आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफगान सुरक्षा कारबाहीमा ७४ विद्रोहीको मृत्यु

आइतबार, ०५ पुस २०७७, २२ : ४२
आइतबार, ०५ पुस २०७७

एजेन्सी । अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

अमेरिकी प्रतिनिधिले तालीवानी समूहसँग अफगानिस्तानको शान्तिका लागि गरेको सम्झौतापछि केही मत्थर बनेको द्वन्द्व सरकार र विद्रोहीले आफ्नो प्रभाब देखाउन गरेका आक्रमण र प्रत्याक्रमका कारण थप सक्रिय देखिँदा सम्झौताबाट आशावादी बनेको विश्व समुदाय चिन्तित बनेको छ ।

रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको छ, “कान्दाहारको झेरिया, दाँद, पञ्ज्वाव र अर्गान्दाब जिल्लाहरूमा विगत २४ घण्टामा गरिएका कार्बाहीमा ७४ तालीवान लडाकूको मृत्यु भएको छ ।”  सरकारी सेनाको नियन्त्रणमा रहेको भूभागमा विद्रोहीले आक्रमणको तयारी थालेको आरोप लगाउँदै सेनाले सुरु गरेको कार्बाहीका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कार्बाहीका क्रममा विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हतियार तथा बन्दोबस्तीका सामान नियन्त्रणमा लिएको सरकारी अधिकारीले दावी गरेका छन् । कान्दाहारमा हालैका दिनमा भीषण झडप भएका र यसका कारण अघिल्लो साता मात्र ८२ व्यक्तिको मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप