आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीबीसी मास्टर सेफमा उप बिजेता बनेका सन्तोष शाहले भने, ‘नेपाली खानालाई विश्वसामू चिनाउनु नै ठूलो विजय हो ’

शुक्रबार, ०३ पुस २०७७, ०६ : ४०
शुक्रबार, ०३ पुस २०७७

लण्डन । विगत केहि हप्तादेखि चल्दै आएको विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ बिहिबारबाट समाप्त भएको छ ।

प्रतियोगितामा भाग लिँदै आएका नेपाली मूलका सेफ सन्तोष शाह उपविजेता बनेका छन् । बिहिबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा तीनजना सेफहरुबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त ग्रान्ड फिनालेको प्रतियोगितामा उनले नेपाली ढाकाटोपी लगाएर सहभागिता जनाएका थिए । प्रतियोगितामा दुईजना प्रतिस्पर्धीहरुलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ उपाधि हात पारेका छन् । 

३२ जना चर्चित सेफहरुबाट सुरु भएको उक्त प्रतियोगितामा नेपाली सेफ सन्तोष शाहले विभिन्न मौलिक नेपाली परिकारहरु विश्वमाझ चिनाउन सफल भएका छन् । नेपाली खाना लिएर विश्व प्रतिष्ठित टिभी रियालिटी शो मा जाने सन्तोष एकमात्र नेपाली हुन् ।

आफू विजेता नभएपनि विश्वसामू नेपाली खाना पुर्याएर विदेशी एवम् नेपालीको मन जित्न सफल हुनु नै सबैभन्दा ठूलो सफलता भएको सन्तोषले बताए । 

कार्यक्रमको सुरुमा सेफ सन्तोषसँग सम्बन्धित भिडियो क्लिप पनि देखाइएको थिई । जुन क्लिपमा सन्तोषको जन्मथलो सिरहालाई समेत समेटिएको थियो । साथै उनले नेपाली झण्डा समेत फहराएका छन् ।

बिहिबारको प्रतिस्पर्धामा सन्तोषले भैंसीको मासु, खोले साग, भेडाको गिदीलगायतका नेपाली परिकारलाई चरेसको थालमा पस्किएका थिए । यसका साथै नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए । 

नेपाली खानालाई निकै आकर्षक ढंगले प्रस्तुत गरेका सन्तोषले यस अघिका विभिन्न चरणमा उत्कृष्ट प्रदर्शनी गर्दै आएका थिए ।

बुधबारको एपिसोडमा आफूले सबैभन्दा बढी माया गर्ने व्यक्तिको लागि खाना बनाउनुपर्ने राउन्डमा आफ्नी आमाको सम्झनास्वरूप पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा र गंगटाको ‘करी’ अन्जिर र अदुवा भरेको चिप्ले भिन्डी, आँप र नरिवलको चटनी, आलु, मेथी र अनारको सलाद बनाएर टप ३ मा पर्न सफल भएका  थिए ।

सन्तोषले यस अघि विभिन्न नेपाली परिकारहरु टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, भेडाको पोलेको  मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार, पोलेको माछा, आलुको अचार, करेला र  टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर  बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन्  । इण्डियन कुइजिनबाट वर्षौंदेखि सँगालेको अनुभवका आधारमा नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेको सन्तोषले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप