आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिनी उद्योगीविरुद्ध काठमाडौंमा प्रहरीको ‘सर्च अपरेशन’

‘किसानमारा’ ५ जना चिनी उद्योगीविरुद्ध पक्राउ पुर्जी : हालसम्म पक्राउ परेका छैनन्
शुक्रबार, ०३ पुस २०७७, १० : ४७
शुक्रबार, ०३ पुस २०७७

 

 

काठमाडौं । काठमाडौंको थापाथली स्थित ट्रेड टावरमा श्रीराम सुगर मिल्सको अफिस छ । सो मिल्स चाहिँ रौतहटको गरुडामा छ । बुधवार मध्यान्ह सादा पोशाकका प्रहरीले ट्रेड टावरमा घेरा हाले ।

प्रहरीले सुराक पाएको थियो– ‘मिल्स संचालक विशाल अग्रवाल सो कार्यालयमा छन् ।’ तर, प्रहरी अप्रेशन असफल भयो, उनी त्यहाँ भेटिएनन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका चारजना मन्त्रीले मंगलबार चिनी उद्योगी पक्रने निर्णय गरेपछि प्रहरीले काठमाडौंमा ‘सर्च अपरेशन’ चलाएको छ । तर, तीन दिनदेखि एकजना पनि चिनी उद्योगी पक्राउ गर्न सकेको छैन ।

बुधवार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह आफ्नो टोली लिएर शंखमुल पुगे । त्यहाँ एउटा घरमा प्रहरीले सर्च गरेको थियो । चिनी उद्योगी लुकेको आशंकामा छापा मारेपनि त्यहाँ उद्योगी फेला नपरेपछि एसएसपी सिंह रित्तो हात फर्किए ।

चिनी मिल्स संचालकले करोडौं बक्यौता रकम नतिरेपछि उखु किसानहरु काठमाडौंमा भेला भएका छन् । उनीहरुले माईतिघरमा दैनिक प्रदर्शन जारी राखेका छन् भने त्यसले सरकारमाथि चर्को दवाब सिर्जना भएको छ । ‘कम्युनिष्ट’ सरकारको पालामा किसानहरु पीडित बन्नुपरेको घटनाले सरकारविरुद्ध जनमानस तथा बौद्धिक वर्गहरुले समेत आलोचना गर्न थालेपछि बल्ल सरकारले उद्योगीलाई कस्न शुरु गरेको छ ।  ‘किसानमारा’ चिनी उद्योगीहरुलाई पक्रने निर्णय सरकारले गरिसकेको छ ।

‘चिनी उद्योगी खोजिरहेका छौं’ प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीसँग भने–‘अहिले सम्म फेला पार्न सकेका छैंनौं, नियन्त्रणमा लिने प्रयास जारी छ ।’

प्रहरीको धरपकड शुरु गरेपछि श्रीराम सुगर मिल्सका संचालकले ३५ करोड रुपैयाँ जम्मा गरेका छन् । सो रकम जिल्ला प्रशासन कार्यालयको रोहबरमा शुक्रवारबाट किशानलाई वितरण गरिँदै छ ।

प्रहरीले सर्च अपरेशनमा खोजी गरेका केही चिनी उद्योगीहरु

५ जना विरुद्ध पक्राउ पुर्जी

उखु किसानले चिनी उद्योगी विरुद्ध प्रहरीमा जाहेरी दिएका छन्  । किशानको उजुरीका आधारमा अदालतले पाँच जनालाई पक्राउ गर्न अनुमति दिएको छ ।

विशाल अग्रवालसहित ३ जना विरुद्ध जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति जारी गरिएको छ । श्रीराम सुगर मिल्सका दुई जना संचालक र कार्यकारी निर्देशक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

 ‘ठगी मुद्दा’मा श्रीराम सुगर मिल्सका संचालक विशाल अग्रवाल, हितेश गोल्छा र कार्यकारी निर्देशक पदमकान्त झा विरुद्ध पक्राउ अनुमति आएको रौतहटका एसपी सिद्धीविक्रम शाहले रातोपाटीलाई बताए ।

इन्दिरा सुगर मिलका संचालक राकेश अग्रवालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । राकेशको नाममा पक्राउ अनुमति आएको पश्चिम नवलपरासीका एसपी अजय केसीले रातोपाटीलाई बताए । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा छ ।

राकेशको नाममा सर्लाहीबाट पनि पक्राउ पुर्जी जारी गरिएको छ । उनको स्वामित्वको अर्को चिनी मिल अन्नपुर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा छ ।

लुम्बीनी सुगर मिलकी संचालिका सुशिला गोयललाई पक्राउ गर्न अनुमति प्राप्त भएको एसपी केसीले बताए । गोयल विरुद्ध सुनवलका चारजना उखु किशानले जाहेरी दिएका छन् ।

पश्चिम नवलपरासीमा रहेको लुम्बीनी सुगर मिलले किसानलाई ८ करोड हाराहारी बक्यौता रकम तिर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप