सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डिजिटल बन्यो नक्साल तरकारी बजार, तरकारी किन्दा अब नगद नचाहिने

सीएसआरको ५० प्रतिशत खर्च डिजिटल पेमेन्टमा गर्न प्रस्ताव
शुक्रबार, १० पुस २०७७, १६ : ११
शुक्रबार, १० पुस २०७७

काठमाडौं । दैनिक उपभोग्य वस्तुको खरिदका लागि डिजिटल भुक्तानीको प्रचलन बढ्न नसकिरहेको अवस्थामा नक्साल तरकारी बजारमा क्युआर कोडमार्फत् डिजिटल भुक्तानी सुरु भएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजार समितिको समन्वयमा तरकारी बजारमा यस्तो भुक्तानीको सुरुवात गरिएको हो । 

शुक्रबार तरकारी बजारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युआर कोडमार्फत् भुक्तानी गरी यसको औपचारिक उद्घाटन गरेका हुन् । 

तरकारी बजारलाई डिजिटल बनाउन सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल तरकारी बजारका बिक्रेतालाई क्युआर कोडमार्फत् डिजिटल भुक्तानीको तालिम दिएको थियो । सो बजारमा भायनेट इन्टरनेटले निःशुल्क रुपमा इन्टरनेटको सुविधा उपलब्ध गराएको छ । क्युआर कोडमार्फत् भुक्तानीका लागि सानिमा बैंकले फोन–पेसँग सहकार्य गरेको छ । 

कार्यक्रमको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित भुक्तानी नगदसँग मात्रै नजोडिएर सबैको व्यवहारसँग जोडिएको भन्दै यस्तो कार्यक्रमलाई देशव्यापी अभियानको रुपमा विस्तार गर्नुपर्ने बताए । 

‘हाम्रो लक्ष्य क्यासलेस हो । तत्कालै त्यहाँ पुग्न नसकिएला तर लेसक्यास सम्भव छ । नक्साल तरकारी बजारजस्तै कालीमाटी, बल्खु लगायत उपत्यका र देशभरका बजारमा यो प्रविधि पुर्याउन अभियानकै रुपमा यसलाई लैजानुपर्ने आवश्यकता छ,’ अधिकारीले भने । उनले अहिले डिजिटल पेमेन्टको संख्या वार्षिक ३० प्रतिशतको दरमा बढ्दै गएको भन्दै क्युआर पेमेन्ट डिजिटल भुक्तानीमध्येकै उत्कृष्ट विधि भएको समेत बताए ।

'५० प्रतिशत डिजिटल पेमेन्टमा खर्च गरौं'

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले डिजिटल भुक्तानीको बहुआयामिक फाइदा रहेको भन्दै बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्वको ५० प्रतिशत खर्च डिजिटल पेकेन्टमा गर्नुपर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिए । 

‘सीएसआरको ५० प्रतिशत रकम पुलिङ गरेर डिजिटल पेमेन्टमा खर्च गरौं’ दाहालले भने । दाहालले क्लिक बैंकिङको लागत निकै नै कम हुने भएकोले यसले पारदर्शिता कायम गर्न समेत सहयोग गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप