सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना भ्याक्सिन किन्न सरकारका यस्ता छन् ५ मापदण्ड

कहिले ल्याउनेमा भने अझै अनिश्चित
बिहीबार, ०२ पुस २०७७, ०९ : ५४
बिहीबार, ०२ पुस २०७७

सरकारले कोरोना सङ्क्रमणविरुद्ध प्रयोग हुने भ्याक्सिन किनेर ल्याउने तयारी थालेको छ । यसअघि विश्वका विभिन्न देशका कम्पनीले तयार पारेका भ्याक्सिन परीक्षणका लागि दिनेबारे छलफल भए पनि अब परीक्षणका लागि अनुमति दिनेभन्दा पनि भ्याक्सिन किनेरै ल्याउनेमा लागेको हो । यसका लागि सरकारले दु्रत गतिमा तयारी गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रातोपाटीलाई जानकारी दिए । तर भ्याक्सिन बजारमा नआएकाले कहाँ किन्ने, कुन कम्पनीको किन्ने भन्नेमा भने निश्चित नभएको उनले बताए । तर आवश्यक प्रक्रियाको थालनी भएको र त्यसका लागि सरकारले ५ मापदण्ड तयार पारेको उनले बताए ।

यता स्वास्थ्य अनुसन्धान परिषदले पनि विश्व बजारमा जहिले राम्रो प्रभावकारी भ्याक्सिन आउँछ त्यसपछि लिने बताएको छ । अमेरिकामा तयार भएको फाइजर कम्पनीले बनाएको भ्याक्सिन राम्रो भए पनि ढुवानी खर्च नै धेरै लाग्ने भनेर भारतले ल्याउन सक्दिनँ भनेको परिषदका प्रमुख डा. प्रदीप ज्ञवालीले रातोपाटीलाई बताए । सो भ्याक्सिन परीक्षण गर्न सकिने भने पनि अमेरिकाले नै त्यसलाई स्वीकृति नदिएको उनले बताए ।

यस्तै चिनियाँ कम्पनीले साङ्ग्रिलाले बनाएको भ्याक्सिन पनि तेस्रो चरणमा परीक्षण भइरहेको छ । यस्तै बेलायतको सहयोगमा भारतले बनाएको भ्याक्सिन पनि पहिलो चरणमा रहेको र त्यसबारेमा सम्पूर्ण जानकारी सार्वजनिक नभएको डा. ज्ञवालीले बताए । यस्तै रुस, अस्ट्रेलिया लगायतका देशका १३ वटा कम्पनीले तयार पारेको भ्याक्सिन तेस्रो चरणमा रहेको छ । तर अहिलेसम्म यी कम्पनीले उत्पादन गरेको भ्याक्सिनका लागि विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेर प्रयोगका लागि स्वीकृति दिएको छैन ।

हालसम्म बेलायती कम्पनीले निकालेको भ्याक्सिनको मात्रा तथ्याङ्क सार्वजनिक भएको छ । यस्तै अमेरिकाको फाइजर र मोर्डना कम्पनीले निकालेको भ्याक्सिनको प्रभावकारिताबारे तथ्याङ्क प्रकाशन भएको उनले बताए ।

यस्तै रसियाको कम्पनीले भ्याक्सिन निकालिसकेको र अब प्रयोगमा जाने भने पनि त्यसको नतिजा सार्वजनिक नभएको डा. ज्ञवालीले बताए । नेपालमा पनि भ्याक्सिन खरिदका लागि प्रस्तावना पत्र भने तयार पारेर राखिएको उनले बताए । स्वास्थ्य अनुसन्धान परिषदको सिफारिसका आधारमा सरकारले काम गर्ने भएकाले अहिलेसम्म कुन भ्याक्सिन ठीक हुनेबारे परिषदले सिफारिस नगरेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । 

यता परिषद्का प्रमुख डा. ज्ञवालीले स्वास्थ्य अनुसन्धान परिषद पनि मन्त्रालयको भ्याक्सिन ल्याउनका लागि सुझाव दिने विज्ञ कमिटीमा रहेको उल्लेख गर्दै भ्याक्सिन लगाएपछि कस्तो प्रभावकारिता छ भन्ने बारेमा हेरेर सरकारलाई सुझाव दिने बताए ।

सबैभन्दा पहिला चिनियाँ कम्पनीले बनाएको भ्याक्सिन प्रयोग गर्ने र त्यसका लागि सरकारले स्वास्थ्य अनुसन्धान परिषदको प्रस्ताव मागेको उनले बताए ।

उनले भने– ‘भ्याक्सिन परीक्षणका लागि सरकारले हामीसँग प्रस्ताव मागेको छ । कुन भ्याक्सिन कहिलेसम्म चल्छ, थाहा छैन, वैज्ञानिक क्षमता विस्तार गर्नका लागि पनि हामीले परीक्षणको रूपमा भ्याक्सिन प्रयोग गर्नुपर्छ भनेका छौँ । हामीले एउटा प्रस्ताव लगेर स्वास्थ्य मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा लगेर पास गर्नुपर्ने हुन्छ ।’

विश्व बजारमा भ्याक्सिन सहज रूपमा पाइने भएपछि र नेपाल सरकारले तयार पारेको ५ वटा मापदण्ड पूरा भएपछि भ्याक्सिन खरिद गर्ने मन्त्रालयका प्रवक्ता डा. गौतम बताउँछन् । नेपालमा कोरोना विरुद्धको भ्याक्सिन ल्याउनेबारे सरकारले गरेको तयारीबारेमा प्रवक्ता डा. जागेश्वर गौतमसँग गरिएको कुराकानी यस्तो छ :

सरकारले कोरोना भ्याक्सिन ट्रायल गर्ने सन्दर्भमा के गरिरहेको छ ?

भ्याक्सिन नै तयार भइसक्यो अब के ट्रायल गरिरहने र ?

विश्वमा १३ वटा कम्पनीको भ्याक्सिन तेस्रो चरणमा प्रयोग भइरहेको छ ? कुन कम्पनीको खरिद गर्ने, केही कुरा भएको छ ?

कुन कम्पनीको प्रयोग गर्ने भन्ने छैन । ५ वटा मापदण्ड बनाएका छौँ । जुन देशमा भ्याक्सिन उत्पादन भएको छ त्यो देशमा लगाएको हुुुनुप¥यो । त्यहाँको नियमनकारी संस्थाले स्वीकृति दिएको हुनुप¥यो । सस्तो हुनुप¥यो । हामीलाई चाहिनेजति डोज दिनुप¥यो । हाम्रो यहाँ भएको चिस्यानको जुन प्रविधि छ त्यो प्रविधिसँग मिल्ने हुनुप¥यो । यति मापदण्ड पूरा भएको भ्याक्सिन ल्याउने हो ।

यसबारेमा भ्याक्सिन उत्पादक कम्पनीहरुसँग कुराकानी भएको छ कि छैन ?

कुराकानी धेरै भएको छ । फाइनल हुन लागेको छ ।

स्वास्थ्य अनुसन्धान परिषदले सुरुमा चीनमा बनेको भ्याक्सिन प्रयोग गर्ने भन्ने कुरा गरेको छ ? यसबारेमा सरकारले तयारी गरेको हो ?

यसबारेमा स्वास्थ्य अनुसन्धान परिषदलाई प्रस्ताव लिएर आउनुस् भनेका छौँ । उहाँहरुले ल्याउनु भएको छैन । सायद अब ढिला हुन लागेको भएर नल्याउनु भएको हो कि । किनभने अब त भ्याक्सिन नै आइसक्यो परीक्षणको चरणबाट अघि बढिसक्यो नि । जसले दोस्रो तह पार ग¥यो, तेस्रो चरणमा उसले परीक्षण गर्ने हो । अहिले तेस्रो चरण पूरा गरेर कति भ्याक्सिन बजारमै आइसकेको छ । कतिपय देशमा लगाउन थालिसके । बेलायत, रसियामा लगाइरहेका छन् । परीक्षण नै गर्न नमिल्ने त हैन मिल्छ । तर अब परीक्षण गर्नेभन्दा पनि तयार भएको भ्याक्सिन ल्याउने कुरा नै प्राथमिकतामा पर्छ ।

खरिद गरेर ल्याउनका लागि कुनै पनि भ्याक्सिनलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता त दिएको छैन नि ?

मान्यता दिइहाल्छ नि, त्यो त प्रक्रियाको कुरा हो । साधारणतया भ्याक्सिनलाई मान्यता दिन आठ दस वर्ष लाग्छ । कोभिड आएकै एक वर्ष हुँदैछ । आवश्यक पर्दाखेरी कतिपय कुरा छिटोछरितो रूपमा पनि गर्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मान्यता दिन्छ । उनीहरुले पनि हेरिरहेका होलान् । भ्याक्सिन लगाएपछि त्यसको प्रभावकारिता कस्तो छ । त्यसको साइड इफेक्ट कस्तो छ, सुरक्षाको विषय कस्तो छ, उत्पादन अभ्यासको कुरा हुन्छ । ती कुरा हेरेर मान्यता दिन्छ । अब कसलाई मान्यता दिन्छ भन्ने त उनीहरुको कुरा भयो । प्रमाणका आधारमा विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिने हो त्यसै दिँदैन ।

त्यसो हो भने नेपाल सरकारले परीक्षणका लागि मात्र किन्छ कि वा यही नै लगाउने हो भन्ने निर्णय गरेर किन्छ ?

परीक्षणका लागि भनेर मात्र किन्दैन । संसारमा कुनै पनि देशमा किनेर परीक्षण गर्दैनन् । किनेर लगाउने हो । परीक्षण गर्ने त कम्पनीले हेर्नका लागि हो । सरकारले कुन भ्याक्सिन किन्ने कसरी किन्ने भन्ने तयारी गरिरहेको छ । दु्रत गतिमा काम भइरहेको छ ।

नेपालमा भ्याक्सिन आउनका लागि कति समय लाग्न सक्छ ?

ठ्याक्कै त भन्न सकिँदैन, विश्व बजारमा सर्वसुलभ छैन । बेलायतमा आपतकालीन अवस्था लगाएर भ्याक्सिन प्रयोग गरेको हो । पहिला त बजारमा भ्याक्सिन निस्कनुप¥यो । बिक्रीका लागि भ्याक्सिन निस्कनुप¥यो । त्यसपछि आउने कुरा भन्न सकिन्छ ।

१३ कम्पनीको भ्याक्सिन तेस्रो चरणमा, विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिएको छैन

यतिबेला विश्वका विभिन्न देशहरुले परीक्षणका लागि कोरोनाको भ्याक्सिन तयार पारिरहेका छन् । विभिन्न देशका १३ वटा कम्पनीले तयार पारेको भ्याक्सिन तेस्रो चरणमा रहेको छ । यी भ्याक्सिन हजारौँ सङ्ख्याका व्यक्तिमा परीक्षण गर्नुपर्ने हुन्छ । भ्याक्सिन कति प्रभावकारी छ, कति सुरक्षित छ त्यसको आधारमा तथ्याङ्क निकालिन्छ । भ्याक्सिन लगाउँदा प्रभावकारी देखियो भने ठूलो सङ्ख्याका व्यक्तिमा परीक्षण गरिन्छ । अहिले यसबारे अनुसन्धान  चलिरहेको स्वाथ्य अनुसन्धान परिषदका प्रमुख डा. प्रदीप ज्ञवालीले बताउँछन् ।

उनले भने– ‘पहिले भ्याक्सिन उत्पादनको परीक्षण चलिरहेको थियो भने अहिले उत्पादन भएको भ्याक्सिनको प्रभावकारिताबारे अनुसन्धान चलिरहेको छ । पहिले इच्छुकहरुको सहभागीमा परीक्षण गरिए पनि अहिले भने विभिन्न देशले खरिद गरेर परीक्षण गर्ने प्रक्रियामा छ । अहिले भ्याक्सिन प्रयोगको चौथो चरण सुरु भएको छ ।’

अहिलेसम्म विश्व स्वास्थ्य सङ्गठनले कोरोना विरुद्धको कुनै पनि भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छैन । अहिलेसम्म कुनै पनि भ्याक्सिन ठीक छ भनेर वैज्ञानिक रूपमा प्रमाणित भने नभएको डा. ज्ञवालीले बताए । नेपाल सरकारले पनि कुनै पनि भ्याक्सिन ठीक छ भन्ने तथ्याङ्क प्रकाशन भएपछि मात्र खरिद गर्ने सोचमा रहेको उनले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषदको कुरा सुन्दा नेपालमा कोरोना भ्याक्सिन ल्याउनका लागि तयारी गरिरहेको बताए पनि तत्काल भ्याक्सिन आउने सम्भावना भने न्यून देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप