुदायस्तरमा पुगेर वर्तमान अवस्थाबारे जानकारी दिन एन्टिजिन परीक्षण र एन्टिबडी परीक्षण गरेर भावी कार्यदिशा, बनाउने, सुधार र उपलब्ध जस्ता कुरालाई मध्यनजर गरेर अगाडि बढेमा नेपालमा जटिल बिरामी कम हुन्छ भने मृत्यु हुनेको संख्या पनि घट्छ ।

शरीरमा एन्टिबडी विकास भएका तर, स्वास्थ्य अवस्था जटिल भएका बिरामी भेटिए

पछिल्लो समय रुघाखोकी, ज्वरो, स्वासप्रश्वाससँगै अन्य समस्या भएर अस्पताल पुग्ने व्यक्तिमा कोरोना परीक्षण गर्दा पुष्टि नहुने तर शरीरमा एन्टिबडी विकास भएका बिरामीहरु देखिन थालेका छन् । सरकारले सुरुवाती समयमा कोरोना परीक्षणको नाममा पिसिआर परीक्षण गर्नुपर्नेमा आरडिटी परीक्षण गरेको थियो ।

विगतमा गरिएको आरडिटी परीक्षण वर्तमान समयमा गर्न उपयुक्त हुन्छ । कुनै समुदायमा कति कोरोना संक्रमित भएर निको भए भन्ने कुरा यस परीक्षणबाट थाहा पाउन सकिन्छ । यसबाट कुनै सहर वा स्थान विशेषमा संक्रमणको अवस्था कस्तो थियो, कति संक्रमित भएर निको भए भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

नेपालमा कोरोना महामारी फैलिएको एक वर्ष हुन लागिसकेको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगरिकन सहरी क्षेत्रमा पैदल हिँड्ने, सवारीमा यात्रा गर्ने, सभा–सम्मेलन, प्रदर्शन गर्नेको कमी छैन । नेपाल सरकारले अस्पताल, प्रयोगशालामा आउनेको संख्यालाई गन्दै भन्दै गरिरहेको छ । अस्पताल र प्रयोगशालामा परीक्षण गर्नेको संख्यासँगै समुदायमा पुगेर -यापिड एन्टिजिनमार्फत परीक्षण गरेमा एक्टिभ केस यति छ भन्न सकिन्छ । यस टेष्टलाई महिनाको ३ पटकसम्म पनि गर्न सकिन्छ । पिसिआर परीक्षणको तुलनामा धेरै सस्तो पनि छ । सामान्य तथा एन्टिजिन सातामा एक पटक गर्नुपर्छ भनिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप